coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जज सा’ब

मोहनदास

उत्तरी दिल्लीको रोहिणी इलाकामा तेह्र वर्ष बसेपछि, आफ्नो घर छाडेर वैशालीस्थित जज कोलनीमा आइपुगेको पनि नौ वर्ष बितेछन् । यो वैशालीको ‘पाश’ इलाका मानिन्छ । उत्तर प्रदेश सरकारले न्यायाधीशहरुका लागि यहाँ जग्गा उपलब्ध गराएको थियो । यस्तै एउटा प्लटमा बनेको घरमा म बस्ने गर्छु ।

जुन सडकमा यो अपार्टमेन्ट बनेको छ, त्यसको नाम ‘न्यायमार्ग’ हो । हुन त यो सडकमा ठाउँठाउँमा खाल्डा छन्, हरेक तीन कदममा सडक उबडखाबड छ र कयौँ ठाउँमा त ‘वन वे’जस्तै भएको छ किनभने घर बनाउने निर्माण व्यवसायीहरुले सडकमाथि नै बालुवा, इँटा, रोडा–गिट्टी, पाइप र अन्य नजाने के के थुपारेर तिनको मेला लगाइदिएका छन् । परिणाम, हरेक दिन यहाँ ‘वन वे’का कारण दुर्घटना भइरहन्छ र त्यसबापत कसैलाई कार्बाही हुँदैन । बिल्डर्स र ठेकेदारसँग ‘माथिसम्म’ पहुँच र पैसा जो छ !

यसै कोलोनीमा बस्ने एक जना अवकाशप्राप्त न्यायाधीशका नाति यही ‘वन वे’मा डम्पर दुर्घटनामा परे, तीन महिना अस्पताल बसेपछि तिनको मृत्यु भयो ।
बिल्डिङ भने अझै पनि बनिरहेका छन् । डम्पर र ट्रक अझै पनि चलिरहेका छन् । वैशालीको ‘न्यायमार्ग’ अझै पनि खाल्डाखुल्डी–दुर्घटनायुक्त ‘वन वे’ नै बनिरहेको छ ।

भिआइपी जज कोलोनी निकै तीव्र गतिले ‘डेभलप’ भइरहेको कोलोनी हो । नौ वर्ष पहिले म यहाँ आउँदा दुई किलोमिटर पुग्दासम्म जम्मा दुई वटा सपिङ मल थिए । अहिले त एक्काइस वटा ठूलाठूला बहुतल्ले सपिङ मल, दुई वटा इन्टरनेसनल फाइभस्टार होटल र नजाने के–के नामका कार कम्पनीका जगमगाउँदा सो रुम मात्र छैनन्, हल्दीराम, म्याकडोनाल्ड्स, डोमिनोज पिज्जा, केन्टुकी फ्राइड चिकन, बिकानेरजस्ता सैकडौँ खानपिन गर्ने थलो बनिसकेका छन् । रेस्टुराँ र बार त मानौँ कदम–कदममा छन् ।
६० वर्षे जीवनकालमा यसअघि मैले यति खानेपिउने युग देखेको थिइनँ !

नौ वर्ष पहिले म यहाँ आउँदा, जंगल र खेत देखिन्थे । तोरी र गहुँ–बासमतीका खेत हुन्थे । त्यो बेला तोरीका पहेँला फूलहरुको रङ र बासमती धानको सुगन्धले भरिएको इलाकाका रुपमा यो चिनिन्थ्यो । यहाँका कुनाकाप्चामा बस्नेहरुले त्यो बेला रुवा धुन्ने धुनकरको आवाज, गोबरका गुइँठा बनाइरहेका महिला, फलामे कराई, चिम्टा, खुर्पा बनाउने लोहार र तिनको कोइलाको आगो धुन्धुनाउँदै गरेको अनि बिहान–बिहान शिकारमा निस्कने मानिसको जत्था, खुला ठाउँमा शौच गर्ने गरिब महिला चरैतिर देख्ने गर्थे ।

सबेरै घरको बार्दलीमा निस्कन मलाई यही कारणले अप्ठेरो लाग्थ्यो कि कुनबेला टाढासम्म फैलिएको खाली मैदानमा स्त्री र पुरुष, सुँगुरका साथ नित्यक्रिया देख्नुपर्ने हो ! नजिकैको नहरको किनारै–किनार पलाएको झाडी छेउको सुनसान ठाउँमा ‘इन्काउन्टर’ हुन्थ्यो । त्यो ग्राउन्डमा ‘अपराधी’हरुलाई रातबिरात प्रहरीले पक्रेर ल्याउँथ्यो र यहीँ गोली हान्थ्यो । भोलिपल्ट बिहान अखबारमा डाकु या आतंकवादीहरुका साथमा प्रहरीको साहसिक मुठभेडको खबर छापिएको हुन्थ्यो ।
नौ वर्षमा सबैथोक बद्लिइसक्यो ।

यस कोलोनीमा धेरैजसो न्यायाधीश नै बस्ने गर्छन् । केही रिटायर्ड र केही अझै पनि बेग्लाबेग्लै अदालतमा न्याय दिने आफ्नो जागिर गरिरहेका छन् ।

छेउमै सुन्दरजस्तै लाग्ने एउटा पार्क छ । बिहान कहिलेकाहीँ त्यहाँ घुम्न जाँदा कयौँ न्यायाधीशसँग भेट हुन्छ । तीमध्ये जो बूढा भइसकेका छन्, उनीहरु उत्ति टाढा जान सक्तैनन्, बसिरहेका हुन्छन् या बिस्तारै छडीको सहारामा हिँडिरहेका हुन्छन् । एकादुईसँग तिनका सहायक पनि हुन्छन्, जो तिनलाई लड्नबाट जोगाउनका लागि या अचानक मुटुको व्यथा बढ्दा या श्वास रोकिँदा तुरुन्त अस्पताल पुर्‍याउने उद्देश्यका साथ सँगै हिँडिरहेका हुन्छन् । कतिपय न्यायाधीश आफ्नो ‘कोठी’मा एक्लै बस्छन् ।

केही पत्नीका साथ पनि हुन्छन्, कोही चाहिँ एक्लो, साह्रै एक्लो ! तिनका सन्तान हुर्किएर अन्य शहर वा देश गइसकेका छन्, जो वर्ष–दुई वर्षमा कहिलेकाहीँ केही दिनको छुट्टिमा आगरा, सिमला, नैनिताल, दार्जिलिङ घुम्नका लागि आउँछन् । एक बूढो न्यायाधीश भन्थे, ‘मेरी अमेरिकी बुहारी र छोरोलाई इन्डियन चराप्रति यत्ति मोह किन हो ? दुई–चार वर्षमा दुई चार दिन मसँग बसेर राजस्थानका बर्ड संक्चुअरी हेर्न निस्कन्छन् ।’ साउतीको चालमा उनी थप्छन्, ‘हैन, ती चरामा के छ हँ ? मैले आफ्नो जिन्दगी, जागिर, न्याय र अदालतबाट दिक्क मानिसकेँ, उनीहरुलाई हेर्नुस्– चराहरुबाट दिक्क छैनन् !’ यसपछि एउटा लामो उदास सास लिन्छन् र भन्छन्, ‘मलाई राम्रोसँग थाहा छ, मेरो छोरो र उसको परिवार मलाई हैन, इन्डियाका चरा र पुराना भवन हेर्न आएका हुन् ।’

यी बूढा न्यायाधीशलाई यसरी हिँडेको देख्दा लाग्छ– मानौँ उनको पूरा शरीर अतीतका असंख्य स्मृतिहरुको वजनले लच्किएको छ र यो उनको वृद्धावस्था होइन, स्मृतिहरुको भार हो । जसलाई उनको शरीरले सम्हाल्न सकिरहेको छैन र पनि जसोतसो बोकिरहेका छन् । अक्सर उनी ज्यादै थाकेर पार्कमा बनेको कुनै बेञ्चमा बसेको मैले देख्ने गरेको छु । बस्दा पनि उनको माथा कुनै बोझले थिचेझैँ तलतिर झुकिरहेको हुन्छ ।

पक्कै गहन भारी बोकिरहेका होलान्, उनको ज्यादै पुरानो निधारको गहिरो रेखा देख्दा त्यस्तै लाग्छ । उनीभित्रको ‘हार्डडिस्क’ शायद भरिइसकेको हुँदो हो ! कतै उनी पछिल्ला दिनमा गरिएको कुनै निर्णयका बारेमा यो बेला पुनः सोचिरहेका त छैनन् ! पछुतोले भरिएका त छैनन् !

कयौँ पटक उनका वृद्ध आँखाबाट निस्केका आँशुका केही थोपा रेखा बनाउँदै उनको अनुहारलाई भिजाइदिने गर्छ । त्यो बेला गोजीमा राखिएको कुनै बहुत पुरानो मटमैलो रुमाल निकालेर निधारभरिका वृद्ध रेखायुक्त आफ्नो अनुहार र चश्मा बिस्तारैबिस्तारै पुछ्ने गर्छन् ।

तर जो न्यायाधीश यत्ति जर्जर र वृद्ध भएका छैनन्, उनीहरु पार्कमा जगिङ सुट र स्पोर्ट्स सुका साथ फुर्तीका साथ टहल्छन् । उनीहरु कुनै न कुनै हतारोमा हुन्छन् । उनीहरुलाई सायद कुनै फैसला सुनाउनुछ । कुनै न कुनै मामिला उनीहरुको अदालतमा विचाराधीन हुन्छ र त्यसको गुत्थीहरु आफू टहल्दाका बखत बेचैन रफ्तारमा सुल्झाइरहेका हुन्छन् ।

यी सबै न्यायाधीशसँग सुनाउन अनेकौँ किस्सा छन्, सैकडौँ–हजारौँ, अनन्त । साँचो र झूटोमा उल्झिएका यस्ता मामिलामा उनीहरुले दिएका फैसलाबारे अझै पनि असमञ्जसमा छन् ती । ती सारा किस्साका बारेमा बेग्लाबेग्लै सुनाउन थालेँ भने घच्चीको उपन्यास बन्ला र त्यो पढेपछि साँचो, झूटो, न्याय, अन्याय सबैबाट तपाईंको विश्वास उठ्नेछ ।

मेरो त पहिल्यै उठिसकेको छ, त्यसैले दरगाह, जंगल, बालबालिका र मन्दिरहरुमा बढी समय बिताउँछु । मलाई न्यायाधीशहरु असहाय र न्यायालय एक खास किसिमको रोजगारी र तलब दिने कुनै बहुतै पुरानो मल या स्मारकजस्तो लाग्ने गर्छ ।

तपाईंलाई जज सा’बको किस्सा सुनाइरहेको थिएँ, जसको हाम्रो जज कोलोनीमा अपार्टमेन्ट भने थिएन । उनी कहीँ टाढा, अर्कै सेक्टरमा बस्थे तर नौ वर्ष पहिले जब म यहाँ आएको थिएँ, त्यसबेलादेखि नै निरन्तर भेटघाट भइरहेको छ । उनको वास्तविक र औपचारिक नाम जे भए पनि सबैले उनलाई ‘जज सा’ब’ नै भन्ने गर्छन् ।
उनीसँग मेरो भेट सधैँजसो सुनील यादवको पानको दोकानमा हुन्थ्यो । पान र खैनी, यी दुई यस्ता चिज थिए, जसको लतले हामीलाई एकअर्कासँग जोड्थ्यो ।

यसका अतिरिक्त अर्को लत थियो । (त्यसका बारेमा म कथाको अन्त्यमा बताउनेछु... र यो कथा, जसको ‘डिस्क्लेमर’ म यहीँ बताइदिन जरुरी ठान्छु कि यसको सम्बन्ध कुनै वास्तविक व्यक्ति, स्थान या समयसँग छैन । यदि त्यस्तो पाइयो भने पनि फगत संयोग हुनेछ र त्यसमा कुनै मुद्दा–जाहेरी परे तिनै ‘जज सा’ब’को अदालतमा चल्नेछ, जहाँ उहाँ त्यो बेला नियुक्त हुनुहुनेछ ।)

त, अब अस्सली किस्सामा आउँ । यो ज्यादै छोटो र केही सेन्सेस्नलजस्तो छ ।
हरेक बिहान ठीक नौ बजे, ती जज सा’ब सुनीलको पानको दोकानमा भेटिन्थे । सधैँ ताजगीले भरिएको र मुस्कुराहटका साथ ! उहाँको उमेर त्यस्तै ५० पार भएको हुनुपर्छ तर चस्मा लगाउनुहुन्नथ्यो ।
‘नमस्कार, कस्तो हुनुहुन्छ सरजी ?’ उनको पहिलो वाक्य यही हुन्थ्यो ।
‘म ठीक छु, जज सा’ब । तपाईंलाई कस्तो छ नि ?’ मेरो पहिलो जवाफ सधैँ यही हुन्थ्यो ।
‘म उस्तै छु राइटरजी, जस्तो हिजो थिएँ,’ यो पनि उनको हरेक पटकको उत्तर हुने गथ्र्याे ।

‘हामी सबै हिजोकै झैँ उस्तै त छौँ !’ मैले यस्तो जवाफ दिएपछि जज सा’ब होइन, सुनीलको दोकानमा उभिएका सारा मानिस हाँस्न थाल्थे । यो पनि हरेक पटकको उत्तर थियो र सबैले हाँस्नु भनेको हरेक पटक नै हुन्थ्यो ।
यो सत्य हो, चारैतिर सबै कुरा तीव्र गतिका साथ परिवर्तन भइरहेको थियो तर हामी सबै हिजो या अस्ति या त्योभन्दा पहिलेका दिनझैँ उस्तै नै थियो । लगभग ज्यूँका त्यूँ ।

पानको दोकानमा हामी सबै हरेक दिन एकमुष्ठ भेला हुनुको कारण पनि सुनील हरेक दिन हिजोको जस्तै नै हुन्थ्यो । उसकी पत्नीलाई क्रोनिक दमको रोग थियो र एलोपेथी, आयुर्वेददेखि लिएर जादू–टुना र जडिबुटीसम्मको सहारा उसले लिइरहेको थियो । उसका पाँच सन्तान थिए, दुई छोरी र तीन छोरा । तीमध्ये तीन जना स्कुल जान्थे । हरेक दिन सुनील स्कुललाई गाली गथ्र्यो, जो किताब–कापीका अतिरिक्त जुत्ता, मोज्जा, ब्याग–पहिरन कुनै खास किसिमको र खास ब्रान्ड या क्वालिटीको हुनुपर्ने माग गथ्र्यो ।

यदि उसले आफ्ना सन्तानलाई यी सबै चाँडोचाँडो कुनै एक खास मितिसम्म किनेर दिन सकेन भने कतै शिक्षिकाले उनीहरुलाई कक्षाबाटै निकाला नगरुन् भन्ने डरले केटाकेटी स्कुल जाँदैनथे । सुनीलले त्यो स्कुल बसलाई पनि गाली गथ्र्यो, जसले हरेक दुई या तीन महिनामै भाडा बढाइरहन्थ्यो । उसले सरकार र पेट्रोल कम्पनीलाई पनि गाली गर्न छाड्दैनथ्यो जसका कारणले पेट्रोलको दाम बढ्थ्यो र उसको पुरानो मोटर साइकलको खर्च बढ्न पुग्थ्यो ।

उसले आफ्नो सन्तान र पत्नीलाई पनि गाली दिनबाट चुक्दैनथ्यो, जसका कारण ऊ दिनरात खट्न बाध्य थियो र कहिल्यै लगाउने ढंगको कपडा र पिउनका लागि रक्सीको पाउच किन्न पाएन । उसले पुलिस र नगरपालिकालाई पनि गाली गर्न छाड्दैनथ्यो, जसले हप्ता वसुलीपछि पनि उसको पानको सानो टोक्रो पसललाई पनि महिना–दुई महिनामा हटाइदिन्थे र अदालतमा गएर जरिवाना तिर्नुपथ्र्यो ।

यत्तिका दुःखका बाबजुद उसले साठी वर्षे उसको रोगी बाबुको उपचारका लागि सत्तरी हजार खर्च गर्‍यो, दिनरात सेवा गर्‍यो । यतिबेला वृद्ध बाबु पुनः हिँडडुल गर्न सक्ने भएका छन् । बाउ चङ्गा भए पनि अरुलाई झैँ बाबुलाई पनि गाली गर्ने गथ्र्यो किनभने सारा सम्पत्ति बेचेर उसको भागमा रत्ति सम्पत्ति दिएनन् र सारा कुरा निकम्मा गँजेडी भाइको नाममा नामसारी गरिदिएका थिए ।

सुनील यादव पानवालाको ‘गाली शब्दकोश’मा यति धेरै शब्द थिए कि मलाई अचम्म लाग्थ्यो । अफशोच के हुन्थ्यो भने यस्तो भाषामा कुनै साहित्य रच्न सकिँदैनथ्यो । हाम्रो शब्दकोश र शब्दसागरहरुमा सुनील पानवालाका भाषाका शब्द नै थिएनन् ।

उसको गाली सुनेर हामी सबै हाँस्थ्यौँ किनभने हामी सबै आफ्ना गालीहरुलाई हाँसोभित्र कलाका साथ लुकाउँथ्यौँ ।
जज सा’ब त झन् बढी हाँस्थे । कयौँ पटक उनको मुखमा पानले भरिएको हुन्थ्यो र जब सुनील गाली गर्न थाल्थ्यो र सबै हाँस्न थाल्थे, जज सा’ब पनि मज्जैले ठहाका लगाउँथे । यस्तो अवस्थामा उनको पानका पिक कपडामा झर्थे । यो देखेर उनी पनि मुखमा आएका सबै गाली बक्थे । यसपछि सुनीलसँग चुना मागेर पानको दागमाथि रगड्थे । यसो गर्दा दाग हट्थ्यो पनि ।

यस्तै कुनै दिन थियो । उनी आफ्नो सेतो सर्टमाथि लागेको पानको पिकको दागमा चुना रगडिरहेका थिए । त्यो बेला पहिलो पटक मलाई अचानक लाग्यो, दस महिनायता हरेक दिन, हरेक बिहानी उनी सधैँ यही एउटा सुट लगाएर आउँथे । सायद उनीसँग अन्य अर्को सुट या कोट–पेन्ट थिएन होला ।

बिहान उनी यसरी नै तयार भएर आउँथे, मानौँ कुनै अदालतमा जान लागेका होऊन् र केही क्षणमै कुनै चार्टर्ड बस आउनेछ र त्यसैमा उनी जानेछन् ।

तर जज सा’ब सधैँ पैदल नै फर्कन्थे । सुनीलले भन्यो, अहिले उनी प्रतीक्षा गरिरहेका छन् । पछिल्लो पटक जज हुँदा उनको म्याद थपिएको थिएन । जुन मन्त्रीको सिफारिसले उनी अदालतमा जज बनेका थिए, बलात्कार मुद्दामा त्यो मन्त्री जेल गइसकेको छ र अहिलेसम्म कुनै नयाँ सम्बन्ध बनाउन सकेका छैनन्, जसले उनलाई पुनःस्थापन गर्न सकोस् ।

त्यही दिनपछि मलाई उनीसँग सहानुभूति हुन थालेको थियो र कयौँ पटक छेउकै ढाबामा उनलाई चिया पियाउन थालेको थिएँ ।

एक दिन साँझ तीन बजे सुनीलको दोकानमा ज्यादै चिन्ताजनक अवस्थामा उनी फेला परे । उनको छोरो घरबाट भागेछ । दुई दिनदेखि फेला परिरहेको छैन । प्रहरी चौकीमा रिपोर्ट त लेखाएका थिए तर यस्तो लागिरहेको छ– प्रहरी सात वर्षे बालकलाई जिउँदै खोज्नुको साटो कतैकसैबाट लाश फेला परेको खबर प्रतीक्षा गरिरहेको छ । प्रायः यस्तै हुने गरेको पनि छ । हराएका बालबालिका मुस्किलले फेरि भेटिन्थे । प्रायः तिनको लाश नै भेटिन्थ्यो ।
यसपछि हामी जज सा’बको छोरो खोज्न निस्कियौँ । अन्त कहाँ जान सकिन्थ्यो र, वैशाली इलाका, यसका चिने–नचिनेका सडक, गल्ली, कुनातिरका बस्तीसम्म पुगियो ।

जज सा’ब कृतज्ञ थिए र पटक–पटक उनका आँखामा आँशु छलल्किन थालेको थियो । भावुकताका कारण उनी कहिले मेरो हात समात्थे त कहिले काँधमा टाउको अड्याउँथे । छोरो पार्थिवलाई उनले गाली गरेको स्वीकारे । पढ्नुको साटो क्रिकेटको म्याच हेरेकाले उनी ज्यादै रिसाएका थिए । बिहान परीक्षा थियो, एउटा बाउले रिस थामुन् पनि कसरी ? उनले टिभी बन्द गरिदिए, ठीक त्यो बेला जब देल्ही डेयर डेभिल्सलाई राजस्थान रोयल्सबाट जित्नका लागि अन्तिम चार ओभरमा पैंतीस रन बनाउनु पर्ने थियो र सुरेश रैनाले चौकामाथि छक्का हानिरहेका थिए ।
बिहान पार्थिव स्कुलका लागि निस्किएको थियो तर फर्केर आएन । स्कुलले भन्यो, ‘बिहान परीक्षामै तपाईंको छोरो बसेको थिएन ।’

उसो भए ऊ कहाँ गयो त ?
हामी तीन घण्टादेखि उसलाई हरेक गल्ली र कुनामा खोजिरहेका थियौँ । साँझको छ बजिसकेको थियो र डर पनि थियो कि अँध्यारो भयो भने आजको दिन त्यसै व्यर्थ जानेछ । अर्को कुरा चाहिँ, जज सा’ब आफ्नो घरमा छोराका साथ एक्लै बसिरहेका थिए किनभने उनकी पत्नी झाँसीस्थित घर गएकी थिइन् । उनी दुई वटा कारणले मात्र रोकिएका थिए । एक त पार्थिवको पढाइ र परीक्षा र अर्को चाहिँ गएका दस महिनायता हरेक दिन, हरेक बिहानी एउटा आशा थियो– कतै आज उनको काम भइहाल्ला कि ! कुनै अर्को ठाउँमा या लेबर कोर्ट नै सही न्यायाधीश बनिहाल्लान् कि ! हरेक बिहानी अखबारमा राशिफल हेरेपछि उनी बाहिर निस्कन्थे र निस्कँदा मन्त्र जप गर्न भुल्दैनथे ।
शनिदेवको मन्दिरमा तेल र सिक्का चढाउँथे तर हरेक बिहानी हरेक दिनझैँ हुन्थ्यो ।

अब कारबाट झरेर हामी पैदल नै हिँड्न थाल्यौँ र जानेबुझेका सबै ठाउँमा खोजी गर्न थाल्यौँ । निराशाबाहेक केही फेला परेन । अनगिन्ती मानिसहरुलाई पार्थिवको हुलिया, उमेर, नाकनक्सा सोध्दै गर्दा हाम्रा चार आँखा शून्य र हतास थिए ।

ठीक यही बेला अँधेरो हलक्क बढ्नुअघि एउटा डरलाग्दो विचार आयो । नहरको किनारैकिनार उम्रिएका झाडीमा पार्थिवको खोजी । जीवित नभए पनि जीवनपछिको शरीर खोज्ने हो कि !
तर यो कुरा जज साबलाई कसरी भनूँ ? त्यसैले उनलाई नभनी कारलाई नहरतिर लगेँ । यो हाम्रो आजको अन्तिम प्रयास थियो ।

जुन ठाउँलाई वैशालीको हरित क्षेत्र घोषित गरिएको थियो, त्यहाँको सरकारी जग्गामा अनेकन देवीदेउताका मन्दिर अनधिकृत ढंगले उभिएका थिए । त्यो अहिले त ‘मन्दिरमार्ग’ भइसकेको थियो । पहिला प्रहरीको ‘इन्काउन्टर ग्राउन्ड’को ठाउँमा सानो ठाउँ खाली थियो, जहाँ केही फुच्चेहरु क्रिकेट खेलरहेका थिए ।
जज सा’ब अचानक चिच्याए, ‘राइटरजी, ऊ त्यहाँ छ पार्थिव !’

मैले कार रोकेँ । सडक किनारामा गाडी रोकेर दौडदै जज सा’बका साथ लागेँ ।
जज सा’ब सात वर्षे छोरो पार्थिवका अघिल्तिर उभिएका थिए । जज सा’ब पार्थिवलाई तानिरहेका थिए, उनका आँखामा आँशु आइरहेको थियो तर पार्थिव भने उनीसँग छुट्टिन बल गरिरहेको थियो ।
पार्थिवसँग क्रिकेट खेलिरहेका बच्चाहरु चुपचाप जज सा’ब र पार्थिवबीचको तानातान र छुट्ने प्रयासको खेल हेरिरहेका थिए । म पाँच कदम टाढाबाट हेरिरहेको थिएँ । यसबीच अचानक सारा केटाहरु चिच्याउन थाले ।

केटाहरुलाई लाग्यो, पार्थिवको अपहरण प्रयास हुँदैछ । उनीहरु चिच्याएको देखेर जज सा’बले तिनलाई नजिकैको माटोको ठूला डल्लाले हान्न थाले । नौ वर्षको एउटा बच्चो त दौडदै आयो र उसले क्रिकेटको ब्याटले जज साबलाई ड्याङ्गै टाउकामा हानिदियो । यसपछि पनि त्यसले छाडेन । यस पटक भने प्रहार छल्न जज सा’ब केही झुके र ब्याटको चोट पिठ्युँमा थापे ।

चिच्याहट र हल्ला सुनेर वरपरका मानिसहरु भेला हुन थाले । मन्दिरका केही पुजारी र साधु–भिखारी पनि आए ।
पार्थिव चिच्याउन थाल्यो, ‘मलाई यो मान्छेसँग बचाऊ । प्लीज...प्लीज... हेल्प मी !’
सायद कसैले फोन गर्‍यो होला र नै सधैँ ढिला आइपुग्ने पुलिसको पिसिआर भ्यान साइरन बजाउँदै ठीक समयमा आइपुग्यो ।

पार्थिवले बारम्बार भनिरहेको थियो, ‘म यी अंकललाई चिन्दिनँ ।’ यता जज सा’ब रुँदै पटक–पटक भिडलाई भनिरहेका थिए र प्रहरीलाई सम्झाइरहेका थिए, ‘यो पार्थिव हो, मेरो छोरो !’
प्रहरीको साथ लागेर म र जज सा’ब थाना गयौँ र पछि उनले पार्थिवलाई लिएर घर फर्किएँ ।
भोलिपल्ट बिहान सुनील पानवालाको दोकानमा जज सा’ब देखिएनन् र आजसम्म उनी देखिएका छैनन् ।
अब उनी कहिल्यै देखिने छैनन् पनि ।

सोच्छु... यो किस्साको अन्त्य त्यहीँ भएको भए ! यही असमञ्जस ठाउँमा आएर कथा सकिन्थ्यो, भलो हुन्थ्यो ।
तर त्यस्तो भएन । जज सा’बको कथा अझै बाँकी छ । जसका बारेमा पहिले नै डिस्क्लेमर दिइसकेको छु कि यो कुनै ज्युँदो वा मृत व्यक्तिसँग सम्बन्धित छैन । यो पूरै काल्पनिक ठाउँ र पात्रहरुमा आधारित कथा हो । यो पढ्नेलाई क्यान्सरको रोग लाग्दैन ।

संयोग कस्तो भने तीन दिनपछि म विदेश जानु पर्‍यो पूरै तीन महिनाका लागि । फर्केर आउँदा सुनीलको दोकान त्यो ठाउँमा थिएन । उसको पसलको टोड्को महानगरले हटाइदिएको थियो । त्यो ठाउँमा एलपिजी पाइप हाल्नका लागि ठूलो खाडल खनिएको थियो र काँडाको तार टाँगिएको थियो । सडकपारि जुन ठाउँमा एउटा लामो प्लट खाली थियो, जहाँ कोलोनीको फोहोर फ्याँकिन्थ्यो, जहाँ मालिकबिनाका गाई, सडकका कुकुर, सुँगुर र कागको भिड हुने गथ्र्यो, अहिले रातारात ‘शुभ स्वागतम बैंक्वेट हल’को ठूलो ब्यानर टाँगिएको थियो ।
जज सा’बका बारेको मेरो स्मृति केही धमिलो हुन थालेको थियो । यत्तिका दिनसम्म विदेशी भूमिमा विदेशी शहरको यात्रा र बेग्लै किसिमको जिन्दगी बाँचेको थिएँ ।

तीन महिनापछि म विदेशबाट फर्किएँ र विदेशबाट आउनेबित्तिकै पाँच दिनका लागि गाउँ जानु पर्‍यो । एक हप्तापछि सुनील पानवालाको याद आयो । याद आउनुका दुई कारण थिए । एक त उसकी पत्नीको स्वास्थ्य र उसका सन्तानको पढाइ कस्तो छ भन्ने जान्ने उत्सुकता थियो । अर्को चाहिँ बढी महत्वपूर्ण र निर्णायक थियो । त्यो के भने, मैले अरु नै पानवालाकहाँ गएर पान चपाए पनि त्यो स्वाद फेला पार्न सकिनँ जति सुनील यादवको हातले स्वादिलो पान बन्थ्यो ।

पान दिनुअघि सुनीलले दोकानमुनि राखिएको बोतलको पानी पिलाउँथ्यो । ‘पहिला कुल्ला गर्नुस् हजूर, त्यसपछि मात्र पान खानुस् र मात्र स्वादिलो हुन्छ,’ उसले भन्थ्यो अनि धुँवाधार गाली वर्षाउन थाल्थ्यो ।
उसको भाषाले मलाई सम्मोहित तुल्याउँथ्यो र सधैँ सोच्थेँ, ‘मैले लेख्ने साहित्यमा कसरी सुनीलको राष्ट्र–राज्य–नवसंस्कृत भाषाको शब्दकोशमा उसको गाली साहित्य अटाउन सकिएला !’

यो एउटा विकट र गजबको बेचैनी थियो, यसैमा मेरो तीन दशक गुज्रिएको थियो । जसै म यस्तो प्रयास गर्थें, आफ्नो कुनै कथा या कवितामा, सतही वाक्य या त्यसभित्रको तहखानामा लुकेको अर्थहरुमा कुनै गाली प्रयोग गर्थें, ममाथि हमला शुरु हुन्थ्यो । हात परेका काम खोसिन्थ्यो, हल्ला फैलाइन्थ्यो र म पुनः सही समयको प्रतीक्षा गर्न थाल्थेँ ताकि म खुलेर ती गालीलाई आफ्ना रचनामा गज्जबले प्रयोग गर्न सकूँ ।

यही कारणले म पुनः सुनीलको नयाँ डेरा खोज्न निस्केको थिएँ र पत्ता लगाइछाडेँ । यतिबेला ऊ सेक्टर तेह्रमा बस्थ्यो र महानगर तथा पुलिसहरुलाई घुसघास दिएर उसले रेलको पटरीमा यो नयाँ ठाउँ जुगाड गरेको रहेछ ।
मलाई यत्तिका समयपछि देख्दा ऊ बहुतै खुसी भयो । मैले उसको बोतलको पानीले कुल्ला गरेँ, उसले बनाएको पान खाएँ । सुनीलकी पत्नीलाई अझै पनि दमले सताएको थियो । दम ठीक पार्न उसले एलोपेथी, जडीबुटी, फुकफाक, जादु–टुना र तन्त्रमन्त्र सबैको सहारा लिइरहेको थियो ।

उसका सन्तान अहिले पनि स्कुल गइरहेका थिए । ऊ अझै पनि उसैगरी स्कुल, बस, पेट्रोल कम्पनी, सरकार, पुलिस सबैलाई गाली गरिरहेको थियो । यसैबीच कुनै चुनाव भएको थियो, जसमा उसले आफ्नै जातको एउटा उम्मेदवारलाई भोट दिएको थियो तर उसलाई पनि गाली गरिरहेको थियो किनभने जसै ऊ यहाँ राखिएको पसलका लागि ‘लाइसेन्स’ सिफारिस लिनका लागि गएको थियो, त्यो नेताको पिएले २० हजार घुस मागेको थियो । उसले गाली गर्दै कसम खाइरहेको थियो कि अबआइन्दा आफ्नो बिरादरी (जात)को नेतालाई भोट दिँदैन । ‘सबै साला चुनाव जितेर चोट्टा नै बन्दारहेछन्,’ गाली विसर्जन गर्दै उसले भनेको थियो ।
उसको गालीमा हामी सबै आफूभित्रका गाली आफ्ना–आफ्ना कलाले लुकाउँदै हाँस्थ्यौँ ।

कुनै एक बिहान जब हामी हाँस्दैथियौँ, जज सा’बको अचानक सम्झना आयो । सम्झना आउनुको कारण के थियो भने सुनीलका गाली सुनेर जसै हाँसो उठ्थ्यो, उनको सर्टमा पिकको रातो धब्बा चुहिन्थ्यो र चुना रगड्नु पथ्र्यो ।
अनि मलाई त्यस दिन उनको हराएको छोरो पार्थिव र त्यसलाई खोजेर फेला पारिएको घटना पनि याद आयो । मैले सुनीललाई जज सा’बका बारेमा सोधेँ ।

सुनीलले जे भन्यो, त्यो नै यो किस्साको अन्तिम हिस्सा (अंश) हो ।
म विदेश गएपछिको एक बिहान जज सा’ब सुनीलछेउ आफ्नो उही पुरानो सुट पहिरिएर आएका थिए र उनले भनेका थिए, ‘जजको जागिर पुनः बहाल हुने भयो । यसका लागि केही रकम तयार गर्न झाँसी जानुपर्ने भयो ।’
जज निकै खुसी थिए र उनले भनेका थिए, ‘दस–पन्ध्र दिनमा झाँसीबाट पैसा जम्मा गरेर फर्कनेछु ।’
यसका लागि उनले सुनील पानवालासँग छ हजार रुपैयाँ उधारो मागेका थिए ।

सुनीलसँग त्यत्तिका रुपैयाँ थिएन । त्यसैले उनले कतैबाट उठाएर महिनाभरिको ब्याजको शर्तमा ल्याएको थियो र जजको जिम्मा लगाएको थियो ।

जज सा’ब पन्ध्र दिन त के अढाई महिनासम्म फर्किएका थिएनन् । जहाँबाट सुनीलले ऋण काडेर ल्याएको थियो, उसले हरेक दिन ब्याज बढाएर हैरान पारिरहेको थियो । अब सुनीलको गाली अरुसँगै जज सा’बका लागि पनि थपिन थालेको थियो । जज सा’बले सुनीललाई आफ्नो मोबाइल नम्बर र झाँसीको घरको ठेगाना लेखेर दिएका पनि थिए तर जब सुनीलले त्यो नम्बरमा फोन गथ्र्यो, हरबखत फोन स्विच अफ हुन्थ्यो ।

‘साला, जज सा’ब पनि चोट्टा निस्कियो, पानवालालाई नै चूना लगाइदियो,’ सुनीलले यसो भन्दै गर्दा वरिपरिका मानिसहरु मज्जैले हाँस्थे र आफ्नो–आफ्नो कलाले आफ्ना–आफ्ना गालीलाई लुकाउँथे ।
ब्याज जसले दिएको थियो, उसले ब्याजको रकम अझ बढायो । पैसा नआउने पक्का भएपछि प्रहरीमा निवेदन पनि दियो । यसपछि प्रहरीले सुनीलको पसल उठाएर थानामा पुर्‍यायो । जज सा’बलाई नखोजी अब धर ! जज खोज्न ऊ झाँसी निस्कियो ।

झाँसीमा जज सा’बको घर खोज्न सुनीललाई आठ घण्टा लाग्यो । बीचबीचमा त्यहाँका मानिसहरुले जज हो कि होइन, नक्कली हो कि भनेर पनि सुनाए । यो सुनेर सुनील एकाध पटक झाँसीजस्तो अञ्जान शहरमा, जहाँ ऊ पहिलो पटक गएको थियो, रोयो पनि । त्यहाँ पनि उसले एक्लै आँशुसँगै भरपूर गाली पनि गर्‍यो ।
झाँसीमा त वैशालीको जस्तो बैठक थिएन, को हाँस्नु बरा !

अन्ततः सहरभन्दा सात किलोमिटर टाढाको एउटा टोल र त्यो टोलको घर फेला पर्‍यो, जसको नम्बर जज साबले सुनीललाई आफ्नो पुरानो लेटरहेडमा लेखेर दिएका थिए । त्यो लेटरहेड त्यति नै पुरानो थियो, जति उनी जज हुनुमा थियो । त्यसमा तीनमुखे बाघको छाप लगाइएको थियो ।
जजको घरमा ताला लगाइएको थियो, सरकारी तालाले सिलबन्द घर पनि उत्ति नै पुरानो देखिन्थ्यो !
अब सुनीलको होश उड्यो ।

बडो मुस्किलले एक छिमेकीले जे बताए, त्यो ज्यादै मामुलीजस्तो वाक्यको अन्तर्यमा थियो । त्यो भन्दै गर्दा छिमेकीको अनुहार काठजस्तो सपाट बन्न पुगेको थियो, मानौँ ऊ कुनै कठपुतलाको अनुहार हो ।
‘दुई महिना पहिले यहाँ बस्नेले परिवारका साथ सुसाइड गर्‍यो,’ उसले भनेको थियो, ‘प्रहरीले ताला लगाएर गयो । अहिलेसम्म यहाँ कोही चिनजान वा आफन्त आएका छैनन् ।’

सुनील पहिले त स्तब्ध भयो, त्यसपछि रोयो र त्यसपछि खुब गाली गर्‍यो । ती भयानक गाली सुनेर त्यो सपाट अनुहारयुक्त कठपुतलालाई पनि खुबै हाँसो उठ्यो । उसले चाहिँ आफ्नो कुनै हुनर (कला)लाई भित्र लुकाएन ।
यसपछि सुनील गाउँ गयो । उसले आफ्नो बुबालाई भेट्यो । त्यही बुबा, जसको स्पाइनलको उपचारका लागि सत्तरी हजार खर्च गरेको थियो, जसलाई उसले आठ महिनासम्म दिनरात सेवा गरेको थियो । बुबाबाट सुनीलले डेढी ब्याजमा दस हजार ऋण लियो । यसपछि उसले त्यो रकममध्ये सात हजार जजका लागि लिइदिएको ऋण तिर्न खर्च गर्‍यो । दुई हजार प्रहरी र महानगरलाई दिएर आफ्नो सानो पसल पुनः पटरीमा उभ्यायो ।

यो कुरा सुनाइसकेपछि सुनीलले फेरि गाली शुरु गर्‍यो । ती गाली सुनेर म पुनः हाँसेँ र हाम्रो वरपरका सबै मानिस हाँस्न थाले तर यस पटक पानको पिक मेरो सर्टमा झर्‍यो र मैले सुनीलसँग चुना मागेर रगड्न थालेँ ताकि पिकको दाग नदेखियोस् ।

अचानक मैले ख्याल गरेँ, जुन सर्टमा पानको दाग लागेको थियो, त्यो लगभग अठ्ठाइस वर्ष पुरानो थियो ।
तपाईंलाई सम्झना होला, मैले आफ्नो र जज सा’बका दुई वटा लतका बारेमा बताएको थिएँ । जसका कारण हामी एकअर्कासँग जोडिएका थियौँ । एउटा पान र अर्को चाहिँ खैनी । अनि मेरो तेस्रो लतका बारेमा कथाको बिल्कुल अन्त्यमा बताउनेछु पनि भनेको थिएँ ।

त्यो तेस्रो लत थियो, जिन्दगी । जेजस्तो होस्, हरेक हालमा जिउँदै रहने लत !
सुनील, त्यहाँ भेला भएका अन्य व्यक्ति र सारा भिड यही लतको शिकारले ग्रस्त थियो । रमाइलो के भने यो लतका कारण कसैलाई क्यान्सर हुँदैन । खैनी–चुरोट–गुट्काजस्तो जिन्दगी बाँच्ने लत हानिकारक हुँदैन ।

प्रकाशित: ५ माघ २०७६ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App