coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

समृद्धिका लागि सहकार्य हुन्छ : उपप्रधानमन्त्री

काठमाडौं – नेपाल बिल्डटेक एक्स्पो, २०२० शुक्रबारदेखि भक्तपुरको सल्लाघारीमा सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेपाल निर्माण व्यवसायी महासंघको २१औं साधारणसभा तथा एक्स्पोको उद्घाटन गर्दै भौतिक पूर्वाधार निर्माणबिना समृद्ध नेपालको जग बसाल्न नसकिने उल्लेख गर्दै यसका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए।

‘अब भौतिक पूर्वाधार निर्माणबिना मुलुक समृद्धिको बाटोमा लम्किन सक्दैन। त्यसैले विकास निर्माणमा सबै राजनीतिक दल र निजी क्षेत्रले साझा अजेन्डा बनाएर अघि बढ्नुपर्ने भएको छ’, रक्षामन्त्री पोख्रेलले भने, ‘भौतिक पूर्वाधार निर्माणबिना समृद्ध मुलुकको परिकल्पना गर्न सकिँदैन। समृद्ध मुलुक निर्माणका लागि निर्माण व्यवसायीसँग सहकार्य गरी अघि बढ्न सरकार तयार छ। निर्माण व्यवसायीले माग गरेअनुसार नै खरिद नियमावली संशोधन गरेर काम गर्ने वातावरण सिर्जना गरिएको छ। अब निर्माण व्यवसायीले पनि इमानदारीपूर्वक काम गर्नुपर्ने बेला आएको छ।’

मन्त्री पोखरेलले सरकारले निर्माणमैत्री ऐन तथा कानुन ल्याएको दाबी गर्दै निर्माण व्यवसायीलाई आफूले जिम्मेवारी लिएका आयोजना तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न निर्देशन दिए। उनले समयमा नै निर्माण कार्य पूरा नहुँदा सबैलाई घाटा पुग्ने भन्दै यसतर्फ सजग हुन व्यवसायीलाई आग्रह गरे। निर्माण कार्यमा लापारबाही गर्ने व्यवसायीलाई सरकारले कडा कारबाही गर्ने चेतावनी दिए। ‘राम्रो काम गर्नेलाई सरकारले पुरस्कृत गर्नेछ,’ उनले भने, ‘नराम्रो काम गर्नेलाई सरकारले कारबाही गर्नेछ। त्यसैले सचेत भएर काम गर्नुहोला।’ मन्त्री पोखरेलले निर्माण व्यवसायीलाई आफ्नो कार्यक्षमता र योग्यतालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पनि सुझाए।

कार्यक्रममा सांसद तथा महासंघका मानार्थ सदस्य जिपछिरिङ लामा शेर्पाले निर्माण कार्य समयमा नै पूरा नहुनुमा निर्माण व्यवसायीको मात्र दोष नरहने भन्दै समयमा नै भुक्तानी नहुँदा धेरै असहज भएको बताए। ‘कुनै पनि आयोजना समयमा नै नसकिनुमा निर्माण व्यवसायी मात्रै दोषी छैनन,’ उनले भने, ‘अन्तर सरकारी निकायबीचको समन्वय अभाव र मुआब्जा तथा अन्य विविध कारणले कतिपया आयोजना तोकिएको समयमा सम्पन्न गर्न नसकिएको हो। तर, सम्पूर्ण दोष जति निर्माण व्यवसायीलाई थोपार्ने प्रवृत्ति छ।’

अर्का सांसद बहादुरसिंह लामाले निर्माण क्षेत्रमा गहन अनुसन्धान आवश्यक रहेको भन्दै व्यवसायीले मोबिलाइजेसन खर्चको दुरुपयोग नगरेको दाबी गरे।

नेकपाका नेता विजय पौडेलले आफ्ना समस्या खुला रुपमा राख्न व्यवसायीलाई सल्लाह दिए। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले व्यवसायीका समस्याबारे सरकार जानकार रहेको भन्दै समस्या छिट्टै समाधान हुने बताए।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले म्याद थप तथा बैंक क्रेडिट लाइनको समस्या समाधान भए पनि व्यवसायी अरु धेरै समस्या खेप्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। ‘निर्माण व्यवसाय चलायमान नहुँदा देशको अर्थतन्त्रमा नै समस्या आउने भएकाले निर्माण व्यवसायीका जायज माग पूरा गर्नुको विकल्प सरकारसँग छैन,’ अध्यक्ष सिंहले भने, ‘सरकारले सार्वजनिक खरिद नियमावली संशोधनमा निर्माण व्यवसायीलाई बेवास्ता गरेकाले अहिले विकास खर्च निकै कम भएको हो। त्यसैले हामी सरकारसँग सहकार्य गरेर अघि बढ्न चाहेका छौं।’

इफाप्काका अध्यक्ष मोहमद अली जनाहले राजनीतिक स्थिरताबिना विकासको परिकल्पना गर्न नसकिन बताए। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले नेपालका व्यवसायीले विविध चुनौती हुँदाहुँदै पनि उत्कृष्ट काम गरिरहेको दाबी गरे। नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वाधार विकासमा निर्माण व्यवसायीको भूमिकाको चर्चा गरे। महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, महासचिव रोशन दाहाल, उपाध्यक्ष हिरेन्द्र दाहाललगायतले ‘समृद्ध नेपाल सुखी नेपाली’ को अवधारणालाई मूर्त रुप दिने काम निर्माण व्यवसायीले मात्र गर्न सक्ने दाबी गरे।

कार्यक्रममा रक्षामन्त्री पोख्रेलले महासंघको मुखपत्र निर्माण विशेषांकको विमोचन गरे। कार्यक्रममा प्रदेशसभा सदस्यमा विजयी कृष्णलाल भँडेल र इफाप्का अध्यक्ष जनाहलाई सम्मान गरियो।

साधारण सभासँगसँगै महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इन्डियाको संयुक्त आयोजनामा भक्तपुर सल्लाघारी मैदानमा नेपाल बिल्डटेक एक्स्पो, २०२० पनि सुरु भएको छ। एक्स्पोमा निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित् एक सय ६० भन्दा बढी प्रदर्शनी कक्ष राखिएको छ।

प्रकाशित: ४ माघ २०७६ ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App