coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘पोथी बास्नुहुँदैन’को दृष्टान्त डा. शिवमायाहरूमा खोजौँ

गीता त्रिपाठी

कुन्ता शर्मा नेपाली कवितामा २०३० को दशकमा प्रारम्भ भएको अस्तित्ववादी चिन्तनलाई अझै विशिष्ट रूपमा प्रस्तुत गर्ने कवि हुन्। समाज परिवर्तनका निम्ति राजनीति र संस्कृतिका परम्परागत दबाबविरुद्ध कलम उठाउनेमध्ये एक सशक्त काव्यिक स्वर दिने कविका रूपमा उनको परिचय बनेको छ। उनको काव्य यात्रा सम्झना पत्रिकामा प्रकाशित ‘लाहुर गएको प्रेमीलाई एउटा पत्र’ (२०२८) शीर्षकको कविताबाट भएको हो। उनी वर्गीय शोषण र उत्पीडनविरुद्ध आफ्नो चेतनालाई निर्विकल्प र नैसर्गिक अभिव्यक्ति दिने कवि हुन्। उनका विशेष कविताले लैंगिक विभेद अन्त्यका लागि सशक्त नारीवादी स्वर प्रकट गर्दै आएकाले उनी नारी अस्तित्वप्रति सचेत प्रखर कवि हुन् । अग्रज पुस्ताका कविहरूको पंक्तिमा अविस्मरणीय उनको कविता–रचनाको बौद्धिक र दृढ स्वर आम पाठकका निम्ति पनि उत्तिकै बोधगम्य छ।  

लोक भनाइमा विद्रोह
आम पाठकमाझ कुन्ता शर्माको कवित्वको प्रवृत्ति निर्धारण गर्ने कविताका रूपमा ‘पोथी बास्नु हुँदैन’ प्रसिद्ध छ। यसको शीर्षक छनोट नै विशेष, विचारणीय र आकर्षक लाग्छ। यसले परम्परागत रूपले लोकजीवनमा प्रचलित भनाइलाई कथ्यका रूपमा लिई त्यसलाई नारीवादी सचेतनाका कोणबाट पुनव्र्याख्या गरेको छ। ‘पोथी’ शब्दलाई निबन्धकार देवकोटाले भाषिक अभिव्यक्तिको सुकोमल शैलीका निम्ति प्रयोग गरेर आफ्नो लेखनलाई पोथी गद्य भनेका छन्। नेपाली व्याकरणले पोथीलाई भालेको विपरीत लिंगी शब्दका रूपमा प्रस्तुत गरेको छ। व्याकरणिक अर्थमा विपरीतार्थी यी दुई शब्द यस कवितामा पनि विभेदकारी संस्कृतिको पक्षपोषक भाले र निरीह मातृस्वरूपा पोथी अनुक्रियाका निम्ति  विपरीतार्थमै प्रयुक्त भएको छ।

कविताको पहिलो सन्दर्भ हेरौँ :
...बास्ने काम भालेको हो
आवाज उकास्ने काम भालेको हो।
पोथीले मात्र कुर्कुराउनुपर्छ
आक्रोशका घुड्का चुपचाप निल्नुपर्छ
अन्डा पार्नुपर्छ
ओथारा बस्नुपर्छ
चल्ला काढ्नु अनि तन्मयतापूर्वक बच्चा हुर्काउनुपर्छ
उन्मुक्त हाँसो हाँस्नुहुँदैन
पोथी बास्नुहुँदैन।

कविताले प्रतीकात्मक शैलीमा पोथी कुखुरा अर्थात् नेपाली समाजका महिला र भाले अर्थात् नेपाली समाजका पुरुषका दैनिकीबीचको असमान स्थिति प्रस्तुत गरेको छ। पितृसत्ताका हैसियतवान् भाले चरित्रका पुरुषहरू सिउरको घमण्ड बोकेर बिहानदेखि आफ्नो शक्ति प्रदर्शनीमा कुर्लिरहेका कखुराका भाले जसरी नै आफ्नो दम्भ प्रकट गरिरहेका हुने, घरका धुरी, बार्दली, आँगन र आँगनका बारहरू तिनैका आधिपत्यमा हुने हुँदा महिलाका निम्ति तिनले सीमा कोरिदिएका तर्फ कविताले व्यंग्य गरेको छ। महिलालाई निमुखा बनाएर आँसु र वेदनाको पोखरीमा आक्रोशका ताता ज्वाला आफैँभित्र निभाउँदै चुपचाप निल्नुको विकल्प नदिएको यथास्थितिसँग कविताले विद्रोह प्रकट गरेको छ। भलै यो विद्रोह शब्दले व्यक्त गरिएको छैन, तर काव्यिक स्वरमा यो अथाह व्यंग्यपूर्ण छ, विभेदको व्यवहारलाई कविताले दृश्यमा उतारिदिएको छ।

कविता आस्वादन गर्दै जाँदा सिउर हल्लाउँदै बास्ने भाले, जो बिहानै पोथी र चल्लाका बीचमा गला फुलाउँदै सम्पूर्ण समयको एकाधिकारी मै हुँजस्तो गर्दै मैदान र अग्ला ठाउँमा घाँटी तन्काउँदै बासिरहेको हुन्छ, यसैसँग तुल्य पुरुष चरित्र सामाजिक शक्तिको पारिवारिक परिवेशमा सर्वेसर्वा भएर शासन गरिरहेको दृश्य सर्लक्क मस्तिष्कमा साक्षात्कार भइदिन्छ। महिला त लज्जाभाव राख्नु, आफ्ना भन्नैपर्ने कुरालाई पनि बढो अदबका साथ भन्नुपर्ने संस्कारले थिचिएर हाँस्न र बोल्न नै बिर्सिसकेका निरीह प्राणी भइबस्न बाध्य छन्। तिनलाई बच्चा जन्माउनु र तिनकै स्याहारसुसारमा तल्लीन भएर जीवन बिताउनुबाहेक मानवीय प्राकृतिक स्वभावअनुसारको उन्मुक्त भएर बाँच्ने अधिकार नभएको पक्षपाती पुरुष मनोवृत्तिप्रति कविताले तीखो व्यंग्यार्थ प्रकट गरेको छ।

पोथी बास्नु हुँदैन कविताको अर्थ नारीवादी पर्यावरणीय सन्दर्भसम्मै पुगेको भेटिन्छ। महिला अर्थात् पोथी जातिलाई मातृगुणकै कारण प्रकृतिसँग निकटको सम्बन्धमा हेरिने सामाजिक प्रचलन छ। यहाँ पोथी प्रकृति हो। यो मानव समाजको उपभोगतामुखी वस्तुवादी चरित्रले खेदिएको पात्रत्वमा परिभाषित छ। पोथी बास्नु हुँदैन भन्ने लोकोक्तिको आरम्भकर्ता पक्कै पनि कुनै महिला हुँदै होइन। यो पुरुष समाज प्रकृतिकै कोखबाट उब्जिएर शक्ति आर्जन गर्छ र प्रकृतिलाई नै वशमा राख्न आफ्नो सारा पुरुषार्थ खर्चिन्छ। यहाँ भाले र पोथीको प्राकृतिक जिम्मेवारी आ–आफ्नै होला। तिनका जैविक पक्ष आ–आफ्नै होलान् तर मानव समाजको विभेदकारी सोचले प्रकृति र नारीका यावत् विषयलाई एकै प्रकारले हेर्छ।

पोथी बास्नु नहुने भन्ने कुरा कुखुराकै समाजमा चाहिँ कसैलाई थाहा नभएको विषय हो। पितृसत्ताको पुरुष सोचले भने यस्ता दृष्टान्त दिएर महिलालाई शारीरिक र मानसिक रूपमै कमजोर बनाउन सक्दो जाल ओछ्याएको छ। यसैका आधारमा सुरक्षाको नाममा घरको कैदखानामा दासत्वपूर्ण जीवनमा राखी चुपचाप उपभोग गर्न सफल भएको छ भन्ने अभिप्राय नै यस कविताको कथ्य बनेर आएको छ। प्रकृतिमा हुने दुई जात महिला र पुरुषमध्ये महिला पोथी जाति सृष्टिको निरन्तरताका निम्ति सम्मानित मानिनुपर्ने हो। कोखको शक्तिले उनी पहिलो अधिकारी हुनुपर्ने हो, तर आमा र बच्चाको सम्बन्ध जब महिला र पुरुषको सम्बन्धमा परिणत भइदिन्छ, अनि बाबु र लोग्नेका रूपमा होस् वा समाज र राजनीतिकै विभिन्न परिवेशमा होऊन्, पुरुषका दम्भले महिलाको अस्तित्वलाई अस्वीकार गर्न अनेक प्रपञ्च रचिरहन्छ। यो कविता यही प्रपञ्चको वास्तविक भोक्ता हृदयको प्रतिनिधि उच्छ्वास र निःश्वास हो, कुनै काल्पनिक विषयमा लेखिएको होइन। यस कवितामा महिलाप्रतिको समाजको विभेदजन्य व्यवहारप्रति असहमति र पुरुषको भाले चरित्रको उपहास गरिएको छ।

महिलाका निम्ति जीवनका सबै ऋतु एकै हुन् भन्ने पुरुष मानसिकता यस कवितामा प्रकट भएको छ। साँघुरो वा फराकिलो, सफा वा घिनलाग्दो सबै परिस्थितिमा चुपचाप प्रतिक्रियाविहीन भएर आफ्नो भाग्यलाई दोष दिँदै कर्ममा तल्लीन हुनु नै महिलाको नियति ठान्ने पुरुष समाजमा महिलाले रुढता र अन्धपरम्पराको विपरीत कुनै परिवर्तनगामी विषयमा चासो राखे भने त्यो पितृसत्तालाई सह्य नहुने हुँदा ती बारबार पोथी बास्नु हुँदैन भन्ने भनाइका सहारा लिएर महिलामाथि दमन सुरु गरिहाल्छन् भन्ने भाव कवितामा लक्षित छ। पुरुषराजमा महिलाका निम्ति जम्मा दुई भाव स्वीकार्य छन्, परिस्थिति अनुसार आँसु र मुस्कानको हतियारले ती नारीत्वको जगेर्ना मात्र गर्न सक्छन्। आफ्नो सुरक्षा गर्ने अधिकार तिनलाई प्राप्त छैन। ती आश्रित छन्।

स्वतन्त्र विचार र उन्मुक्त हाँसो तिनका जीवनमा सम्भव नभएको वस्तु हो। पुरुषलाई ती सब सुविधा प्राप्त छ। महिलाले तौली–तौली आदरभावका बोलीले पुरुषका अभिमानलाई बढाइरहनु, तिनका पाउमा शिर झुकाएर आफू तिनका दास भएको प्रमाणित गरिरहनुमा पुरुषको आधिपत्य चुलिइरहन्छ। महिलाले पुरुषका बाटा सदैव खुला राखिदिनुपर्छ, चाहे त्यो दाम्पत्यमा होस् वा अन्यत्र। पुरुषको मालिकपनाको बढाइँ गरी आफू चाहिँ दिनरात तिनका सुख–सेवामा यन्त्रजस्तै खटे मात्र पुरुषका निम्ति महिलाको अर्थ छ। जसरी पोथी बास्यो भने अनिष्ट हुन्छ भन्दै बास्ने पोथीको इहलीला नै समाप्त पारिन्छ, त्यसरी नै असमानता र विभेदका विरुद्ध बोल्ने महिलाका निम्ति प्रचलित कानुन, नियम एउटा ठूलो बाधा र व्यवधान दिन सदैव तत्पर भएको इतिहास छ।

यो बाधा असहमति हुँदै सम्बन्धको अन्त्यसम्म पुग्छ। कविले यस्तो अन्त्यले ‘पोथी’का जीवनका सपना मात्र होइन, जीवन नै चुँडिदिन सक्ने सामाजिक विसंगत–प्रवृत्तिको उद्घाटन गरेकी छन्। यति मात्र होइन, अर्को डरलाग्दो पक्ष पुरुष र महिलाबीचको सामाजिक विभेद परिवारभित्र पति–पत्नीका सम्बन्धमा ज्यादा भयप्रद भएर देखिने कुरा ओथारोको अन्डा त्यसैत्यसै कुहिन सक्ने तथा चल्लाको कलिलो जीवन नफुल्दै झर्न सक्ने भन्ने कवितांशमा निकै मार्मिक किसिमले प्रस्तुत गरिएको छ। जमिनदार र सामन्तहरूले दास बनाएका महिलाहरू यौन शोषणमा परेर अवैध गर्व बोक्न बाध्य हुँदा गर्भका निर्दोष भ्रुणहरू तुहाइनु त छँदै छ, छोरी भए गर्भमै समाप्त गर्ने प्रवृत्ति पनि उसरी नै विभेदकारी समाजमा व्याप्त छ। कविताले यतातिर पनि संकेत गरेको छ। हाम्रा जस्ता अल्पविकसित तेस्रो भनिएका मुलुकमा ‘पोथी’लाई वशमा राख्नु ‘भाले’को जीवनको उद्देश्य बनिदिएपछि पारिवारिक सम्बन्धको सिंगो संरचना नै अभिघातमा परिणत भइदिन्छ।

भालेलाई बाबु हुनुभन्दा तथाकथित पतिपरमेश्वर हुुनुको अभिमानले गाँज्ने हुँदा सन्तानको जीवन ध्वस्त पारेर चेतनाको डाँक छेड्दै नयाँ बिहानी ल्याउने कर्म महिलाका निम्ति निकै चुनौतीपूर्ण रहेको व्यावहारिक सत्यमाथि कवि शर्माको काव्यिक अभिव्यक्तिको उत्कर्ष रहेको छ।
शर्माको यो कविताले महिलाका समस्यालाई सपाट रूपमा राख्ने काम मात्र गरेको छैन, परिवर्तनगामी प्रगतिशील चरित्र मानिसको नित्य स्वभाव हो, यो स्वभाव पुरुषले जस्तै महिलाले पनि प्रकृतिबाटै प्राप्त गरेका हुन्। पुरुषका स्वार्थप्रेरित भावले प्रकृतिको नित्य स्वतन्त्रताको लयलाई अवरुद्ध पारिदिएको छ। वर्षौंसम्म यसरी बनेको विकृत जमाइलाई निकास दिएर आफ्नै स्वाभाविक गतिमा बग्न चाहने महिलालाई मध्ययुगीन अन्धकारका दिनमा जस्तो आजको आधुनिक समाजमा पनि बर्बरतापूर्वक दमन गरिआएको यथार्थ अघि सार्दै यस कविताले त्रासदिका विरुद्ध महिला जागरणको सामूहिक  शक्तिका निम्ति आह्वान गरेको छ :

जीवनका विरुद्ध
मृत्यु–घण्ट ठोक्न सक्छन्
एकोहोरो शंख फुक्न सक्छन्
त्यसैले ठूलो आँट नलिई
दरिलो साथ नलिई
काँडाघारीमा पस्नुहुँदैन
उन्मुक्त हाँसो हाँस्नुहुँदैन
पोथी बास्नुहुँदैन।

प्रस्तुत कविताको अन्त्यमा महिलाशक्तिप्रति सचेत हुन महिला स्वयं नै एकताबद्ध हुनुपर्ने भाव प्रकट गरिएको छ। महिलाप्रतिको सांस्कृतिक शोषणको अन्त्यहीन निरन्तरताप्रति असहमत कवि शर्माले उल्लिखित कवितांशमा पनि नारी अस्तित्ववादी स्वरलाई दृढ बनाएकी छन्। कविताको अन्तिम पंक्तिमा व्यञ्जित पोथी बास्नु हुँदैनले एउटा जडवादी सांस्कृतिक विभेदको अन्त्यको माग गरेको छ, जहाँ प्रकृतिका विरुद्ध संस्कृति भन्ने नारीवादी अवधारणाको अर्थपूर्ण निष्कर्ष प्रकट भएको छ।

शिल्पको कसीमा
‘पोथी बास्नुहुँदैन’ शीर्षक नै अर्थका तहमा विपर्यासयुक्त संकथन बनेको छ।  यहाँ निषेधको प्रतिकारका निम्ति ध्वन्यात्मक अभिव्यञ्जना छ। कविताको रूप र सारलाई संगठित गर्ने क्रममा प्रस्तुत कविता व्यञ्जनायुक्त गहिरो अर्थ प्रतिध्वनित गर्न सफल छ। नेपाली ग्रामीण लोकजीवनमा प्रचलित पोथी बास्नु अनिष्टको संकेत हो भन्ने रुढियुक्त कथनलाई कथ्य बनाएर समकालीन नेपाली समाजमा महिलामाथि हुने गरेका विभेदको प्रतीकात्मक र विम्बात्मक अभिव्यञ्जना गरिएको यो कविता शिल्पकोे कसीमा स्वादिलो र तिख्खर  मानिन्छ। मानवेतर पन्छीलाई मानवीकरण गरी कुखुराको भाले र पोथीको दैनिकीलाई पुरुष र महिलाका सामाजिक विषयसँग विशिष्टीकृत र साधारणीकरण गरिएकाले अभिधार्थमा यस कविताले प्रकृतिप्रति मानिसको साँघुरो अवधारणालाई समेत प्रस्तुत गरेको छ। प्राकृतिक र शाश्वत विषयमा पनि लगाम लगाएर पितृसत्ताले हरेक विषयलाई वस्तुकरण गरेकाप्रति कवितामा विरोधी चेतना प्रकट भएको छ। संरचनागत बनोट हेर्दा मुक्तलयका १४, ८, ७, ७, ७, १३, २१ पंक्तिका जम्मा सात वटा पंक्तिपुञ्जमा संरचित यस कवितामा प्रत्येक पंक्तिपुञ्जको अन्तिम हरफ दोहोरिएर समानान्तरताको स्थिति प्रकट भएको छ।

अर्थका तहमा व्यंग्य अर्थप्रदान यस कवितामा महाकवि देवकोटाको पागल कवितामा जस्तै पाठकलाई अत्याचारी सामाजिक परिवेशसँग साक्षात्कार गराउने सामथ्र्य छ। विषयगत आधारमा यस कवितामा समाजका नारी र पुरुषबीचको असमानता र शोषक–शासित सम्बन्धलाई महिलामुक्तिको चेतनाबाट प्रस्तुत गरिएको छ। भालेको स्वतन्त्र क्रिया र उसको परिवेशप्रतिको एकाधिकार प्रस्तुत कवितामा दृश्यविम्बमार्फत प्रकट भएको छ। यही दृश्यमा दुई भाव सम्प्रेषित छन्। दृश्यमा विम्बित भाले पितृसत्तात्मक नेपाली समाजको पुरुष चरित्रको प्रतिनिधि हो। यही भालेका आंगिक र वाचिक क्रियाकलापमा उसको स्वतन्त्रता सदियौँदेखि निर्विकल्प र निर्विवाद जस्तो प्रतीत भएको छ। यसका विपरीत महिलामाथिका सांस्कृतिक दबाब उसका वेशभूषा, बोली–व्यवहार सबैतिर देखिन्छ। बाह्य प्रतिबन्धबाट मनोविज्ञानमा प्रहार गरी महिलाका प्राकृतिक अधिकारहरू कुण्ठित पारिएका र उसलाई मनैदेखि आफू पुरुषकोे आश्रित र सेवक हुँ भन्ने स्विकार्न लगाइएको विद्रुप भावलाई कवितामा वक्रोक्तिका माध्यमबाट प्रकट गरिएको छ।

भालेको आवाज प्रकट हुँदा उसको दम्भ र आत्मरति सँगसँगै प्रकट हुन्छ, किनकि ऊ बोल्दा उसका ध्वनि अवयवहरू निकै ओजपूर्ण भएर भाषिक सञ्चारमा भाग लिन सक्छन्, तर महिलाले आफ्ना लज्जाका सीमाभित्र लवजको पनि सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसैले महिला बास्दिन, बरु कुर्कुराउँछे र उसको कुर्कुराइमा पुरुष आफ्नो दम्भ प्रदर्शनीका निम्ति अनुकूल परिवेश पाउँछ भन्ने प्रभुत्वशाली वर्गको समाजशास्त्रीय विश्लेषणमा ध्वनि प्रसारणको यो प्रतिबन्धन वास्तवमै समकालीन नेपाली समाजको विरक्त र पट्यारलाग्दो स्थिति हो। कविताले परम्पराका विपरीत धेरै सन्दर्भलाई विपरिचितीकरण गरी प्रतिरोधी चेतना विस्तार गर्न आह्वान गरेको छ। यहाँ भालेका विम्बमा आर्थी सम्बन्ध राख्ने पुरुष प्रवृत्तिप्रति हस्तक्षेपकारी अभिव्यक्ति छ। आँसु र हाँसो जस्ता भावात्मक नामिक पदहरू यस कवितामा हतियार भनिएका छन्। यी हतियार पुरुषका इच्छानुसार तिनका मन जित्न प्रयोग गर्नुपर्ने बाध्यताले महिलाको श्वास–प्रश्वास पनि उसको आफ्नो नियन्त्रणमा नभएको अथाह शोषणको चित्रण यस कविताले गरेको छ।

समय चेत
समकालीन नेपाली समाजको अध्ययन गर्ने हो भने सार्वकालीन कविताका रूपमा अर्थिने कविता हो, पोथी बास्नु हुँदैन। यसले अघि सारेको नारीवादी संचेतनाको आवश्यकता आजको समाजमा पनि उत्तिकै सान्दर्भिक छ। पचासको दशकको पूर्वाद्र्धमा रचिएको यो कविताले लगभग तीन दशकपछिको नेपाली समाज र यसले ल्याएका अनगिन्ती तान्त्रिक परिवर्तनपछि पनि महिला अधिकारका लागि सदैव बास्ने पोथीको नियति भोग्न विवश बनाइएको तथ्य आजको राजनीतिक र सांस्कृतिक परिवर्तनको अन्तिम शिखर चढिरहेको प्रदेशभित्र सर्वत्र भेटिँदै छन्। यो तीस वर्षमा बोल्न नपाउनु र बोलीको सुनुवाइ नहुनु दुईखाले परिस्थिति सिर्जना भएको छ। तत्कालीन समय बोलीमै कानुन हुनेहरूको थियो र बोल्नमै प्रतिबन्ध लगाइन्थ्यो, वर्तमान समय चिच्याए पनि नसुन्ने र सुने पनि बोलीको प्रभावशून्य भएको समय हो। आजका महिलाहरू सचेत छन्, तर पनि तिनलाई चुप गराउने सञ्जालहरू बेग्लै स्वरूपमा विस्तारित छन्।

परिवार, समाज र संस्थाभित्रको हिंसाको गुप्त अभिलेख अब बजारमा आइपुगेको छ। न्यायालयहरू महिलालाई न्याय दिने सवालमा बजारजस्तै रमिते बनिदिन्छ। यस्तो बेला महिलाको आवाजको चर्को अवमूल्यन भएको छ। शर्माका कविताले मागेको संगठित नारी शक्तिको अभाव आज पनि उत्तिकै छ। पहिले व्यक्तिले महिलाको अधिकार हत्याएको थियो, अहिले पार्टीले पनि उही नीति अपनाएको छ। मातृत्वका मूल्यहीनतामा राजनीति मौलाउनु कविताले उठाएको अस्तित्वको संकट हो, जुन संकटको अन्त्य हुनुभन्दा पनि नयाँ–नयाँ स्वरूपको सामाजिक–सांस्कृतिक समस्यामा यस कविताले प्रतिनिधि स्वर दिइरहेको छ।

दर्शन र सन्देश
दर्शन भनेकै विचारहरूको अन्तिम प्रभाव हो। कविताको दर्शनले समाजलाई दीर्घकालीन प्रभाव पार्ने गरेका अनेक उदाहरण पूर्वीय काव्यले निर्देशित गरेका हाम्रा अनेक सांस्कृतिक मान्यताले पुष्टि गरेकै छन्। भौतिकवादी दर्शनको एउटा प्रभावशाली दर्शन माक्र्सवादी द्वन्द्ववादी दर्शन हो। ‘पोथी बास्नुहुँदैन’ कविता माक्र्सवादी दर्शनका आधारमा प्रगतिवादी राजनीतिक चिन्तन अँगालेकी कवि कुन्ता शर्माको व्यक्तित्व, जीवन भोगाइ र नारीपीडाका भोक्ता समेतको दार्शनिक परिणतिले सशक्त रूपमा निःसृत कविता भएको बुझिन्छ। यसमा पितृसत्ता र व्यक्ति पुरुष दुवैप्रति लक्षित विद्रोहको निरन्तरता समापनतिर गइरहेको देखिँदैन। आन्तरिक परिवेशमा यस कविताले मुखर गरेको विषय यथावत् रहने र रहेकै छ, तथापि वर्तमान जीवनशैलीमा प्रविधिले पारेको प्रभावका कारण महिला र पुरुषका बीचको बाह्य प्रतिबन्ध बिस्तारै खुकुलो हुँदै गएका छन्। यसले गर्दा पुरुषका कमाइमा मात्र सीमित हुनुपर्ने सामाजिक संरचना भत्किँदै गएको छ।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा महिलाका योगदान अब परम्परा र पितृसत्ताले निषेध गर्न सक्ने विषय रहेन। निर्माणका बेला होस् वा अरू सन्दर्भ होस्, घरको धुरी चढ्नु, मलामी जानु, खेत जोत्नु, किरियापुत्री बसेर काजकिरिया गर्नु, श्राद्ध गर्नु आदि कामहरू केही धार्मिक–सांस्कृतिक अन्धविश्वासले त केही पितृसत्ताको पृष्ठपोषणका निम्ति महिलाका लागि निषेध गरिएका विषय हुन्। अहिले महिला यस्ता निषेधसँग स्वतस्फूर्त रूपमा प्रतिकार गरिरहेका छन्। हिजोसम्म महिलाले सवारी–साधन चलाउँदा झ्यालझ्यालबाट अनौठो मानेर हेरिन्थ्यो भने आज सबै प्रकारका यातायातका साधनमा महिला सञ्चालक छन्। प्रहरी र सैन्य शक्तिमा महिलाहरू कार्यरत छन्। परिवर्तनको नयाँ क्षितिज प्रविधि संस्कृतिले उघारिदिएकाले विभेद र विकृतिका स्वरूप पनि नयाँ–नयाँ हुँदै गएका छन्।

यसरी हेर्दा पोथी बास्नुहुँदैन कविताको बाह्य धरातल बिस्तारै सीमित हुँदै गएझैँ लाग्छ तर यो केही युग अझै लागेको जस्तो मात्र भएर रहिरहनेछ। यो कविताको आयु यही समाजको पितृसत्ताको आयुमा निर्भर रहनेछ। ऐतिहासिक सन्दर्भमा यो कविताको विश्लेषण विविध परिप्रेक्ष्यमा हुने नै छ, तर वर्तमानको व्यावहारिक जीवनमा महिलाका हक–अधिकार प्राप्तिको लडाइँमा यस कविताको आवश्यकता परिरहेकै छ। आज पनि डा. शिवमाया (तुम्बाहाङ्फे)हरू राजनीतिक दाउपेचको संवेदनशील घढीमा जसरी प्रतिरोधमा उत्रिरहेछन्, यो कविताको एउटा उही पुरानो विषय हो। त्यसैले समकालीन कविताको पूर्वाद्धमा लेखिएर उत्तराद्र्धको राजनीतिक, सामाजिक, सांस्कृतिक र वैचारिक प्रतिनिधित्व गरिरहेको यो कविता अहिलेको सन्दर्भमा हेर्ने हो भने सर्वकालिक आवाज भएको छ। जबसम्म समाजमा नारी पुरुषको सम्बन्धमा रहेका विभाजकहरू प्राकृतिक रूपले स्विकारिँदैनन्, जबसम्म पुरुषका दम्भ नारीका उपस्थितिलाई कमजोर, अपरिपक्व र उपेक्षित ठान्न छोड्दैनन्, तब यो र यस्तै अरू कविताहरूको प्रभाव कसरी कम हुनु !

यो कविताको आयु सकियोस् र यस्ता कविता अभिलेखमा सुरक्षित रहून्। महिलाका हृदय र मस्तिष्कमा गढेका युगौँदेखिका अपमानका काँढा जरैदेखि झिकिऊन् ! महिलाको स्वतन्त्रतालाई मानवीय स्वतन्त्रताको तहमा स्विकारियोस् ! विभिन्न प्रकारका हिंसा र बलात्कारका मानसिकताबाट पितृसत्ताको ठेकेदारी समाप्त होस् ! समाजमा महिला र पुरुषका निम्ति असमान नियम बन्न छाड्यो भने नयाँ दर्शनको प्रारम्भ हुनेछ। पोथी र भालेको बसाइबीचको द्वन्द्व समाप्त हुनेछ ! अन्यथा महिलाका संवेदनामा नुनचुक लगाउने समाज महिलासँगकै द्वन्द्वमा अलमलिइरहनेछ। भाले बासिरहनेछ, तर अब पोथी कुर्कुराउन छाड्नेछन्। आँसु र हाँसोको हतियारका विपरीत प्रेमको युद्ध विपरीत जातीय युद्ध छेडिनेछ। नारीचेतनाका यस्ता कवितामा नयाँ आयाम थपिनै रहनेछन्। अन्डा र चल्लाहरूप्रति कसैको ध्यान जानेछैन !

प्रकाशित: ४ माघ २०७६ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App