७ वैशाख २०८१ शुक्रबार
अर्थ

विकासको साझेदार

नेपालमा विकासका आयोजना समयमा सम्पन्न नहुनु कुनै नौलो कुरा होइन। सरकारले राष्ट्रिय गौरव नामकरण गरेका २१ ठूला आयोजना र तीन सय प्राथमिकताप्राप्त योजनामध्ये अधिकांशको भौतिक प्रगति वर्षौंदेखि निराशाजनक हुँदै आएको छ।

३० वर्षअघि सुरु गरिएको मेलम्ची खानेपानी आयोजना अझै पूरा हुन सकेको छैन। सरकारले चालु आर्थिक वर्ष उक्त आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि सम्पन्न भइहाल्छ भन्ने पत्याउने अझै कुनै विश्वसनीय आधार तयार नभएको आयोजनामा खटिएका प्राविधिक बताउँछन्। गत आर्थिक वर्षको सुरुवातमा सरकारी अधिकारीहरूले उक्त आयोजना सम्पन्न गर्ने दाबी गरे पनि आर्थिक वर्षको अन्त्यमा आयोजना सम्पन्न गर्नुको साटो ठेकेदार कम्पनी नै भागेपछि मेलम्ची झन् अन्योलमा प-यो। सरकारले राष्ट्रिय गौरवको रूपमा नामाकरण गरेका अधिकांश आयोजनाहरूको हालत यतिखेर मेलम्चीकै जस्तै छन्।

राष्ट्रिय गौरव नामाकरण गरिएका अधिकांश अयोजनामा ढिलासुस्ती भइरहँदा गत वर्ष एउटा आयोजनाले भने अचम्मलाग्दो प्रगति हात पा-यो। अधिकांश आयोजनाको निर्माण कार्य ढिलासुस्ती भइरहेको बेला अचम्मलाग्दो प्रगति हासिल गर्ने आयोजना हो– भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन। उक्त आयोजनाले साढे दुई वर्षमा सक्ने गरी १२.२ किलोमिटर लामो सुरुङ खन्ने कार्य एक वर्षअघि नै सम्पन्न गरेपछि त्यस प्रगतिले सबैको ध्यान तानेको थियो। तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न गर्दा उक्त आयोजनाले आमसर्वसाधारणलाई विकासको उत्साह मात्र जगाएन। सरकारले गर्ने लगानी पनि किफायती भयो। तोकिएको समयमै सुरुङ निर्माण सम्पन्न भएपछि उक्त आयोजनामा विनियोजित बजेट पनि थप गर्नु परेन।

अन्य ढिलाइ भइरहेका अधिकांश आयोजनामा सरकारले बर्सेनि बजेट थप गर्ने गर्छ। समयमै काम हुँदा भेरी–बबईको सुरुङ खन्न भने जति बजेट विनियोजन गरिएको थियो, त्यतिमै सम्पन्न भयो। भेरी–बबईमा सुरुङ खन्न १० अर्ब ५६ करोड रूपैयाँ खर्च भएको थियो। तोकिएको समयभन्दा छिटो काम सम्पन्न हुनु र विनियोजित बजेटमै सुरुङ निर्माण सम्पन्न हुनुको कारण भेरी–बबईमा अत्याधुनिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिनु हो। टिबिएम प्रयोग नहुँदासम्म उक्त आयोजनाको निर्माण पनि कछुवा गतिमा थियो। श्रमिकको प्रयोग गरी सुरुङ खन्दा वर्षौंदेखि आयोजनाको प्रगति हुन नसकेपछि साढे दुई वर्षअघि आयोजनाले सुरुङ खन्न टिबिएम प्रयोग गर्ने निर्णय गरेको थियो। ‘टिबिएम प्रयोग गरिएका कारण निर्धारित समयभन्दा अघि नै सुरुङ निर्माण सम्पन्न भएको हो,’ आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले भने। भेरी नदीको पानीलाई सुर्खेतको चिप्लेमा बाँध निर्माण र हात्तीखालमा विद्युत् गृह बनाएर बर्दियाको बबईमा झार्ने योजना छ।

जुन आयोजनाबाट बर्दियाको ३६ र बाँकेको नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु-याउने तथा ४८ मेगावाट विद्युत् निकाल्ने योजना छ। टिबिएम नेपालमा पहिलोपटक प्रयोग गरिएको हो। प्रविधिको प्रयोगले छिटो काम सक्न सहज भएको आयोजनाका कर्मचारी बताउँछन्। चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक)ले सुरुङ निर्माण गरेको हो । निर्माणमा भइरहेको ढिलाइले कतिपय आयोजनाको लागत बढेर दोब्बर/तेब्बर समेत भएका तमाम उदाहरण हुन्। समयमै काम हुन नसक्दा लागत दोब्बर भएको राष्ट्रिय गौरवको एउटा आयोजना बाँकेमा निर्माण भइरहेको सिक्टा सिँचाइ हो। आर्थिक वर्ष २०६१/६२ मा सुरु गरी आर्थिक वर्ष २०७३/७४ मा सम्पन्न गर्ने सुरुको लक्ष्य अनुसार काम नहुँदा यतिखेर सिक्टाको लागत २५ अर्ब दुई करोड रूपैयाँ पुग्ने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७३/७४ मा उक्त आयोजना सम्पन्न भएको भए करिब १२ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। निर्धारित अवधिमा काम नहुँदा सर्वसाधारणले समयमै विकास पाउन नसकेको मात्र नभई लागत नै २५ अर्ब रूपैयाँ पुगेको छ। संशोधित मूल्यांकन अनुसार आर्थिक वर्ष २०७९/८० मा सक्ने लक्ष्य लिइएको उक्त आयोजना अझै पनि समयमा पूरा नहुने हो भने २५ अर्ब दुई करोड रूपैयाँको लागत वृद्धि हुने आयोजनामा काम गर्ने प्राविधिक बताउँछन्।

 उपकरण प्रयोग गरिएका कारण छिटो निर्माण कार्य सम्पन्न भएपछि पछिल्लो समयमा अन्य आयोजनामा पनि आधुनिक उपकरण प्रयोग गर्नुपर्ने आवाज उठेको छ। केही आयोजनामा सरकारले आधुनिक उपकरण प्रयोग गर्न खोजे पनि सबै आयोजनामा त्यस्ता उपकरण प्रयोग गर्न भने सकेको छैन। निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे नेपालमा विकासले गति लिन नसक्नुमा व्यवसायिक प्रशासनिक व्यवस्थापन क्षमता कमजोर रहेको बताउँछन्। ‘हामी पनि अझै सिक्ने क्रममै छौँ,’ उनले भने, ‘नेपालमा कन्स्ट्रक्सन म्यानेजमेन्ट सिकाउने स्कुल नै छैनन्। एक–दुई वटा बजारमा छन् भन्ने सुनिन्छ तर त्यो पर्याप्त होइन ।’ सरकारी निकाय मात्र नभई अधिकांश ठेकेदार अनुभव र उपकरणबिना काम गर्ने भएकाले विकासे योजनाको प्रगति कमजोर रहेको बताइन्छ।  पूर्वाधारविज्ञ राजेन्द्रप्रसाद अधिकारी नेपालमा स्रोत परिचालन, प्राविधिकलगायत समन्वय गर्न एउटा शक्तिशाली अंगको खाँचो परेको बताउँछन्।

संघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा उपकरणको महŒव निकै हुन्छ भनेर नै पहिलो पटक एक्सपोको आयोजना गर्न थालेको बताए। ‘निर्माण कार्यमा प्रयोग हुने सामग्रीका लागि विगतमा चीन, अमेरिका, युरोप लगायतका देशमा जाने गरेका थियांै,’ सिंहले भने, ‘त्यस्तो समस्या अन्त्य होस् भनेर एक्सपोको आयोजना गरेका हौं ।’ उनले २०२२ मा विश्वका २० देशका एक हजार ठेकेदारलाई बोलाई नेपालमै अन्तर्राष्ट्रिय स्तरको एक्सपो गर्ने योजना रहेको उनको भनाइ छ। विज्ञहरू यतिखेर नेपाल भौतिक पूर्वाधारको विकास गर्नै पर्ने दबाबमा रहेकाले लक्ष्य प्राप्ति गर्ने एक मात्र उपाय आधुनिक उपकरणको प्रयोग भएको बताउँछन्। आधुनिक उपकरणको प्रयोगबाट विश्वका थुप्रै मुलुकले भौतिक पूर्वाधारको विकासमा फड्को मारिसकेका छन्। तर, नेपालमा अझै पनि बेल्चा, गैटीजस्ता परम्परागत औजार प्रयोग गरेर निर्माण हुने ठानिन्छ।

परामर्श दातृ समाजका महासचिव कृष्ण सापकोटा हिजोका दिनसम्म निर्माण व्यवसायीका लागि नयाँ उपकरण प्रयोग गर्न नसक्ने अवस्था भए पनि अब त्यो अवस्था नभएको बताउँछन्। ‘निर्माण व्यवसायी उपकरणको बारेमा जानकार हुनु भनेको विकासका गति बढ्ने हो,’ उनले भने, ‘उपकरणको बारेमा जानकारी भए व्यवसायीले क्षमता अभिवृद्धि गर्छन्।  जसका कारण आयोजना समयमै सम्पन्न हन्छन्। अन्ततः यसको फाइदा जनताले नै पाउने हुन् ।’ नेपालको भौगोलिक अवस्थाले गर्दा निर्माणमा उपकरणको जतिसक्दो बढी प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव। ‘सुरुङ खन्न विकसित मुलुकले प्रयोग गरिरहेको टिबिएम प्रयोग गर्दा परम्परागत कामभन्दा निकै छिटो हुँदैन रहेछ,’ विज्ञ बालकृष्ण शर्माले भने, ‘टिबिएम जस्ता आधुनिक उपकरणको सहायता नलिने हो भने अबका वर्ष पनि त्यतिकै खेर जान्छन् ।’ नेपालमा अझै पनि केही व्यक्तिले रोजगारी सिर्जना गर्ने भन्दै विकास निर्माणका काममा उपकरणको साटो श्रमिकलाई प्रयोग गर्न चाहे पनि त्यस्तो सोच परम्परावादी भएको उनको भनाइ छ।

प्रकाशित: ३ माघ २०७६ ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App