८ वैशाख २०८१ शनिबार
अन्य

गुडमर्निङ भेडीओढार !

धौलागिरि आइसफल पदमार्गमा पर्ने भेडीओढारले पुनहिलको झल्को मेटाउँछ । यहाँबाट गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरिदेखि माछापुच्छ्रेसम्मको हिमाली लर्कन आँखै सामुन्ने देखिन्छन् । नयाँ गन्तव्यका रुपमा भेडीओढार चम्किँदै छ ।

पहाडैपहाडले भरिएको म्याग्दी जिल्लाका डाँडाबाट धौलागिरि हिमालको दृश्य मनमोहक देखिन्छ । पुनहिल, झाँक्रीपानी, टोड्के, ताकमकोट जस्तै सुन्दर हिलस्टेसन हो–भेडी ओढार (२,५०० मिटर) । रघुगंगा गाउँपालिका–२ मा पर्ने भेडीओढारबाट हिमाल मात्र होइन, सूर्योदय र सूर्यास्तका रंगिन दृश्य पनि देखिन्छ । 

डाँडामा रहेका ओढारमा हिउँदका बेला गाउँलेका भेडा राखिन्छ । त्यसैले भेडीओढार भनिएको । ओढार मास्तिरको ढुँगामा रेलिङ र छत राखेर भ्यू पोइन्ट बनाइएको छ । त्यहाँ बसेर चुरेन, गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरि र माछापुच्छे« हिमालको दर्शन गर्न सकिन्छ ।

भ्यू पोइन्टबाट ५ मिनेट हिँडेमा जंगल छिचोलेर डिलमा पुगिन्छ । डिलबाट हिमालको अझ राम्रो दृश्य देखिन्छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० का लागि प्रवद्र्धन गर्न छानेका सय गन्तव्यको सूचीमा ‘रुइसे–भेडीओढार–धौलागिरि आइसफल पदमार्ग’ पनि परेको छ ।

अचेल बेनी बजार, बागलुङ, कुश्मा र पोखरातिरबाट भेडीओढार क्षेत्र घुम्नेहरूको चहलपहल बढ्दै छ । भेडीओढारको बेस क्याम्प रुइसे क्षेत्रमा स्थानीय गाउँपालिकाले भ्यू टावर बनाएको छ । टावर बनाएको क्षेत्रसम्म मोटर बाइक र जिप लैजान सकिन्छ ।

रुइसे (२२०८ मिटर) मा रात बसेर बिहानै एक घण्टा उकालो चढेर भेडीओढारमा हिमालय अवलोकन गर्नु राम्रो हुन्छ । रुइसेमा भर्खरै एउटा होटल खुलेको छ । स्थानीय कमला शाहीले खोलेको होटलमा सामान्य बास र खाना पाइन्छ ।

जिल्ला समन्वय समिति, म्याग्दीका अध्यक्ष देवेन्द्र केसीका अनुसार रघुगंगा गाउँपालिकाले रुइसे क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ । ‘भेडीओढार र रुइसे क्षेत्रमा खानेपानी र बासको व्यवस्था मिलाउने प्रयास हुँदैछ’, उनले भने, ‘चाँडै यसलाई पर्यटकीय गन्तव्यका रुपमा चम्काउँछौ ।’ 

रुइसे पुग्न बेनीबाट गलेश्वर हुँदै उकालो लाग्नु पर्छ । गलेश्वर भन्दा मास्तिर ८ किमि सडक कालोपत्रे गर्ने कामको तयारी भैसकेको छ । भेडीओढारको यात्रामा निस्कँदा बीच बाटोमै पर्ने राखु भगवती मन्दिरको दर्शन गर्न छुटाउनु हुँदैन ।

त्यस्तै बेनीबाट अघि बढ्ने बित्तिकै ३ किमि दूरीमा गलेश्वरधाम छ । गलेश्वर दर्शन गरेर उकालो चढे मनमा प्रसन्नता छाउनेछ । दुःखको कुरा बेनीबाट रुइसेसम्म सार्वजनिक गाडी चल्दैनन् । रिजभ्र्ड जीप वा मोटरबाइकमा जान सकिन्छ । बाटो सुधार भएपछि सार्वजनिक यातायातका साधन चल्ने आशा गरौं ।

रघुगंगा गाउँपालिकाले आफ्नो क्षेत्रका टोड्के र रुइसेलाई प्राथमिकतामा राखेको छ । विशेषतः आन्तरिक पर्यटकका लागि भेडीओढार आकर्षक गन्तव्य बन्न सक्छ । रुइसे नजिकैका गाउँहरू सिजल, साझापानी र बेग सिरुबारीमा होम स्टे गराउने वातावरण मिलाउन सके राम्रो हुन्थ्यो ।
कसरी पुग्ने : काठमाडौं–बेनी २८८ किमि, बसमा ९ घण्टा । बेनी–गलेश्वर–रुइसे १७ किमि, जिपमा दुई घण्टा । बेनीबाट रुइसेसम्म रिर्जभ्ड जिप वा मोटर बाइकमा । रुइसे–भेडीओढार १ घन्टा पदयात्रा ।  

आउनुस् है !
कमला शाही
होटल सञ्चालक
रुइसे क्षेत्रमा घुमन्तेहरू आउने क्रम बढ्यो । तर, यहाँ खाने/बस्ने सुविधा नभएकाले मैले सामान्य होटल चलाएकी हुँ । अर्डरअनुसार दालभात, चाउचाउ, चिया, लोकल कुखुरा आदिको व्यवस्था मिलाउँछौं । पहिल्यै खबर गरेर घाम नडुब्दै आइपुगेमा खाना र बास बस्न सजिलो हुन्छ ।

प्रकाशित: ४ माघ २०७६ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App