काठमाडौं–प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसभित्र संविधान संशोधन प्रस्ताव थाँती राखेर निर्वाचनको मिति तोक्नु पर्ने माग उठेको छ। प्रमुख प्रतिपक्ष एमालेले संशोधन प्रस्ताव थाँती राखेर निर्वाचन सम्बन्धी कानुन संसदमा पेश गर्न माग गरिरहेका बेला एमालेलाई नै बल पुग्नेगरी कांग्रेसले निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिन पदाधिकारीले नेतृत्वलाई सुझाव दिएका छन्।
आइतबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा बसेको कांग्रेस पदाधिकारीको बैठकले तत्काललाई संविधान संशोधन प्रस्ताव थाँती राखेर निर्वाचनको मिति घोषणा गर्न अधिकांश पदाधिकारीले सुझाव दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए दिए।
बैठकमा नेताहरुले संविधान संशोधनका नाममा मुलुकमा निर्वाचन नहुने स्थिति पैदा हुन लागेको भन्दै संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा नेताहरुले जोड दिएका थिए। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार अधिकाशं पदाधिकारीले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका थिए। बैठकले औपचारिक निर्णय भने गरेको छैन।
औपचारिक निर्णयकालागि सोमबार पुन बैठक बस्ने नेता पौडेलले जानकारी दिए। बैठकमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, सितादेवी यादवलगायतका नेताको उपस्थिति थियो। प्रतिपक्ष एमालेसहित प्रतिपक्ष दलको निरन्तर अबरोधकाकारण संसद बैठक सुचारु हुन सकेको छैन। एमालेले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ।
प्रकाशित: १० पुस २०७३ ०७:२३ आइतबार