काठमाडौं– क्रिसमसका अवसरमा नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकले आइतबार ‘म्युजिक एन्ड फुड फेस्टिभल’ कार्यक्रम आयोजना गर्दै छ।
कार्यक्रम रुस्लान भोड्का र जोपो मोबाइलको सहकार्यमा हुन लागेको हो । जाउलाखेल चौरमा हुने कार्यक्रममा १९७४ एडी ब्यान्डले सांगीतिक प्रस्तुति दिनेछ । त्यस्तै, कार्यक्रममा गायक सुगम पोखरेल, अल्मोडा उप्रेती, कालीप्रसाद बास्कोटा, सविन राई एन्ड द फारोहले सांगीतिक प्रस्तुति दिनेछन् ।
‘क्रिसमस रमाइलो बनाउन सांगीतिक प्रस्तुतिसँगै खानाका परिकार दिनेछौँ,’ कार्यक्रमका व्यवस्थापक रितिक शाहीले भने, ‘संस्कृति साटासाटमा सकारात्मक सन्देश दिनेछ ।’
उनका अनुसार फुड फेस्टिभलका रूपमा विभिन्न परिकारका स्टल रहनेछन् । बालबालिकाको रमाइलोका लागि छुट्टै फनपार्कको व्यवस्था गरिएको छ ।
चाडपर्वमा मीठो परिकार खानु नेपालमा नौलो नभए पनि विशेष अवसरमा घरबाहिर मीठा परिकार खाँदै सांगीतिक माहोलमा झुम्न फेस्टिभलले अवसर दिने शाही बताउँछन् । बिहान ११ बजेदेखि सुरु हुने म्युजिक एन्ड फुड फेस्टिभल साँझ साढे ५ बजेसम्म चल्नेछ । फेस्टिभलमा प्रवेश निःशुल्क रहेको छ । क्रिसमस डे मनाउन जाउलाखेल चौरमा भेला हुन आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।
प्रकाशित: १० पुस २०७३ ०३:५२ आइतबार