coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाँच हजार बलिदानको मात्र जिम्मा लिने छुट प्रचण्डलाई छैन : धनराज गुरुङ

खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता धनराज गुरुङ । तस्बिर : नागरिक

खोटाङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली जनताको रगत बगाएर होली खेल्ने छुट कसैलाई नभएको बताएका छन्। शुक्रबार खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा शहीद हर्कबहादुर राई स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको अन्तर मावि स्तरिय भलिवल प्रतियोगिता उद्घाटन गर्दै कांग्रेस नेता गुरुङले नेकपाका अध्यक्ष प्रचण्डले केही दिनअघि मात्र शसस्त्र द्धन्द्धकाक्रममा ज्यान गुमाएका सत्र हजार नागरिकमध्ये पाँच हजार जनाको मात्र जिम्मेवारी लिने अभिव्यक्ती दिएको भन्दै आपत्ती जनाए। ‘यती हजारको जिम्मा म लिन्छु, उती हजारको जिम्मा तिमीले लिनुपर्छ भन्दै छ। के नेपाली जनतालाई मारेर नेपाली जनताको रगत बगाएर होली खेल्ने छुट कसैलाई छ?,’ कांग्रेस नेता गुरुङले भने, ‘यती हजारको रगतमा म होली खेल्छु, यती हजारको रगतमा तिमी होली खेल्नु भन्ने अधिकार कसैलाई छैन।’

कांग्रेस नेता गुरुङले मुलुकमा जनताको स्वार्थभन्दा व्यक्तिगत स्वार्थका लागि राजनिती हावी भएको उल्लेख गरे। ‘हामीले नेपाली जनता र देशका लागि राजनिती गरेको हौँ। जनता मार्नका लागि गरेका होइनौंँ। राजनिती मुलुकका लागि गरेका हौंँ। नेपाली जनताका लागि राजनिती गरेका हौँ। गरिबभन्दा गरिब नेपालीलाई माथि उठाउनका लागि हामीले राजनिती गरेका हौँ,’ नेता गुरुङले भने, ‘गरिबभन्दा गरिबलाई शोषण गर्नका लागि राजनिती गरेका होईनौं। गरिबभन्दा गरिब जनतालाई करको भारीले थिचेर श्वासै फेर्न नसक्ने अवस्था सिर्जना गर्नका लागि राजनिती गरेका होइनौं।’

कांग्रेस नेता गुरुङले नेपाली भूमीलाई भारतले मिच्दा प्रधानमन्त्रीले चुईँक्क बोल्न नसकेको बताए। ‘हामीले देशका लागि राजनिती गरेका हौं, तर सिंगो देशको सीमा मिचिदै गर्दा लिम्पीयाधुरा र लिपुलेक भारतको नक्सामा गाभिँदै गर्दा पनि चुईँक्क बोल्न नसक्नेलाई हामीले प्रधानमन्त्रीको कुर्सीमा देखिरहेका छौँ,’ नेता गुरुङले भने, ‘गरिबभन्दा गरिब नेपालीको मत लिएर सांसद, मन्त्री र प्रधानमन्त्री बनेका नेताले दसैँमा तिनै गरिब नेपालीले तिरेको राज्यको ढुकुटीबाट दशैँ भत्ता लियो। त्यसका लागि हामी नेपालीले रगत बगाएका होइनौं।’

गुरुङले पछिल्लो समय जताततै भ्रष्टाचार मौलाएको बताए। ‘हिजो यती हजार, लाख घुस खायो भन्ने सुन्दै थियौँ। तर आज वाईडवडीबाट साढे चार अर्ब, सुन काण्ड, बुढीगण्डकीमा अर्बौ रुपैयाँ घुस खाने, कमिसन खाने, हुँदा प्रधानमन्त्री निवास बालुवाटारको जग्गा पनि खाएको सुनिरहेका छौँ,’ नेता गुरुङले भने, ‘के यही देख्नका लागि हो नेपाली जनताको बलिदान! त्यस कारणले जनता सचेत हुन आवश्यक छ। गरिबभन्दा गरिब नेपालीलाई थिचेर मिचेर शासन गर्नेलाई चिन्न आवश्यक छ। नेपाली जनताको रगत र पसिनामा होली खेलेर संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत हुन सक्दैन।’

 

प्रकाशित: ४ माघ २०७६ ०७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App