coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिमपातले कर्णालीको जनजीवन कष्टकर (फाेटाेसहित)

हिमपातकोे दृश्य । धनबहादुर/नागरिक

जुम्ला- कर्णालीमा भारी हिमपात भइरहेको छ। हिमपातका कारण त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको छ। कर्णालीको हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लामा हिमपात जारी नै छ। कर्णालीमा यो पटक गरेर सातौँ पटक हिमपात भएको हो। एक दिन निरन्तर बर्षा भए पनि हिउँ जम्न थालेको स्थानीय बताउँछन्। हिमपात र बर्षाले कठ्याङ्ग्रिँदो चिसो बढ्दै गएको छ। चिसोले बालबालिका र बुढाबुढी बढि  प्रभावित भएका छन्।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमाल निरन्तरको हिमपातले जनजीवन निकै सकसपूर्ण रहेको बताउँछन्। हिमपातको समयमा जिल्लाबासीलाई बाहिर नजान र लामो यात्रा नगर्न सुझाव दिएको उनले बताए।  हिमपातले मोबाइल, टेलिफोन  तथा इन्टरनेटले काम गर्न सकेको छैन। कर्णालीको जुम्लाबाट लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन। हुम्ला, मुगु, डोल्पा र जुम्लामा हवाई यातायात दुई दिनदेखि ठप्प छ। हिमपातले दैनिक उपभोग्य सामान लिएर आउजाउ गर्न सकेका छैनन। चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युतका पोल ढल्ने तथा तार चुँडिने समस्या बढेको छ।

जुम्ला तिला गाउँपालिका ९ का शेरबहादुर बोहोरा बरफ जमेर धारा बन्द हुँदा खानेपानी समस्या भइरहेको बताउँछन्। 'धारोमा पानी निकाल्न तातोपानी तत्याएर हाल्नु परिरहेको छ।' उनले भने,‘पानीको विकल्पमा हिउँ पगाल्ने काम भइरहेको छ।' दुर्गम तथा उच्च हिमाली क्षेत्रमा दुई फिटसम्म हिउँ परिरहेको छ। तल्लो क्षेत्रमा हिउँपानी परिरहेको छ।जाडो मौसममा बर्षेनी हिमाली जिल्लाका अधिकांश युवा कालापहाड जाने गर्छन्। यहाँ रहने ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई समस्या भइरहेको छ।  हिमपातले बिस्कुन सुकाउन पिठो पिस्न, वस्तुभाउलाई घाँसपात, घरमा बाल्ने दाउरा प्रबन्ध गर्न कठिन भइरहेको स्थानीयबासी बताउँछन्।

अध्ययनका लागि सदरमुकाम तिर झरेका विद्यार्थीको पठनपाठन गर्न निकै समस्या भइरहेको छ।  सरकारी कामकाज नियमित कामकाज हुन सकेको छैन। सेवाग्राही न्यून उपस्थिती भए पनि आगो बालेर सेवा दिइरहेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे बताउँछिन्।  यहाँका हरेक कार्यालयमा आगो तापेर कामकाज भइरहेको उनले बताइन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लाबासीलाई चिसोमा न्यानो कपडा लगाउन, घरबाहिर ननिस्कन र प्राकृतिक तथा मानवीय विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना गरेको छ।

हिमपातको समयमा गरिब घरपरिवार, ज्येष्ठ नगारिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोका कारण हुने भाइरल रुघाखोकी, न्यूमोनिया, दमको रोगबाट बच्नका लागि न्यानोमा बस्न, बिरामीलाई नियमित औषधि सेवन गर्न, झोलिलो तथा तातो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन्। बिहीबार बिहानदेखि पानी पर्न सुरु गरेकोमा रातिदेखि हिउँ पर्न थालेको थियो। बिहानदेखि सडक यातायात ठप्प हुँदा यात्रुहरु अलपत्र परेका छन्। जुम्लाका एक नगरपालिकासहित आठवटै स्थानीय तहमा हिमपात भइरहेको छ। हिमपातले नाग्मगमगडी सडक ठप्प छ।

 

हिमपातकोे दृश्य । धनबहादुर/नागरिक
हिमपातकोे दृश्य । धनबहादुर/नागरिक
हिमपातकोे दृश्य । धनबहादुर/नागरिक
हिमपातकोे दृश्य । धनबहादुर/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App