८ वैशाख २०८१ शनिबार
कला

देशभक्तिका गीत ओझेलमा

यादव खरेल, गीतकार

नकाट मलाई नमार मलाई,
म बाँचेको छु, गर्न सबको भलाइ।
म वन हुँ, म जंगल हुँ, जीवजन्तु सबको प्राण हुँ,
स्वच्छ हावा हरियाली, म यो देशको सान हुँ।

म जगत् र जीवनको सुन्दरताको सार हुँ,
कलकल झरझर बग्ने जलको मूलधार हुँ।
म मरे भने जीव जन्तु मर्छ, पशुपन्छी मर्छ
मरुभूमि सुस्तरी सुस्तरी नेपालभित्र सर्छ।
मलाई काटे, मलाई मारे, तिमीलाई पाप लाग्छ,
जीवजन्तु चराचुरुंगी सबैकोे श्राप लाग्छ।
आदर्श मेरो सबको मंगल मंगल,
म रूख हुँ, म वन हुँ, म हुँ जंगल, जंगल।

निजगढको सन्दर्भमा लेखिएको गीत हो यो, रेकर्ड भने भएको छैन। सरकारले निजगढमा एयरपोर्ट निर्माणका लागि वन फँडानी गर्न निर्देशन दिएको थियो। वनको आफ्नै इतिहास छ। वनमा पुरातात्विक वस्तु हुन्छन्।

वन मासेर एयरपोर्ट बनाउने विषयको विपक्षमा सर्वोच्च अदालतमा वातावरणविद्ले मुद्दा हाले, ‘स्टे अर्डर’ भयो। नत्र यतिबेलासम्म सबै रूख काटिन्थे। यस्ता कुराले मलाई छुन्छ, म यसलाई गीतमार्फत व्यक्त गर्छु।

विकास निर्माणले वातावरण असन्तुलन भएको पाइएको छ। जंगलमै सबैको जीवन आश्रित छ। पानीको स्रोत, सिँचाइ, पर्यायवरणदेखि मानिसलाई दिने ऊर्जासम्म वनबाटै पाइन्छ। तर, भ्रष्टाचार र लोभलालचका कारण विकासको नाममा वनजंगल मासिँदै छ। भ्रष्ट राजनीति, राजनीतिज्ञ र प्रशासकलाई हातमा लिएर ती माफियाले धेरैपटक वनजंगलको शोषण गरेका छन्। यही विषय गीतमा लेखेको छु। रूख एउटा मानिसजस्तै प्राणी हो। यसले आफ्नै कथा भनिरहेको हुन्छ।

देशभक्तिका गीतको व्यवसायीकरण गर्न रुचाइँदैन। मायापिरतीका गीतलाई नै बढी व्यवसायीकरण गरिन्छ। यसकारण, तुलनात्मक र संख्यात्मक हिसाबमा देशभक्ति गीत निकै कम छन्।

हाम्रो अस्तित्व पर्यावरण र वनजंगलसँग जोडिएको छ। देशको साँध–सिमाना सार्वभौमिकतासँग जोडिएको हुन्छ। खुला सिमाना बन्द गरिनुपर्छ, यसले हाम्रो अस्तित्व नै मेटाइदिन सक्छ। छिमेकी मुलुकबाट प्रवासीहरू भित्रिने क्रम बढ्दै गएको छ। यो क्रम अझै बढ्दै गए नेपालको अस्तित्व नै रहँदैन। यही विषयलाई गीतमार्फत प्रस्तुत गरेको छ।

खुला सिमाना बन्द गरौँ
आऊ लगाऔँ काँडेतार।
सिमाना बन्द गर्न पर्खाल नै लगाउन सकिँदैन, तर काँडेतार लगाउन सकिन्छ। सुरुवात त गर्नुप-यो नि। मुख्य–मुख्य ठाउँमा रोक्नुप-यो। आजको आजै गर्न पनि सकिने होइन। बिस्तारै गर्दै जाँदा हुने हो। यो त मुलुक हो, हामी पो मरेर जान्छौँ, त्यसैले खुला सिमाना बन्द गर्नुपर्छ।

देश नरहे हामी हुन्नौँ
नारा लगाऔँ बारम्बार।

आप्रवासीको लर्के ताँती, देशलाई हुन्छ भार,
यस्तो समय आइसक्यो, सार्वभौमिकतालाई पर्र्दै छ भार।

नेपालमा यस्तो पनि समय आयो, पाँच सय रुपैयाँ लिएर भारतीय नागरिकलाई नागरिकता दिइयो। खुला सिमानाकै कारण यसरी एउटा जनबाढी नेपाल भित्रिँदै छ।
सत्ताशक्ति हातमा हुनेले, नागरिकताको ग-यो व्यापार
प्रतीकारमा नउत्रे हामी, अरूको जित नेपालीको हुनेछ हार।

नदीनाला बेचे सिमाना बेचे, बेचे साँधको जलधार।
जंगेपिलर हराउन थाले, रखबारी गरौँ खबरदार होसियार।
बेलाबेला देशप्रेमले प्राथमिकता पाउँछ। यो गीत समसामयिक विषयमा तयार गरिएको हो, यो रेकर्ड पनि भएको छैन। यस्ता सिर्जनाले नयाँ पुस्तालाई सतर्क गराउँछ। गीतले पनि आम नागरिकमा देशभक्तिको भाव सञ्चार गरिदिन्छ। तर, पछिल्लो समय देशभक्ति गीतको सिर्जना कमै मात्रामा भएको छ। एउटा गीतले नै ठूलो क्रान्ति ल्याउने र गीत सुनेरै झन्डा नै बोकेर हिँड्ने अवस्था आउँछ भन्ने होइन। गीतको भावले मानिसको मनलाई छुन्छ। त्यसले एक–दुई हजार जतिलाई छोला। अलि राम्रो कुरा भयो भने, चाँडै नै सामाजिक सञ्जालमा भाइरल हुन्छ।

गीत रचना त अहिले समुद्रजस्तो भइसक्यो। संगीत बजारमा विविध खालका गीत छन्, केही विकृत पनि छन्। जीवन र जगत्लाई प्रतिनिधित्व गर्ने असाध्यै राम्रा गीत पनि छन्। गीत लेखनबारे अत्यन्त कम अभ्यास भएको पाइन्छ। यसबारे कमै लेखिन्छ।

गीतको विश्लेषण, समालोचना र विवेचना गर्ने परपम्परा खासै छैन। गीत लेखनको विवेचना कमै मात्रामा हुँदा यसलाई कम प्राथमिकता दिइएको हो।

गीतको धार नै परिवर्तन भएको छ। नेपाली गीतमा संसारभरिका संगीतको प्रभाव छ। फरक फ्युजनका गीत सिर्जना गरिएका छन्।

धेरै गीतको विश्लेषण गर्नुपर्ने हुन्छ। समग्रमा हेर्दा गीत लेखनको स्तरीयतामा मान्छेले कम ध्यान दिन थालेका छन्। गीत लेखनलाई भन्दा पनि गीतको प्रस्तुतिलाई बढी प्राथमिकता दिइएको पाइन्छ।

संगीत नाट्य प्रतिष्ठानबाटै गीतको लेखनपक्षबारे विश्लेषण भएको देखिँदैन। प्रतिष्ठानबाटै संगीतबारे बौद्धिक तथा प्राज्ञिक लेखाइलाई प्राथमिकता दिनुपर्ने हो। यसले योजना बनाएर अगाडि बढ्नुपर्ने हुन्छ। सम्बन्धित संघ–संस्था तथा जिम्मेवार निकायको ध्यान यतातिर गएको देखिँदैन। त्यस्तै, विश्वविद्यालयबाट गीतलाई प्राज्ञिक हिसाबले हेरिन्छ, तर गीत लेखनलाई प्राथमिकतामा पनि राखिँदैन।

गीतको प्रस्तुति र व्यापारीकरणमै बढी ध्यान दिइएको देखिन्छ। गीतको स्तरीयताभन्दा पनि रातारात ‘पपुलर’ हुन खोजिन्छ। यसरी दीर्घकालीन रूपमा बाँच्न सकिँदैन। स्तरीय गीत दीर्घकालसम्म रहिरहन्छ।

माधवप्रसाद घिमिरेको ‘नेपाली हामी रहौँला कहाँ’ चर्चित राष्ट्रिय गीत हो। यो गीतपछि नै नेपाली राष्ट्रिय गीत लेख्ने र गाउने क्रम बढेको हो। गीतमा देशप्रेमको भाव जोडिएकाले बढी रुचाइएको हो।

भानुभक्तदेखि नै साहित्यमा देशभक्तिको भावना पस्कने चलन सुरु भएको हो। लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, मोतीराम भट्ट, बालकृष्ण समजस्ता साहित्यकारले विभिन्न कालखण्डमा देशप्रेम र देशभक्तिबारे लेख्दै यसको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए।

गोपाल योञ्जन, अमर गुरुङलगायत स्रष्टाले देशभक्ति गीत गाउन सुरु गरेका थिए। विभिन्न कालखण्डमा धेरै स्रष्टाले यस्ता गीत गाएका छन्। क्रान्तिका लागि रामेशले गाएको ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ निकै चर्चित गीत हो।
मैले धेरै गीत लेखेँ, ती रेकर्ड पनि भएका छन्। विशेष गरेर चलचित्रका लागि गीत लेखेको छु। चलचित्रको कथाले मागेअनुसारका गीतहरू लेखेँ। देशभक्ति र समसामायिक विषयमा मेरा थोरै गीत छन्। यस्ता गीतमध्ये केही रेकर्ड भएका छन्।

देशभक्ति गीतको व्यवसायीकरण गर्न रुचाइँदैन। मायापिरतीका गीतलाई नै बढी व्यवसायीकरण गरिन्छ। यसकारण, तुलनात्मक र संख्यात्मक हिसाबमा हेर्दा देशभक्तिका गीत निकै कम छन्।

पछिल्लो समय बजारमा राष्ट्रिय गीत अथवा देशभक्तिका गीत न्यून नै देखिन्छ। राष्ट्रभक्त, क्रान्ति, सामाजिक परिवर्तनका विषयमा गीतको स्तरीयता बढाउन नीतिगत रूपमै सोच्नुपर्ने देखिन्छ। यसका लागि नाट्य संगीत प्रतिष्ठान, राष्ट्रिय नाचघरलगायत संस्था नीतिगत रूपमा अगाडि बढ्नुपर्छ। राष्ट्रभक्तिका गीतलाई प्रोत्साहन, संरक्षण गर्न स्रष्टाहरुलाई  मद्दत पुग्छ। यसले भावी पुस्तालाई देशभक्तिका गीतमा भविष्य छ भनेर उत्साह दिन्छ।
(नागरिककर्मी ज्योति श्रेष्ठले गरेको कुराकानीमा आधारित।)

प्रकाशित: ४ माघ २०७६ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App