७ वैशाख २०८१ शुक्रबार
राजनीति

चुनाव व्यवस्थापन समितिको, झल्को स्थानीय तहको

च्यास्मिटार माविको व्यवस्थापन समितिको निर्वाचनपछि मतगणना गर्दै निर्वाचन मण्डलको टोली। फाइल तस्बिर : दमन राई/नागरिक

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माविको व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि सोमबार चुनाव भयो। दलीय समूह खडा गरी गरिएको चुनावमा सुरेशकुमार तामाङ १ सय ३१ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी ज्ञानबहादुर श्रेष्ठले ४५ मत पाए। नेकपा र समाजवादीको सहयोगमा व्यवस्थापन समितिका पूर्वअध्यक्ष तामाङले पुनः अध्यक्ष पद सुनिश्चित गरेका हुन्। श्रेष्ठ कांग्रेसको समर्थनमा चुनावी मैदानमा उत्रिएका थिए। तामाङले माछा चिह्न र श्रेष्ठले घडी चिह्न लिएर व्यवस्थापन समितिको निर्वाचनमा ढ्वाङ थापेका थिए। साम, दाम, दण्ड, भेदको नीति अपनाएरै व्यवस्थापन समितिको नेतृत्व हात पार्न लडेका उनीहरूको चुनावी प्रचार–प्रसार र घरदैलोले स्थानीय तहकै चुनावको झल्को दिन्थ्यो। पटक–पटक गरिएको छलफलले सहमतिमा व्यवस्थापन समिति बनाउने प्रयास असफल भएपछि उनीहरू लोकतान्त्रिक विधिबाट समिति चयन गर्ने निर्णयमा पुगेका हुन्। त्यसमाथि वडामा आफ्नो ‘प्रभाव र शक्ति’को मापन गर्न चाहने दलको उक्साहट पनि निर्वाचनको भित्री कारक बन्यो।

यस्तै, केपीलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माविको व्यवस्थापन समितिको नेतृत्व चयनका लागि मंसिर २० गते गरिएको निर्वाचनमा नेकपा समर्थित राजकुमार राईको प्यानल नै विजयी भयो। कांग्रेस समर्थित हिराकुमार बस्नेतको प्यानल पराजित भयो। दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित महेन्द्रोदय मावि ओख्रेको व्यवस्थापन समितिको मंसिर ११ गतेको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई पछि पार्दै नेकपाका उम्मेदवार केदार परियार विव्यास अध्यक्षमा विजयी भए। आफ्नो पार्टीको समर्थनमा विजयी बनेका उम्मेदवारलाई नेकपाका नेताहरूले तत्कालै सामाजिक सञ्जालबाट बधाई दिएका थिए।

केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको व्यवस्थापन समितिको चुनाव अझ रोचक छ। कात्तिक २० गते भएको व्यवस्थापन समितिको निर्वाचनमा वडासदस्य कुमारे राईको प्यानल नै पराजित भयो। स्थानीय तहको निर्वाचनबाट निर्वाचित राईले वडाध्यक्ष खगेन्द्र राईको समर्थनका बाबजुद व्यवस्थापन समितिको निर्वाचनमा लज्जास्पद हार बेहोर्न पुगे। वडा सदस्यको प्यानललाई हराउँदै हिमालभक्त राईको प्यानल नै विजयी भयो। नेकपा कार्यकर्ता रहेका उनीहरूबीच पार्टीगत नभई गुटगत लडाइँ भएको थियो।

यी त केही उदाहरण मात्र हुन्। जिल्लाका धेरैजसो विद्यालयमा दलीय आधारमा विव्यसको निर्वाचन र गठन भइरहेको छ। आफ्नो शक्ति परीक्षण तथा व्यवस्थापन समिति, विद्यालय र सिंगो वडामा आफ्नो ‘पकड’ जमाउने भित्री स्वार्थ बोकेका दलहरूका कारण विद्यालयमा अनपेक्षित निर्वाचन हुने गरेको अभिभावकहरू बताउँछन्। विव्यसमा हुने दलीय लडाइँ गुणस्तरीय शिक्षाको प्रबन्धमा बाधक हुने जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङको भनाइ छ। ‘सर्वसम्मत विव्यस गठन गर्नु सबैभन्दा राम्रो हो। लोकतान्त्रिक विधि अपनाउँदा शैक्षिक संस्थालाई फाइदा गर्दैन,’ जिसस प्रमुख चाम्लिङले भने, ‘हरेक निकायमा आफ्नै पार्टीको मान्छे हुनुपर्छ भन्ने मान्यता राख्नु उचित होइन।’

राजनीतिक दलहरूमा जुनसुकै निकायमा पनि आफ्नो प्रभाव हुनुपर्ने गलत प्रवृत्ति बढेको छ। सबै निकायलाई आफ्नो ‘वश’मा राख्नुपर्छ भन्ने प्रवृत्तिले व्यवस्थापन समितिलाई पनि गाँजेको हो। विशुद्ध शैक्षिक उद्देश्य बोकेका विद्यालयमा हुने राजनीतिक गतिविधिले शैक्षिक उपलब्धि प्राप्तिमा बाधा पुग्ने पूर्व जिविस सभापति विष्णुकुमार राई बताउँछन्। ‘अहिले जहाँ पनि जेमा पनि राजनीतीकरण देखिन्छ। कहाँ कति हाम्रो भोट छ भनेर हेरिन्छ, यो राम्रो होइन,’ कांग्रेस महासमिति सदस्य रहेका राईले भने, ‘विद्यालय भनेको विशुद्ध शैक्षिक संस्था हो। यसलाई राजनीति गर्ने थलो बनाइनु हुँदैन। राजनीतिक नेतृत्वले पनि यसबारे ध्यान दिन जरुरी छ।’

दलीय आधारमा चयन हुने व्यवस्थापन समितिका पदाधिकारीले फरक पार्टीमा आस्था राख्ने प्रअ, शिक्षक तथा कर्मचारीलाई नियन्त्रणमा राख्न नसक्ने समस्या निम्तिने खतरा छँदै छ। अर्कातर्फ आफूनिकटका शिक्षक कर्मचारीलाई गल्ती गरे पनि बचाउ गर्नुपर्ने दबाब पनि हुन्छ। त्यसकारण शिक्षाविकासमा दल, समूह र जातिगत आधारमा विभाजित हुन नहुने पूर्व जिविस सभापति राईले बताए।

प्रकाशित: ४ माघ २०७६ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App