५ वैशाख २०८१ बुधबार
समाज

श्रीमानको उद्धार, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता

नदीमा हेलिनुअघि खोला किनारमा छाडेको झोला । जमुनाको शव फेला परेको ठाउँमा मुचुल्का गर्दै इलाका प्रहरी कार्यलय गजुरीको टोली । तस्बिर: नागरिक

धादिङ- थानकोटका विनय लामिछाने बिहीबार साँझ सपरिवारै धादिङको बेनिघाटस्थित त्रिशुली नदिमा हेलिए। काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं ४, थानकोट बस्दै आइरहेकाका लामिछाने, उनकी पत्नी २७ वर्षीया जमुना रेग्मी लामिछाने र दुई नाबालक छोरासहित नदीमा डुबे। विनयलाई स्थानीयले उद्धार गरे भने जमुना मृत भेटिइन्। उनीहरुका दुई वर्षे र छ महिने छोराहरु बेपत्ता छन्।

आफन्तका अनुसार जमुनाको सानो छोराको शुक्रबार भात खुवाइ (पास्नी) थियो। चन्द्रागिरिस्थित घरमा सुत्केरो परेको हुनाले जमुनाको माइतीमा पास्नी गर्ने योजना अनुरुप उनीहरु बिहीबार नै धादिङ तर्फ आएका थिए। तर माइती रहेको आदमघाट बजारमा नझरीकन उनीहरु झण्डै ५० किलोमिटर पर बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ बाँदरेमोड भन्ने ठाउँमा ओर्लिएका थिए। घटनास्थलमा प्रहरीले भेटेको झोलाभित्र बच्चाको पास्नीका लागि ल्याइएको कपडाहरु, हातमा लगाउने बालाहरु थिए।

त्रिशुली नदीमा पस्नुअघि लामिछाने दम्पतीसँग प्रत्यक्ष भेटेकी बाँदरेमोडमा होटल सञ्चालक बदनकुमारी श्रेष्ठका अनुुसार सिमसिम पानीमा बच्चा बोकेर यताउती गरिरहेका थिए। पारी जाने बाटो पनि खोजी रहेको उनले बताइन्। ‘मेरो बहिनीको घरमा उनीहरुले नै ल्याएको दुध तताएर सानो छोरालाई खुवाए, त्यसपछि नजिकैको झोलुङगे पुल तरेर उनीहरु पारि गएका थिए’, उनले भनिन्, ‘एकै छिनमा मान्छे बगायो–बगायो भन्ने हल्ला आयो, हत्तपत्त यहाँकै स्थानीय कायक लिएर दगुरे, तीनै दम्पती पो रहेछन्।’

घटनापछि प्रहरीले लामिछाने परिवारको घरबाट सुसाइड नोट समेत भेटेका छन्। ऋणका कारण आफूहरुले आत्महत्यालाई नै अन्तिम विकल्पका रुपमा रोजेको सुसाइड नोट भेटिएको प्रहरीले बताएको छ। मिटरब्याजमा लिएको पैसा तिर्न नसक्ने अवस्थामा पुगेपछि दम्पती सल्लाहमा नै त्रिशूलीमा हेलिएको प्रहरीको भनाइ छ। मकवानपुरको चित्लाङमा जन्मेमा लामिछाने हाल चन्द्रागिरी नगरपालिका अन्तर्गत थानकोटमा बस्दै आएका थिए। उनीहरुले तिनकुनेस्थित कमोडिटी अनलाइन व्यापारमा सेयर लगानी गरेका थिए।

सेयर लगानी गर्न विभिन्न व्यक्तिहरुबाट मिटर ब्याजमा करिब दुई करोड ऋण लिएको थानकोटस्थित घरबाट प्रहरीले फेला पारेको ‘सुसाइड नोट’बाट पत्ता लागेको प्रहरीले जनाएको छ। उनीहरुले ऋण लिएको रकम र ऋण दिने व्यक्तिको नाम र तिर्नुपर्ने रकम उल्लेख गरिएको घरमा छोडेको लिखतमा फेला परेको प्रहरीले बताएको छ। माघ २ गते लेखेर घरमा छोडिएको सुसाइड नोटमा विभिन्न व्यक्तिको नामसमेत उल्लेख गरिएको छ।

स्थानीयले जीवितै उद्धार गरेका विनयलाई धादिङ प्रहरीले अनुसन्धान थालेको छ। विनयले अनुसन्धानका क्रममा प्रहरीलाई बेनिघाट र गोरखा जोड्ने झोलुङगे पुल तरिसकेपछि सपरिवार त्रिशुलीमा हेलिएको बताएको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए। ‘विनयले व्यवसायमा घाटा र ठूलो परिमाणमा ऋण लागेपछि आत्महत्याको प्रयास गरेको प्रहरी समक्ष बयान दिएका छन्’, एसपी रेग्मीले भने, ‘बिनय इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।’

मृतक जमुनाले आफ्नो अंग्रेजी नाम उल्टो बनाएर फेसबुकमा पुस १९ गते लेखेको स्टाटसमा मिटर ब्याजमा रकम लिएको र सोको ब्याज र साँवा भुक्तानी गर्न रकम धनीले दबाब दिएको उल्लेख गरेकी छन्। जमुनाले चलाएको ‘इम्गिर अनुमाज’ नामक फेसबुक एकाउन्टमा गत जनवरी ४ मा मिटर ब्याजमा पैसा लगाउने अनि ऋणीले भनेको समयमा तिर्न नसके डब्बर, त्रिबल बनाउने अनि ऋणीलाई मर्न बाध्य बनाउने गिरोहलाई कारबाही गर्न फेसबुक मार्फत थानकोटमा प्रहरीलाई आग्रह गरेकी थिइन्।

विनयलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताए। बेपत्ताहरुको शुक्रबार बिहानैबाट खोजी कार्य जारी रहेको छ। त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाई भएको छ।

 

 

प्रकाशित: ३ माघ २०७६ ११:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App