coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बराबरीले मनाङ शीर्षमा पुग्न असफल

हेड क्लवको प्रयास गर्दै थ्री स्टारका लाल रम्माभ्रा (रातो) र मनाङका कोएरा लार्बा ।

काठमाडौ - साबिक विजेता मनाङ मर्स्याङ्दी क्लबले राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित यात्रालाई सातौं खेलसम्म निरन्तरता दिए पनि लिगको शीर्ष स्थानमा फर्कने अवसर भने गुमाएको छ। लिगअन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले थ्री स्टार क्लबसँग २–२ को बराबरी खेलेको हो। जारी लिगमा मनाङको लगातार चौथो बराबरी हो। चौथो चरणमा फ्रेन्ड्स क्लबसँग १–१ को बराबरी खेलेको मनाङ त्यसपछिका खेलमा क्रमश मच्छिन्द्र क्लबसँग २–२ र हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो।

मनाङ यस बराबरीपछि ७ खेलमा १३ अंकका साथ तेस्रो स्थानमा यथावत् छ। एक खेल कम खेलको त्रिभुवन आर्मी क्लब समान १३ अंकका साथ शीर्ष स्थानमा छ भने ७ खेलमा १३ अंक नै जोडेको मच्छिन्द्र क्लब दोस्रो स्थानमा छ। मच्छिन्द्र शुक्रबार हिमालयन शेर्पासँग २–० ले स्तब्ध भएको थियो। त्यसैले मनाङलाई शनिबार थ्री स्टारमाथि जितका साथ शीर्ष स्थानमा फर्कने अवसर थियो। तर टोलीले त्यसको फाइदा भने उठाउन सकेन। थ्री स्टार ७ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ।

खेलको चौंथो मिनेटमा स्ट्राइकर निशान लिम्बुको पासमा विमल रानाले गरेको प्रहार पोस्टमा लागेर फर्किंदा मनाङले अग्रता लिने अवसर गुमाएको थियो। १९औं मिनेटमा स्ट्राइकर लाल रम्माभ्राले फ्रिकिकलाई जाली चुमाएसँगै थ्री स्टारले अग्रता लिएको थियो। ३१औं मिनेटमा अञ्जन विष्टले गरेको फ्रिकिक प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले विफल पार्दा मनाङ पुनः एक पटक निराश बनेको थियो। दोस्रो हाफको सुरुआतमै मनाङ खेलमा फर्कियो। ४९औं मिनेटमा अञ्जनले पेनाल्टी गोलमा मनाङलाई खेलमा फर्काएका थिए। थ्री स्टारका रक्षक अशोक खवासले अञ्जनलाई पेनाल्टी बक्समा लडाएपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो।

डिस्को काण्डमा मुछिएपछि ४५ दिनको प्रतिबन्धमा परेका अञ्जनले सुरुआती ४ खेल गुमाएका थिए। उनी मच्छिन्द्रविरुद्धको खेलबाट मात्र लिगमा फर्किएका हुन्। जारी लिगमा उनको यो पहिलो गोल थियो। म्यान अफ दी म्याचसमेत बनेका अञ्जनले ६९औं मिनेटमा कप्तान कमल श्रेष्ठले प्रहार गरेको फ्रि–किकलाई हेड गोलमार्फत मनाङलाई खेलमा अघि बढाएका थिए। ‘एउटा फुटबल खेलाडीका लागि फुटबल नै सब थोक हो। मैले यसबीचमा फुटबललाई धेरै मिस गरें,’ अञ्जनले भने, ‘तर मलाई यो समयले धेरै चिज सिकाएको छ। जुन आगामी दिनमा काम लाग्नेछ।’

अञ्जनले चिप्लो मैदानका कारण दुवै टोलीका खेलाडीले स्वाभाविक खेल खेल्न नसकेको समेत बताए। खेल सकिन ७ मिनेट बाँकी हुँदा लाल रम्माभ्राले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई हारको संघारबाट जोगाएका थिए। निशान्त खड्काले गरेको क्रसमा अनन्त तमाङले हेड गरेका थिए। मनाङको गोललाइनमा बल क्लियर नहुँदा रम्माभ्राले गोल गरेका थिए।‘थ्री स्टार र मनाङबीच सधैं प्रतिष्ठाको लडाइँ हुन्छ, जुन आजको खेलमा पनि देखियो। यस खेलले केही मात्रामा भए पनि लिगको रौनकता फर्काएको हुनुपर्छ,’ थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘दुवै टोलीका खेलाडीले शतप्रतिशत मिहिनेत गरे तर पाएका केही अवसर गुमाए। मलाई आजको खेलमा टोलीले गरेको प्रदर्शनबाट हामीले किन दुई अंक गुमायौं भन्दा पनि छैटोैं चरणमा फ्रेन्ड्ससँग ३ अंक गुमाएकोमा बढी पीडा छ। सायद मनाङविरुद्ध पहिलो हाफमा गुमाएका गोलका केही अवसर नै हाम्रा लागि महंगा साबित भए। ’

हामीभन्दा माथिका टोली र हाम्रो अंकदूरी धेरै फरक छैन,’ केसीले थपे, ‘त्यसैले अहिले पनि हामी उपाधिहोडमा नै छौं। टोलीमा केही नयाँ खेलाडी भित्रिएका छन्। उनीहरूको आगमनले टोलीमा नयाँ ऊर्जा थपिएको छ। ’ यता मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले भने रक्षापंक्तिले विगतको खेलदेखि नै गरेको गल्ती दोहो-याउँदा अंक गुमाउनुपरेको बताए। विपक्षी टोलीले गर्ने क्रसमा हाम्रो रक्षापंक्तिले सधैं गल्ती गर्दै आएको छ र आज पनि त्यही दोहोरियो,’ धनेश्वरले भने, ‘थ्री स्टारले गरेको दोस्रो गोलमा हाम्रो रक्षापंक्तिले बल क्लियर गर्न सकेन।’ यसअघि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पुलिसले जितको लयमा फर्कने क्रममा जावलाखेल युथ क्लबलाई २–० ले हराएको हो। पुलिस पछिल्लो २ खेलमा जितविहीन थियो। च्यासल युथसँग २–२ को बराबरी खेलेको पुलिस पछिल्लो खेलमा न्युरोट टिम (एनआरटी) सँग १–० ले स्तब्ध भएको थियो।

२७औं मिनेटमा सौजन राईले अञ्जन राईको क्रसमा गरेको हेड गोलमा पुलिसले अग्रता लिएको थियो। ४८औं मिनेटमा कप्तान सुमन सुवेदीले पुलिसको अग्रता दोब्बर पारेका थिए। यस जितपछि ११ अंक जोडेको पुलिस पाँचौ र ९ अंकका साथ जावलाखेल युथ क्लब छैटोैं स्थानमा छन्।

सहिद स्मारक ‘ए’ डिभिजन लिग
आजको खेल (एन्फा कम्प्लेक्स, सातदोबाटो)
एनआरटीविरुद्ध एपिएफ    १२ः०० बजे
फ्रेन्डसविरुद्ध सरस्वती    १५ः०० बजे

प्रकाशित: ५ माघ २०७६ ०१:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App