coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बंगलादेश आक्रमणको सन्देश

काठमाडौं–धर्मनिरपेक्षताको पक्षमा रहेका विभिन्न व्यक्तिमाथि एकपछि अर्को आक्रमण हुँदै आएको बंगलादेशमा शुक्रबार राति इस्लामिक आतंकवादी समूहले ठूलो आक्रमण गरेको छ । राजधानी ढाकाको सबैभन्दा सुरक्षित क्षेत्र मानिने गुलसनमा भएको आक्रमणले आतंकवादीले चाहे बंगलादेशमा आक्रमण गर्न नसक्ने ठाउँ छैन भन्ने सन्देश दिएको छ ।

सुरक्षाफौजले त्यहाँ करिब १२ घन्टापछि ६ बन्दुकधारीलाई मारेको छ तर त्यसअघि नै बन्धक बनाइएका २० विदेशी नागरिकलाई बन्दुकधारीले धारिलो हतियार प्रयोग गरेर हत्या गरिसकेका थिए । विश्वभर इस्लामिक शासन कायम गर्ने नीति लिएको इस्लामिक स्टेट (आइएस) ले घटनाको जिम्मेवारी लिएको छ । सिरिया र इराकमा कतिपय भूभाग नै कब्जा गरेर बसेको आइएसको प्रभाव विश्वभर देखिएको छ ।

सन् २०१४ मा अस्तित्वमा आएको आइएसले मुसलमानको पवित्र महिना रमदानको अवसरमा एक्लाएक्लै वा सामूहिक जसरी हुन्छ आफ्नो धर्मभन्दा फरक आस्था राख्नेमाथि आक्रमण गर्न आह्वान नै गरेको छ । त्यसैलाई मान्दै विभिन्न स्थानमा आक्रमण भइरहेका छन् । ‘विश्वभर कलिफाट (इस्लामिक शासन) स्थापनाको उद्देश्य लिएको आइएसले संवेदनशील स्थानलाई निसाना बनाउँदै आएको छ,’ सुरक्षा मामिलाविज्ञ दीपकप्रकाश भट्टले नागरिकसँग भने, ‘उनीहरूको प्रभाव विभिन्न स्थानमा  परेको देखिन्छ ।’

त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय  सम्बन्ध तथा कूटनीति विभागमा सुरक्षा विषय पढाउँदै आएका भट्टले अफ्रिकाको माली, युरोपको फ्रान्स, बेल्जियम, टर्कीमा ठूला आक्रमण भएको जनाए । ती सबै आक्रमण निकै योजनाबद्ध र संगठित रुपले भएको देखिएको छ । अमेरिकाको ओर्लान्डोस्थित एक रात्रिक्लबमा एक बन्दुकधारीले आक्रमण गरी ४९ जनाको हत्या गरेको थियो ।

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले नजिकै आइपुगेको आतंक बुझ्न आवश्यक भएको बताएका छन् । ‘बंगलादेशभन्दा अघि नेपाल पनि हुन सक्थ्यो, उनीहरूको काम आतंक फैलाउने हो, बाघले छिमेकीको बाख्रा खायो, मेरो खाएन भन्ने हुँदैन,’ शर्माले भने, ‘नेपालजस्तो सुरक्षा खुकुलो भएको ठाउँ आतंक फैलाउनेका लागि सजिलो हुन्छ । त्यस्तो आक्रमणबाट कसरी जोगिने हो, त्यस विषयमा सोच्नुपर्छ ।’

आइएसले स्थानीय रूपमा सक्रिय भएको कुनै अतिवादी समूहलाई पहिलो प्रयोग गरेको देखिएको छ । उक्त समूह उनीहरुको योजनाअनुसार अघि बढेन भने आक्रमणमा समेत पर्ने गरेको छ । करिब १५ दिनअघि अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रतिवेदनमा समेत नेपालमा इन्डियन मुजाहिद्दिनको प्रभाव बढ्दै गएको उल्लेख छ ।

माल्दिभ्समा पनि आइएसको प्रभाव विस्तार भएको र भारतबाट सयौं व्यक्तिलाई भर्ना गरिसकेको सुन्नमा आएको शर्माले बताए । ‘हामी सतर्कभन्दा अघिल्लो चरणमा भोलि हुनसक्ने सम्भावित घटनाको कसरी सामना गर्ने भनेर तयार रहनुपर्ने अवस्थामा छौं,’ सुरक्षा मामिलाविज्ञ दीपकप्रकाश भट्टले नागरिकसँग भने, ‘सबै सुरक्षा निकायबीच यस्तो आक्रमणलाई कसरी विफल बनाउने भन्ने विषयमा समन्वयमा काम हुनुपर्ने आवश्यकता देखिन्छ । तर, हाम्रोमा पूर्वतयारी भन्दा प्रक्रिया पु¥याउने मात्रै काम हुने गरेको छ ।’ बंगलादेशमा पनि त्यस्तै भएको उनले बताए ।

उनका अनुसार नेपालमा तरिकाको अवस्थाले आक्रमणकारी आत्मघाती नभई आक्रमण गरेरै फरार हुनसक्ने अवस्था छ । गुलसन आक्रमणपछि बंगलादेशमा सरकारले विभिन्न संकेत देखिँदा पनि आवश्यक तयारी नगरेको भन्दै विभिन्न पक्षबाट आलोचना सुरु भएको छ ।
अमेरिकी विदेश मन्त्रालयको प्रतिवदेनले नेपालका सुरक्षा अधिकारी नेपाली भूभागमा अन्तर्राष्ट्रिय आतंकवादी संगठनले कुनै प्रकारको आक्रमण गर्ने जोखिम नभएको वा न्यून भएको विश्लेषणमा रहेको जनाएको छ । ‘त्यसैले नयाँ कानुन ल्याउने विषयमा खासै चासो दिएको देखिँदैन,’ प्रतिवेदनमा भनिएको छ ।

आतंकवादी गतिविधिबारे नेपाल प्रहरीको विशेष ब्युरोले काम गर्दै आएको भए पनि त्यसमा स्रोत–साधन अभाव रहेको प्रतिवेदनमा जनाइएको छ । ‘आतंकवादी सबै घटना रोक्न सकिन्छ भन्ने होइन, हामीले गर्ने भनेको आक्रमणकारीलाई निरुत्साहित बनाउने, उनीहरूलाई हाम्रो भूभागमा बस्न कठिन बनाउने र आतंकवादी गतिविधि हुनसक्ने स्रोतलाई थुन्ने हो,’ शर्माले भने, ‘हाम्रो सुरक्षाफौजलाई समेत यस विषयमा तालिम दिन आवश्यक छ । आम नागरिकलाई पनि सचेत बनाउनुपर्छ ।’

 

प्रकाशित: १९ असार २०७३ ०४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App