coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राजधानीमा अझै बनेन विपत् व्यवस्थापन केन्द्र

काठमाडौंको तिनकुनेमा रहेको खुलाचौर। तस्बिरः हिमाल लम्साल

काठमाडौं– सरकारले गत वर्षको भूकम्पअघि नै काठमाडौं, भक्तपुर र ललितपुरमा विपत् व्यवस्थापन केन्द्र स्थापना गर्ने निर्र्णय गरे पनि अझै कार्यान्वयन भएको छैन ।

मन्त्रिपरिषद्को बैठकले ०६९ वैशाख १४ गते विपत्को समयमा तत्काल शिविर खडा गरेर पीडितलाई मानवीय सहयोग, राहत तथा उद्धार कार्यक्रम सञ्चालनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका ८३ ठाउँमा अत्यावश्यक संरचना निर्माण गर्ने निर्णय गरेको थियो । काठमाडौंमा ४५ स्थानमा ललितपुरमा १९ र भक्तपुरमा १९ स्थानको सार्वजनिक जग्गालाई विपत् व्यवस्थापन केन्द्र बनाउने लक्ष्य राखिएको छ । तर, सरकारले निर्णय गरेको चार वर्ष बितिसक्दा समेत अझै काम सुरु हुन सकेको छैन ।

सरकारी निकायको ढिलासुस्तीले खुलाचौरमा विपत् व्यवस्थापनका लागि आवश्यक पर्ने संरचना निर्माण हुन नसकेको हो । जसकारण गत वर्ष वैशाख १२ को भूकम्प र त्यसपछिका  परकम्पमा सर्वसाधारणले सार्वजनिक चौरको उपयोग गर्नुप¥यो ।

काठमाडौंमा तिनकुनेचौर, टुँडिखेल सानोगौचर, युएनपार्क, सिफलचौर, गोकर्ण गल्फ साइट, चोभार भूतखेल, त्रिभुवन विश्वविद्यालय वागमती बगर खुला क्षेत्र लगायत स्थानमा विपत् व्यवस्थापन केन्द्र बनाउने सरकारी योजना छ ।
गृह मन्त्रालय विपत् व्यवस्थापन महाशाखाका सहसचिव कृष्ण राउतले भूकम्पपछि राहत वितरण र पुनर्निर्माणमा सक्रिय हुँदा खुलाचौरको विपत् व्यवस्थापनमा जुट्न नपाएको दाबी गरे । ‘भूकम्पलगत्तै उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर जुट्यौँ । जसले गर्दा खुला क्षेत्रको विपत् व्यवस्थामा जुट्ने मौका नै मिलेन,’ उनले भने, ‘खुला क्षेत्रमा विपत् व्यवस्थापनका लागि छिटै भौतिक संरचना बनाउने  तयारीमा जुट्नेछौँ ।’
विपत् व्यवस्थापनका लागि के के पूर्वाधार बनाउने विषयमा छलफल भइरहेको उनले बताएका छन् । ‘विपत् व्यवस्थापनका लागि ठूला–ठूला संरचना बन्ने होइन्,’ उनले भने, ‘विपत्का समयमा अत्यावश्यक हुने सामान्य पूर्वाधार बनाउने हो ।’
सहरी विकास मन्त्रालय र स्थानीय निकायसँगको समन्वयमा विपत् व्यवस्थापन केन्द्र बनाउने लक्ष्य राखिएको छ । विपत् व्यवस्थापन केन्द्रमा खानेपानी, शौचालय, प्राथमिक उपचार केन्द्र र उद्धारका बेला आवश्यक पर्ने अत्यावश्यक  सामग्री तथा औजार राखिनेछ ।
काठमाडौं उपत्यका विकास प्राधिकरण प्रवक्ता केशवप्रसाद भण्डारी खुलाचौरमा विपत् व्यवस्थापनसम्बन्धी गुरुयोजना नहुँदा पूर्वाधार निर्माणमा ढिलाइ भएको बताउँछन् ।
‘खुला स्थानमा विपत् व्यवस्थापनका लागि कस्तो पूर्वाधार बनाउने अझै टुंगो लागेको छैन । जसकारण निर्माणमा ढिलाइ भएको हो,’ उनले भने ।
प्राधिकरणले सार्वजनिक जग्गा संरक्षणको काम गरिरहेको उनले बताए । उनका अनुसार प्राधिकरणले नक्सालको नारायणचौरमा रहेको नन्दीकेश्वर बगैंचा निर्माण सम्पन्न गरेर स्थानीय समुदायमा हस्तान्तरण गरिसकेको छ । ललितपुरको बालकुमारीमा रहेको गोकुलेश्वर चौरलाई व्यवस्थित गर्न प्राधिकरण लागिरहेको प्रवक्ता भण्डारीको भनाइ छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका इन्जिनियर भागवतभक्त खोखालीले विपत् व्यवस्थापनका लागि आठ करोड र सार्वजनिक जग्गा संरक्षणका लागि १६ करोड रुपैयाँ छुट्याइएको जानकारी दिए । उनका अनुसार प्राधिकरणले विभिन्न १२ सार्वजनिक स्थानको संरक्षणको कार्य गरिरहेको उनले बताए ।

 

प्रकाशित: १० पुस २०७३ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App