coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सुदूरमा उपकरणको खाँचो

केही व्यवसायीसँग मात्र हेभी इक्विपमेन्ट हुन्थे। हेभी इक्विपमेन्ट डिभिजनले नै उपलब्ध गराएर यो अभाव टारिदिन्थ्यो। देशमा तीन तहका सरकार बनेसँगै हेभी इक्विपमेन्टको माग सुदूरपश्चिममा ह्वात्तै बढेको छ। निर्माण व्यवसायी र भाडामा दिने व्यवसायीका अलावा उपभोक्ता समिति, टोल सुधार समितिले समेत हेभी इक्विपमेन्ट खरिद गरेर राखेका छन्।

हेभी इक्विपमेन्टको बढ्दो माग तथा प्रयोगले विकास पूर्वाधार निर्माण गुणस्तरीय र तीव्र रूपमा हुनलागेको व्यवसायी बताउँछन्। ‘दुई–तीनवर्ष पहिलेसम्म सीमित हेभी इक्विपमेन्ट थिए। दुई–तीन वर्षयता यसको माग ह्वात्तै बढेको हो,’ सुदूरपश्चिम हेभी इक्विपमेन्ट व्यवसायी संघका महासचिव दानसिंह बडैलाले भने,‘प्रदेश सरकार र स्थानीय सरकार बनेपछि सबैभन्दा बढी माग भयो।’विकास निर्माणका काम बढेकाले सबै निर्माण व्यवसायीले हेभी इक्विपमेन्ट खरिद गरेका छन्। स्थानीयतहले विकास निर्माणका योजनालागू गरेपछि गाउँगाउँमा हेभी इक्विपमेन्टका उपकरण पुगेका छन्।

‘पहिले अधिकांश निर्माण व्यवसायीसँग हेभी इक्विपमेन्ट थिएन। भाडामा लिएर निर्माणका कामगर्थे,’ सुदूरपश्चिम हेभीइक्विपमेन्ट व्यवसायी संघका संयोजक लक्ष्मण साउदले भने, ‘अहिले सबै निर्माण व्यवसायीले हेभी इक्विपमेन्टका उपकरण खरिद गरिरहेका छन।’एउटा उपकरण प्रायः सबै निर्माण व्यवसायीसँग रहेको उनको भनाइ छ। निर्माण व्यवसायी नै अहिले हेभी इक्विपमेन्टका व्यवसायी भएको उनी बताउँछन्। सुदूरपश्चिममा हेभी इक्विपमेन्टका उपकरण भाडामा दिने उद्देश्यले मात्र खरिद गर्ने व्यवसायीको संख्यापनि धेरै छ। ‘मैले पनि हेभी इक्विपमेन्टका उपकरण भाडामा दिने व्यवसाय गरेको छु,’व्यवसायी बडैलाले भने,‘हेभी इक्विपमेन्टको माग र प्रयोग धेरै बढेको छ।’उनले स्काभेटर,ब्याकहोलोडर,हाइड्रा र रोलर भाडामा दिँदै आएका छन्। सुदूरपश्चिममा हेभीइक्विपमेन्ट भाडामा दिने व्यवसायीएक सयभन्दाबढी रहेको उनको भनाइ छ।

स्काभेटर खर्चबाहेक प्रतिघन्टा १८ सयदेखि २६ सयका दरले भाडामा दिने गरिन्छ भने ब्याक हो लोडर प्रतिघन्टा ८ सयदेखि १२ सय, हाइड्रा प्रतिघन्टा २५ सयदेखि ३५ सय, रोलर प्रतिदिन १० हजारदेखि १५ हजारसम्ममा भाडामा दिइन्छ। भाडामा दिने व्यवसायीको आम्दानी पनि राम्रो रहेको व्यवसायी बताउँछन्। सुरुमा क्रसर उद्योग सञ्चालन गर्ने केही व्यवसायीले मात्र हेभी इक्पिमेन्ट खरिद गरेका हुन्। निर्माण व्यवसायी संघ पनि थिएन। प्रजातन्त्र स्थापनासँगै व्यवसायीले खरिद गर्न थालेका हुन्। निर्माण व्यवसायील केन्द्र विष्टले भने,‘गाउँगाउँमा सरकार पुगेजस्तै निर्माणका कामका लागी हेभीइक्विपमेन्टका उपकरण पनि गाउँगाउँ पुगेका छन्।’ व्यवसायीले ठूलो संख्यामा हेभी इक्विपमेन्ट खरिद गर्नु पनि विकास निर्माणका लागि उपलब्धिपूर्ण बनेको छ।

संख्या बढ्दा काम गुणस्तरीय
हेभी इक्विपमेन्टको संख्या वृद्धि हुँदा विकासका काम पनि गुणस्तरीय हुने गरेका छन्। पहिले सीमित हुँदा हतार हतारमा काम गरिन्थ्यो। ‘पहिले एउटा रोलर थियो। १० ठाउँमा माग हुन्थ्यो, तीन घन्टा लाग्ने काम २ घन्टामा सिध्याइन्थ्यो,’व्यवसायी बडैलाले भने,‘अहिले भाडामा दिने लोडर नै धेरै छन्। तीन घन्टामा सकिने काम चारघन्टा लगाएर गर्छन्।यसले कामको गुणस्तरीयता पनि बढाएको छ।’ सडक, बाटो,पुल, हाइड्रोपावर,भवन लगायत विकासका पूर्वाधार निर्माण गर्न हेभी इक्विपमेन्ट प्रयोग हुने गरेका छन्।पोखरी निर्माण र कृषिका लागि हेभी इक्विपमेन्टका उपकरण प्रयोग गरिन्छ। प्रदेश सरकार र स्थानीय सरकारले योजना निर्माणका लागि मोटो रकम खर्च गर्ने भएकाले सडक निर्माण, भवन लगायत विकासका पूर्वाधार का काम बढेका छन्।

सुदूरपश्चिममा ६ लेन आयोजना, रानीजमरा कुलरिया सिँचाइ आयोजना, महाकाली सिँचाइ आयोजना, सेतीलोक मार्ग, महाकाली लोकमार्ग, स्योउले दिपायल फास्ट ट्र्याक, मध्य लोकमार्ग लगायत आयोजना निर्माण कार्यपनि भइरहेको छ। संघ, प्रदेश र स्थानीय सरकार अन्तर्गत निर्माण भरहेका निर्माण कार्यले हेभी इक्विपमेन्टको माग र खपत बढेको हो।‘स्थानीय सरकार,  प्रदेश सरकारका योजनानिर्माण र संघका आयोजना निर्माणका काम तीव्र रूपमा गर्न हेभी इक्विपमेन्टको माग र खपत बढेको छ,’व्यवसायी बडैलाले भने।

अहिले सदूरपश्चिममा करिब ७ सय हेभीइक्विपमेन्टका व्यवसायी रहेको उनले बताए। सुदूरपश्चिममा करिब २ हजारको संख्यामा व्यवसायीसँग हेभीइक्विपमेन्ट छन्।ब्याकहोलोडर, स्काभेटर, रोलर, ग्रेडर, लोडर र पायलिङ लगायत हेभीइक्विपमेन्ट व्यवसायीसँग छ। यी उपकरणको मूल्य ३० लाखदेखि ४ करोडसम्म पर्छ। सबैभन्दा बढी पाइलिङकोचार करोड रुपैयाँ पर्छ।सुदूरपश्चिममा १२ अर्ब बराबरका हेभीइक्विपमेन्ट व्यवसायीसँग छन्। हेभी इक्विपमेन्ट आयात गर्दा भन्सार शुल्क चार प्रतिशतमात्र लाग्ने भएकाले सुपथ मूल्यमै व्यवसायीले खरिद गर्न पाएका छन्। भारतमा पर्ने मूल्यमै नेपाली व्यवसायी हेभीइक्विपमेन्ट खरिद गर्न पाएका छन्। ‘भारतले सरकारले लगाउने कर पनि हामीलाई सहुलियत हुँदा भारतभन्दा पनि सस्तो पर्छ,’उनले भने, ‘भारतमा नेपाली मूल्य ४३ लाखजति पर्ने ब्याकहोलोडर नेपालमा ४२ लाखमा पाइन्छ।’

हेभी इक्विपमेन्ट डिभिजन कार्यालय अन्तर्गत यान्त्रिक कार्यालय बुडरका इन्जिनियर विजयशाह हेभी इक्विपमेन्टको माग बढ्नुले भौतिक पूर्वाधार विकासमा सहयोग पुगेको बताउँछन्। उनले भने,‘डिभिजनले उपलब्ध गराएका हेभी इक्विपमेन्ट सडक निर्माणमा प्रयोग हुन्थे, अहिले अवस्था बदलिएको छ, व्यवसायीको घरघरमा हेभी इक्विपमेन्ट छन्।’ हेभी इक्विपमेन्टको बढ्दो माग र प्रयोगले विकासमा ठूलो सहयोग गरेको उनको भनाइ छ। ‘सीमित हेभी इक्विपमेन्टले भौतिक पूर्वाधार निर्माणका काममा सुस्तता हुन्थ्यो,’उनले भने, ‘हेभी इक्विपमेन्टको प्रचुरताले अहिले तीव्र रूपमा गुणस्तरीय काम गर्न सकिने अवस्था बनेको छ।’

हेभी इक्विपमेन्टका उपकरणमा मात्रकरिब ३ हजारले रोजगार पाएको महासचिव बडैलाले भने। दुर्घटना भएमा वा बिग्रेमा मर्मत गर्न भने समस्या भएको उनको भनाइ छ। यहाँबजारमा पार्टस नपाइने र भारतबाट ल्याउँदा मेसिन ल्याए जस्तो छुट नपाइने हुँदा महँगो पर्ने उनको भनाइ छ। सरकारले लाइसेन्सका लागि जाँच नखोलिदिएकाले हेभीइक्विपमेन्ट चलाउने अप्रेटरसँग लाइसेन्स नहुँदा बिमा लगायत समस्या रहेको व्यवसायी बताउँछन्। ‘९० प्रतिशत अप्रेटरसँग लाइसेन्स छैन, सरकारले लाइसेन्स दिन जाँच खोलिदिँदैन,’उनले भने, ‘दुर्घटना हुँदा बिमा लगायत विषयमा धेरै समस्या भएको छ।’

प्रकाशित: ३ माघ २०७६ ०४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App