६ वैशाख २०८१ बिहीबार
राजनीति

जनताको आवश्यकता अनुसार अस्पताल चल्नुपर्छ : मन्त्री ढकाल

शिविरलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल । तस्बिर:विनोद/नागरिक

दुलेगौँडा- तनहुँको बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई व्यवस्थित अस्पताल बनाउन जरुरत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन्। ‘अस्पतालको सम्भावना निकै छ’, उनले भने, ‘केन्द्र सरकारका तर्फबाट अस्पताललाई नाम अनुसारको काम गर्न साथ मिल्नेछ। अस्पताललाई व्यवस्थीत गर्न कानुनमा अस्पष्टता छ भने त्यसलाई प्रष्ट पार्नेछौँ।’

के कारणले जनताको भावना अनुरुपको अस्पतालले सेवा दिएको छैन, त्यसलाई बुझेर जनताको आवश्यकतालाई परीपुर्ती गर्ने उनको भनाइ छ। जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले अयोजना गरेको तीन दिने निःशुल्क स्वास्थ्य शिविरको शुक्रबार उद्घाटन गर्दै मन्त्री ढकालले अस्पताललाई चाहिने स्वास्थ्यकर्मीको दरबन्दीको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए। 

उनले अस्पतालको काठमाडौँमा भएको सम्पर्क कार्यालय हटाउने बताएका छन्। ‘महिनाको ५० हजार भन्दा बढी तिरेर काठमाडौँमा सम्पर्क कार्यालय खोलिएको रहेछ। त्यो कार्यलयलाई छिट्टै व्यवस्थित गरिन्छ। सम्पर्क कार्यालय चाहिए स्वास्थ्य मन्त्रालयमै एउटा कोठा दिन्छौँ’, उनले भने, काठामाडौँमा गुड्ने गाडी अब यहीँको सडकमा गुड्छ। उनले अस्पताल परिसरमा रहेको ७४० रोपनी जग्गालाई अतिक्रमण हुन नदिन निर्देशन दिएका छन्।

आईतबारसम्म चल्ने शिविरमा श्वासप्रश्वास, पाठेघरको मुखको क्यान्सर परिक्षण, जनरल मेडिसिन सेवा, बालरोगको विशेषज्ञ चिकित्सकद्वाारा सेवा दिईने अस्पतालका निर्देशक रामकुमार श्रेष्ठले बताए। बिरामीलाई निःशुल्क ल्याब परिक्षण, एक्सरे, भिडियो एक्सरे र औषधि वितरण हुने उनले बताए। 

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुदाँ २०६७ सालमा पूर्व प्रधानमन्त्री स्वर्गिय गिरीजाप्रसाद कोइरालाको स्मृतीमा शुक्लागण्डकी–५ बेलचौतारामा राष्ट्रिय स्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरिएको थियो। सरकारको निर्णयपश्चात बेलचौतारामा सञ्चालित सेतीगंगा सामुदायिक अस्पतालको स्वामित्व जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको हो।

अन्तराष्ट्रिय स्तरको श्वासप्रश्वास उपचार केन्द्र सञ्चालन हुने आशामा हस्तान्तरण गरेको अस्पतालले श्वासप्रश्वासको उपचारका निम्ति हालसम्म पनि छुट्टै यूनिट सञ्चालन गर्न सकेको छैन।

 

प्रकाशित: ३ माघ २०७६ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App