८ वैशाख २०८१ शनिबार
अन्य

अपूरो तयारी

तस्बिरहरुः उमेश पुन

पोखरा- सन् २०२० लाई सरकारले ‘नेपाल भ्रमण वर्ष’ को रुपमा मनाउने तयारी गरेको छ । भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । पर्यटन बोर्डले भने सन् २०१९ मा १२ लाख मात्र विदेशी पर्यटक भित्रिने अनुमान गरेको छ । २०१९ को संख्यामा आठ लाख हाराहारीमा पर्यटक थपिएको खण्डमा मात्र आगामी वर्षको सरकारी लक्ष्य पूरा हुन्छ । अघिल्लो वर्ष (२०१८) मा नेपालमा ११ लाख ७३ हजार मात्र विदेशी पर्यटक आएका थिए ।

सरकारले लक्ष्य राखे पनि अहिलेकै आधारमा त्यो संख्या (२० लाख) विदेशी पर्यटक भित्र्याउन उत्ति सहज नभएको पर्यटन व्यवसायीको भनाइ छ । हालका पूर्वाधार र तयारीका आधारमा सरकारी लक्ष्य पूरा गर्न फलामका चिउरा चपाएसरह रहेको व्यवसायीले बताएका छन् । किनकि नेपाल भित्रिने विदेशी पर्यटकका लागि पहुँच सहज छैन । पहुँच पुगिहाले पनि नेपालसम्मको हवाई भाडा अन्यत्रका गन्तव्यमा भन्दा महँगो पर्छ । आफ्नै ध्वजावाहक जहाजको पहुँच पनि गतिलो गन्तव्यसम्म विस्तार भइसकेको छैन ।

सन् २०२० मा नेपाल घुम्न किन जाने भनेर अहिलेसम्म सरकारले पाहुनासमक्ष प्रष्टिकरण दिएको छैन । त्यत्ति मात्र नभई २०२० का लागि आकर्षक कार्यक्रम र प्याकेजसमेत अहिलेसम्म सार्वजनिक भएका छैनन् । धेरै कार्यक्रम प्रस्तावित मात्र छन् । प्रस्तावित ती योजनाले मात्र पर्यटक तान्न नसक्ने व्यवसायीको भनाइ छ ।

त्यसबाहेक नेपालभित्रैका गन्तव्यसम्म पनि आउजाउ सहज छैन । भ्रमण वर्षभर प्रवद्र्धनका कार्यक्रम गर्ने भनिए पनि कहिले र कहाँ हुने भन्ने टुंगो छैन । यतिसम्म कि भ्रमण वर्षमा हुने गतिला ‘इभेन्ट’ को अहिलेसम्म क्यालेन्डरसमेत तय भएको छैन । ‘अपूरो तयारीले सरकारी लक्ष्य भेट्न कठिन रहेको व्यवसायीको गुनासो छ । पर्याप्त समय छउञ्जेल सुस्ताउने पुरानो बानीले २०२० आउन केही दिन बाँकी छँदा पनि गतिविधि सार्वजनिक नहुँदा भ्रमण वर्षका लक्ष्य अपूरो पो हुने हो कि भन्ने चिन्ता व्यवसायीमा पलाएको छ ।

पर्यटन व्यवसायीले सरकारले भ्रमण वर्षका लागि पूर्वाधार तयार नपारेको गुनासो गरिरहेका छन् । अब केही दिनपछि भ्रमण वर्षको दिन (२०२० जनवरी १) सुुरु हुने भए पनि त्यसको तयारी कतै देखिन्न । भ्रमण वर्ष शुभारम्भको औपचारिक कार्यक्रम तयारी गरिए पनि वर्षभरि हुने गतिविधिबारे अहिले नै योजना बाहिर नआइसकेको व्यवसायी नै बताउँछन् ।

पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटा भन्छन्, ‘२० लाख विदेशी पर्यटकको सरकारी लक्ष्य पूरा गर्न उत्ति सहज छैन, किनकि अहिलेसम्म गतिलो तयारी केही देखिन्न । अबको तयारीले पनि ढिलाइ हुने निश्चित छ ।’ उनका अनुसार २०२० को नेपाल भ्रमण वर्ष घोषणा गरेको धेरै समय बितिसकेको छ । त्यो हिसाबले पनि २०२० मा गरिने कार्यक्रम र प्रवद्र्धनात्मक गतिविधिबारे पहिल्यै सार्वजनिक गर्नुपर्ने हो । तर, अहिलेसम्म न त सरकारले कार्यक्रम सार्वजनिक गरेको छ, न पर्यटन क्षेत्रले नै ।

पर्यटकीय क्षेत्र पोखराले समेत आफ्नो प्याकेज अहिलेसम्म सार्वजनिक नगर्दा २०२० को प्रतिफलप्रति व्यवसायी नै विश्वस्त हुन नसकेको सापकोटाको भनाइ छ । ‘पोखराले त अहिलेसम्म प्याकेज ल्याउनुपर्ने थियो । अघिल्ला वर्ष (२०१८/२०१९) को भन्दा फरक सहुलियत सहितको प्याकेज सार्वजनिक भइसक्नुपर्ने हो,’ सापकोटाले भने, ‘तर, अहिलेसम्म प्याकेज समेत पोखराले सार्वजनिक गरेको छैन । अघिल्ला वर्ष (२०१८–२०१९) मा भन्दा २०२० मा के फरक भन्ने नै पर्यटन व्यवसायीले अनुभव गर्न सकेका छैनन् ।’

त्यसबाहेक २०२० मा वर्षभरिका गतिविधि पनि सार्वजनिक गर्नुपर्ने थियो । वर्षभरि हुने कार्यक्रमको क्यालेन्डर तय गर्नुपर्ने हो । तर, त्यसको क्यालेन्डरसमेत अहिलेसम्म सार्वजनिक भएको छैन । जो कोही विदेशी पाहुना घुम्न आउँदा ५/६ महिना अघि नै समय र गन्तव्य तय गर्छन् । नेपालमा २०२० मा भ्रमण वर्षका अवसरमा नयाँ गन्तव्य, गतिविधि, छुटका योजना थाहा पाउँदा विदेशीले नेपालसम्मको योजना बनाइसक्थे । तर, अहिलेसम्म अघिल्ला वर्षभन्दा फरक गतिविधि, गन्तव्य, छुटका कुनै पनि योजना नआउँदा पर्यटकहरु नेपालप्रति आकर्षित हुने आधार नै नदेखिएको सापकोटाले बताए ।

‘वार्षिक कार्यक्रमको तय बेलैमा हुनुपर्ने हो । तर, सरकारी बजेटको मुख ताक्नुपर्ने अवस्था छ । अब व्यवसायीले सरकारको मुख ताक्नुभन्दा आफैँ अग्रसर हुनुपर्ने बेला आएको छ,’ उनले भने । वर्षभरिमा हुने गतिविधि र प्याकेज देखाएर पाहुना आमन्त्रण गर्नुपर्नेमा सबै क्षेत्र चुपचाप बसेको जस्तो अनुभव व्यवसायीले गरेको उनले बताए । ‘२०१९ र २०२० मा हुने गतिविधिमा खासै भिन्नता छैनन् । गर्नुपर्ने कामका सबै योजना पछाडिका लागि थाति राखिएको छ,’ उनले भने, ‘सबै काम थाति राख्दा लक्ष्य भेट्न सकिन्न ।’

नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेशका सह–संयोजक अग्निप्रसाद कँडेल वार्षिक कार्यक्रम गर्ने तयारीमा जुटे पनि अहिलेसम्म बाहिर ल्याउनुपर्ने कतिपय गतिविधिमा ढिलाइ भइसकेको बताउँछन् । दुईवर्ष अघि नै घोषित कार्यक्रम भए पनि अन्तिम समयसम्म पनि लम्बेतान प्रक्रियागत रुपमै अलमलिएको उनले बताए । २०२० सुरु हुने बेला हुनै लाग्दा बल्ल सचिवालय राखेर काम गर्ने तयारी भइरहेको उनले बताए । ‘कार्यक्रम र प्याकेज ल्याउन ढिला मात्र होइन, अति नै ढिला भएको हो । तयारीको पर्याप्त समय गुजारेर हामी अहिले हतारमा काम गर्दैछौँ,’ उनले भने, ‘गण्डकी प्रदेश सरकारले मनाएको आन्तरिक भ्रमण वर्ष २०१९ ले पनि हामीलाई केही व्यस्त बनाउँदा २०२० को तयारीमा ढिलाइ भएकै हो ।’

कँडेलले २०२० मा कहाँ र कहिले के कस्ता कार्यक्रम गर्ने भन्ने प्रस्ताव तयार पारिसके पनि यकिन भइ नसकेको बताए । ‘गन्तव्य प्रचार–प्रसारको तयारीमा छाैं । अहिले भइरहेका गतिविधिमा नयाँपन थप्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘केही फरक कार्यक्रम आउँछन् । तिनै कार्यक्रम तय गर्नमा पनि ढिलाइ भएको छ । त्यो हामीले अनुभूत गरिसकेका छौ ।’ कँडेलले २०२० मा केही नयाँ पदमार्ग सञ्चालनमा ल्याउने, गतिला गन्तव्यको प्रवद्र्धन गर्नेलगायतका योजना समेटेर अघि बढ्ने तयारी भएको बताए ।

‘कास्कीको सिक्लेस–कपुचेताल–मनाङसम्मको पदमार्ग विस्तार, मनाङ हुँदै मुक्तिनाथसम्म नयाँ पदमार्ग विस्तार (मोटरबाटोले चल्तीको रुट विस्थापित भएपछि),  धौलागिरी पदमार्गको प्रवद्र्धन, मनाङको तिलिचो तालका प्रवद्र्धनका कार्यक्रम पनि छन्,’ उनले भने । त्यसबाहेक २०२० मा धौलागिरी, मनास्लु र अन्नपूर्ण आरोहण दिवसलाई केही फरक बनाउने योजना पनि रहेको उनले बताए । ‘कार्यक्रम तय गर्ने अन्तिम चरणमा छाँै । यही काम महिनौं अघि भएर पाहुनालाई २०२० मा घुम्न बोलाउनुपर्ने हो, त्यसमा ढिलाइ भएकै छ,’ उनले भने ।

पर्यटन बोर्डका पदाधिकारी पनि २०२० को कार्यक्रमका लागि सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताउँछन् । पर्यटन क्षेत्रको बढी लाभ पर्यटन व्यवसायीले पाउने भएकोले पनि २०२० का लागि ढिलाइ नगरी कार्यक्रम तय गर्नुपर्ने पदाधिकारीको सुझाव छ । ‘अहिलेसम्म पोखराले मात्र भए पनि २०२० का लागि विशेष कार्यक्रम तय गर्नुपर्ने हो । ती आकर्षक कार्यक्रम गर्नका लागि व्यवसायीले चासो दिनुपर्छ,’ बोर्डका पोखरास्थित कार्यालयका म्यानेजर सूर्य थपलियाले भने, ‘तर, सरकार र व्यवसायीबीच कसले काम गर्ने भन्नेमा द्विविधा छ । निजी क्षेत्रले पूर्वाधारमा ठूलो लगानी गरेकोले थप प्रचारका लागि पैसा निकाल्न सक्ने अवस्था छैन भने सरकार पनि प्रवद्र्धनमा पर्याप्त रकम खर्चन अग्रसर देखिन्न ।’

‘व्यवसायीलाई सरकारप्रति नै भरोसा छैन । भ्रमण वर्षमा प्रवद्र्धनका लागि जाने बजारको टुंगो नै लागेको छैन । त्यसबाहेक व्यवसायीले पाउनु छुट, सुविधाबारे पनि अन्योल नै छ,’ उनले भने, ‘सबैतिरको अन्योलमा व्यवसायी पनि छन् । सरकारले प्रवद्र्धनका लागि जाने बजार तोक्नुपर्ने हो । त्यसमा समेत ढिलाइ भइसकेको छ ।’ भ्रमण वर्षको २० लाख पर्यटकको लक्ष्यका आधारबारे सरकारले व्यवसायीलाई आश्वस्त पार्नुपर्ने उनले बताए ।

‘बजारसम्म जान खोजेका व्यवसायीलाई सहजीकरण गर्ने काम पनि सरकारकै हो । आएका पर्यटकलाई सेवामा गुणस्तर दिने जिम्मा व्यवसायीको हो,’ उनले भने, ‘२०२० का पाहुनालाई भिन्दै अनुभव दिने खालका कार्यक्रम ल्याउनुपर्छ । तर, त्यसमा ढिलाइ भएको छ । अपुरो तयारीले लक्ष्य भेट्न सकिन्न ।’ २०२० का लागि गन्तव्य विस्तारमा व्यवसायी र सरकार कसैले खासै चाँसो नदिएको उनले बताए । ‘आउने सिजनका लागि पनि त अहिल्यै प्याकेज आउनुपर्ने हो । तर, अहिलेसम्म प्याकेज पनि आएको छैन । चलिरहेका भन्दा फरक गन्तव्य पनि पहिचान भएका छैनन् । वर्षभरि गरिने कार्यक्रम पनि अहिलेसम्म केही तय भएका छैनन्,’ उनले भने ।

आन्तरिक पर्यटकका लागि मिल्ने एकाध कार्यक्रम बाहिर आए पनि त्यसले विदेशीको तत्कालै आगमन बढाउन नसघाउने उनले बताए । ‘२०२० का लागि नेपालले मुख्य बजार देखेको भारत र चीनमा आक्रामक प्रवद्र्धन गर्ने हो भने अहिलेको आगमन उकासिन्छ,’ उनले भने, ‘तर, सरकारी लक्ष्य त्यही आधारमा पूरा हुने भने होइन । भारत र चीनको प्रवद्र्धनले बढी सपोर्ट पुग्ने थियो ।’ अहिले भारत र चीनको नेपालका लागि पर्यटनको हिस्सा करिब ३० प्रतिशत हाराहारीमा रहेको र भ्रमण वर्षको अवसर पारेर प्रवद्र्धन गर्दा हिस्सा बढाएर ४० प्रतिशत पुर्‍याउन सकिने भए पनि व्यवसायी र सरकारले चासो दिनुपर्ने उनले बताए ।

थपलियाका अनुभवमा २०२० को अभियान लक्षित कार्यक्रम साना सहरमा पनि गर्न सकिन्छ । त्यस्तै पर्वतीय पर्यटनमा नयाँ प्रयोग गर्न सकिन्छ । विदेशीका लागि नेपालको पर्वतीय पर्यटन निकै नै आकर्षण पनि छ । तर, त्यसमा व्यवसायी र सरकारको सहकार्य आवश्यक रहेको उनले बताए । ‘प्याकेजसहित नेपालमा नयाँपन देखिने गरी २०२० मा पाहुनालाई घुम्न बोलाउनुपर्छ,’ उनले भने, ‘अनि मात्र पर्यटनबाट सरकारले देखेको समृद्धि पूरा हुनेछ ।’

 

 

प्रकाशित: ४ माघ २०७६ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App