६ वैशाख २०८१ बिहीबार
समाज

जीवित देवी कुमारी पूज्नेे फरक परम्परा

ललितपुरकी कुमारी

ललितपुर– काठमाडौं, ललितपुर र भक्तपुरमा जीवित देवी मानिने कुमारीका आ–आफ्नै परम्परा छन् । कुमारी मान्ने बेग्लै परम्पराले पनि उपत्यकाका तीन जिल्लाको विविधता झल्काउँछ । त्यसो त कुमारी मान्ने केही धार्मिक परम्परा भएजस्तै कुमारीलाई दिइने सेवा–सुविधा र परम्परा पनि तीन जिल्लामा फरक पाउन सकिन्छ ।

काठमाडौंकी कुमारीको सेवा–सुविधा तथा परम्परा अन्य जिल्लाको भन्दा फरक छ, उनले अहिले ४० हजार तलब पाउँछिन्

जीवित कुमारीको परम्परालाई कोट्याउँदा मल्ल राजाको पालामा उपत्यकाका तीन जिल्लामा कुमारी राख्ने परम्परा एकै किसिमको रहेको पाइन्छ ।

जीवित कुमारी राख्ने परम्पराबारे भक्तपुर तलेजु मन्दिरका मूल नायक नरेन्द्र जोशी भन्छन्, ‘मल्ल राजाको पालामा उपत्यकाका तीन जिल्लामा कुमारी राख्ने परम्परा एउटै थियो तर अहिले आएर फरक बनेको छ ।’
उनका अनुसार नेपाल संवत ६११ मा भक्तपुरका राजा राय मल्लले भक्तपुरबाट कुमारी राख्ने प्रथा सुरु गरेको थिए । पछि आएर राजा जगतज्योति मल्लले जीवित कुमारीको परम्परालाई व्यवस्थित गर्दै काठमाडौं र ललितपुरमा कुमारी राख्ने परम्परा सुरु गरेका थिए । उपत्यकाका तीनै जिल्लामा हरेक दिन बेलुकी कुमारीको स्याहारसुहार गर्ने व्यक्तिले कुमारीको नित्यपूजा गर्नुपर्ने चलन छ ।
समय परिवर्तन हुँदै जाँदा कुमारी मान्ने परम्परामा पनि केही फेरबदल देखिएको छ ।
 

काठमाडौंकी कुमारी

काठमाडौंकी कुमारीको सेवा र सुविधा तथा परम्परा अन्य जिल्लाको भन्दा फरक छ । उनले अहिले ४० हजार तलब पाउँछिन् । उनको यो तलब तीनै सहरमध्येकै सबैभन्दा बढी हो । उक्त तलब काठमाडौं उपमहानगरपालिका, गुठी संस्थान र निवृत्तिभरण व्यवस्थापनबाट आउँछ । अरु जिल्लाको तुलनामा यहाँकी कुमारीले मान्नुपर्ने परम्परा पनि फरक छन् । काठमाडौंमा शाक्य वंशको परिवारबाट कुमारी रहने चलन छ । यहाँ १८ वटा शाक्य टोल छन् । तीनै टोलमध्येबाट कुमारी छान्दा जन्मकुण्डली, उमेर, पारिवारिक अवस्था, कुमारीको गुण लगायतलाई हेर्ने चलन छ भने कुमारीको उमेर सात वर्षभन्दा कम हुनुपर्छ । त्यस्तै, यहाँकी कुमारीलाई परिवारले नै स्याहारसुहार तथा पठनपाठन गराउनुपर्ने व्यवस्था रहेको काठमाडौं गुठी संस्थानका प्रशासक नारायणप्रसाद चौधरी बताउँछन् । उनी भन्छन्, ‘यहाँकी कुमारीले सरकारी सेवा–सुविधा अन्य जिल्लाकी कुमारीले भन्दा बढी पाउँछिन् । यहाँ कुमारी छान्दा परम्परागत शैलीकै आधारमा छानिन्छ ।’
अहिले यहाँकी कुमारीले तीन कक्षामा अध्ययन गर्छिन् ।
 

ललितपुरकी कुमारी

ललितपुरमा कुमारी बाहिर निस्कन मिल्दैन । उनलाई स्याहारसुहार आफ्नै बाबुले गर्नुपर्ने र शिक्षा पनि कुमारीघरबाटै दिनुपर्ने परम्परा रहेको ललितपुर गुठी संस्थान शाखा प्रमुख बैकुण्ठ आचार्य बताउँछन् । उनी भन्छन्, ‘हामीकहाँ नयाँ कुमारी नियुक्ति हुँदा पुरानै सम्प्रदायबाट छान्ने गरिन्छ ।’
ललितपुरको ऐतिहासिक रातो मछिन्द्रनाथको भोटो देखाउँदा कुमारीलाई पनि सोही स्थानमा लगेर भोटो देखाउने परम्परा पनि छ ।’ आचार्यका अनुसार यहाँकी कुमारीको तलब मासिक आठ हजार रुपैयाँ छ । ललितपुरमा शाक्य र बज्राचार्य समुदायबाट कुमारी राख्ने चलन छ भने पाटनस्थित रत्नानगर विहारमा कुमारीलाई राखिन्छ ।
 

भक्तपुरकी कुमारी

यहाँ शाक्य र बज्राचार्य परिवारका सन्तानमध्ये तलेजु मन्दिरका मूल नाइकेले कुमारी छनोट गर्ने चलन रहेको भक्तपुर गुठी संस्थान शाखा प्रमुख लेखनाथ सापकोटा बताउँछन् । काठमाडौं र ललितपुरकी कुमारीलाई भन्दा यहाँकी कुमारीलाई केही स्वतन्त्रता छ । यहाँकी कुमारी स्कुल जान, मामाघर जान, तथा साथीभाइ भेट्न पाउँछिन् भने काठमाडौं र ललितपुरकी कुमारीलाई यो छुट्कारा  नभएको भक्तपुर तलेजु मन्दिरका मूल नायक नरेन्द्र जोशीले बताए । ‘काठमाडौं र ललितपुरमा भन्दा यहाँकी कुमारी स्वतन्त्र छिन् तर तलब भने अत्यन्तै थोरै चार हजार एक सय रुपैयाँ मात्र छ,’ उनले भने ।
यहाँकी कुमारी दसैँ सुरु हुनुभन्दा पहिलेको आइतबार वा बिहीबारको साइत पारी १५ दिन भक्तपुर दरबार प्रशन्नशील महाविहारसँगै रहेको कुमारी घरमा बस्नुपर्ने प्रचलन रहिआएको छ भने कुमारीलाई हरेक दिन उनका बाबुले पूजा गर्ने चलन छ । भक्तपुरमा ११ वर्षसम्म कुमारी रहन सक्ने र पुरानी कुमारीको बेल विवाह भएपछि नयाँ कुमारी छनोट गरिन्छ । तीनै जिल्लामा महिनावारी नभएसम्म कुमारी रहन पाउने परम्परा छ ।

 

प्रकाशित: १० पुस २०७३ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App