८ वैशाख २०८१ शनिबार
राजनीति

६० औँ वर्षगाँठमा सांस्कृतिक कार्यक्रम

नेपाल–जापान मित्र सम्बन्धको ६०औँ वर्षगाँठको अवसरमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै जापानी कलाकार

काठमाडौं– नेपाल–जापान मैत्री सम्बन्धको ६०औँ वर्षगाँठका अवसरमा राजधानी काठमाडौं तथा भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।

दुई मुलुकबीचको सम्बन्धलाई अझ प्रगाढ र भव्य बनाइराख्न जापानका र नेपालका ख्यातीप्राप्त कलाकारबाट सांस्कृतिक कार्यक्रम, वृक्षारोपण र हावाबाट विद्युत् उत्पादन परीक्षण लगायत कार्यक्रम गरिएका छन् । यही डिसेम्बरसम्म आयोजना गर्ने तय गरिएका ती कार्यक्रममा सहभागी हुन जापानबाट आएको टोली शनिबार स्वदेश फर्केको छ । डिसेम्बर १६ मा जापानबाट आएको कलाकार टोलीले विभिन्न ठाउँमा निकै पुराना सांस्कृतिक कार्यक्रम प्रस्तुत ग¥यो ।

जापानबाट कलाकार ल्याएर विभिन्न कार्यक्रम गर्न जापानको सिजुओकामा २६ वर्षदेखि बस्दै आएका पाटन निवासी नरेश महर्जनले सहयोग गरेका थिए । महर्जनका अनुसार जापानी कलाकारको समूहले चार सय २० वर्ष पुरानो सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो । जापानका थुप्रै फिल्ममा प्रदर्शन गरिसकेका कलाकार सेनवकाको टोलीले नेपालमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न पाउँदा हर्ष व्यक्त ग¥यो ।
सोही अवसरमा जापान इनर्जी सुरक्षा संघ (जिसा) का इत्स्यो किरिहाराको पहलमा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा हावाबाट विद्युत् निकाल्ने प्रविधिको परीक्षण गरियो ।

लोडसेडिङ भइरहेका बेला उक्त प्रविधि सफल भए ऊर्जा प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त प्रविधिबाट कति ऊर्जा उत्पादन हुन्छ भन्नेबारे जापानबाट थप प्रविधि ल्याएर केही महिनापछि पुनः कार्यक्रम अघि बढाइने सिजुओका गभर्नरका गुडविल दूतसमेत रहेका महर्जनले जानकारी दिए । उनले नेपालमा शक्तिशाली भूकम्प गएयता बुङ्मतीको त्रिरत्न विद्यालय र पाटनको सामुदायिक भवन निर्माणमा आफू र जापानिज नागरिकबाट चन्दा संकलन गरेर करिब ४० लाख रुपैयाँ सहयोग भइसकेको बताए । ६०औँ वर्षगाँठकै अवसरमा द इडो डाइकागुरा समूहले नेपाल–जापान सम्बन्धबारे पुस्तकसमेत प्रकाशन गरेको छ ।


 

प्रकाशित: १० पुस २०७३ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App