८ वैशाख २०८१ शनिबार
कला

‘लोक नृत्यमा मौलिकता चाहिन्छ’

अन्तरक्रियामा सहभागी सरोकारवालाहरु । तस्बिर:विनोद/नागरिक

दुलेगौँडा- नेपाली मौलिक लोक नृत्य बिस्तारै लोप हुने अवस्थामा छन्। कठघोरी, कर्मधर्मा, करहवा,  करियाझुमरी, कुर्मी ख्याली, कौराहा, घसकट्टी, चण्डी  जस्ता नृत्य पछिल्ला पुस्ताले सुनेका पनि छैनन्। जानकारहरुका अनुसार नेपालमा १६७ बढी लोकनृत्य रहेको छ। तीमध्ये गण्डकी प्रदेशमा कौराहा, सालैजो, घाटु, झ्याउरे, सोरठी, कुमारी र नचरी नाच प्रचलित भएपनि मौलिकता गुमाउदै गएको देखिन्छ। लोकसंस्कृती लोप हुँदा सांस्कृतिक विचलन आउने भएकाले संरक्षणको आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

शनिबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागद्धारा यहाँ आयोजित ‘नेपाली लोक नृत्यमा देखिएका चुनौती र समाधानका उपायहरु’ विषयक अन्तरक्रियामा सहभागी वक्ताले लोक संस्कृतीको मौलिकपन जोगाईराख्न अध्ययन अनुसन्धानको आवश्यकता औल्याए।

‘नयाँ चेत अनुसार लोक नृत्य परिमार्जित र परिस्कृत हुँदै गएको छ’, गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले भने, ‘लोकसंस्कृतीमा मौलिकपनको खाँचो छ।’ लोक नृत्यको अध्ययन अनुसन्धानको जरुरत रहेको उनी बताउँछन्। लोक संस्कृती कसैले मेरो हो भनेर दाबी गर्न नसक्ने मन्त्री गुरुङले जनाए। गीत संगीत, नृत्य, सहित्यको विकासमा गण्डकी प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान गठन र बहुसांस्कृतिक ग्रामको योजना ल्याएको उनले सुनाए।

गण्डकी प्रदेश सभा सदस्य आशा कोईरालाले लोक नृत्यको अध्ययन अनुसन्धानबाट पहिचान गरी प्रर्बद्धन गर्न सुझाव दिइन्। उनी भन्छिन्, ‘आगामी पुस्तालाई  मौलिक लोक संगीत र नृत्य हस्तानतरण गर्न चुनौती खडा भएको छ। यो विषय पाठ्यक्रममा नै समावेश गरिनुपर्छ।’ समाजमा उत्तेजना फैलाउने नृत्यले व्यापकता पाएकोमा उनको गुनासो छ। पूर्वमन्त्री समेत रहेकी कोईरालाले भेषभुषाले नृत्यमा विशेष महत्व राख्ने उल्लेख गरिन्।

प्रगतीशिल लेखक संघ तनहुँका अध्यक्ष नारायण श्रेष्ठले नेपाली समाज मौलिकतालाई छाडेर पश्चिमा संस्कृतीमा आकर्षित भएको बताए। उनले भने, ‘हाम्रो संस्कृति पञ्चेबाजालाई छाडेर व्याण्ड बाजामा रमाउन थालेका छौँ।’
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सदस्य जुमना शर्माले मौलिक लोक संस्कृती लोप हुँदा सांस्कृतिक विचलन हुने धारणा राखिन्। कार्यक्रममा भानुभक्त बहुमुखी क्याम्पस तनहुँका साहायक प्राध्यापक वेणुप्रसाद खतिवडाले नेपाली ‘लोक नृत्यमा देखिएका चुनौती र समाधानका उपायहरु’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

 

प्रकाशित: ४ माघ २०७६ ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App