coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

लाखमा विकासका साधन

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह २० वर्ष पछाडि फर्कंदा अझै पनि अनौठो मान्छन्। ‘सयौं कामदार लगाएर गर्दै आएको काम एउटा एक्साभेटरले सल्टाउने’ पुराना दिन सम्झँदै उनी भन्छन्, ‘पहिलोपटक एक्साभेटर देख्दा मैले दुई दिन अचम्म मान्दै हेरें।’ उनी २० वर्षअगाडिको निर्माण व्यवसायको अवस्था र अहिलेको अवस्थाबीच आकास पातालको फरक भएको ठान्छन्। उनी भन्छन्, ‘यो सबै निर्माणसम्बन्धी यन्त्र उपकरणको विकास र विस्तारले सम्भव भएको हो।’

अध्यक्ष सिंह अहिले नेपालमा आवश्यक पर्ने सबै खालका उपकरण उपलब्ध भएको बताउँछन्। उनी भन्छन्, ‘अहिले हेभी इक्युपमेन्टमा ४० लाख पर्ने ब्याकहो लोडरदेखि नौ करोड पर्ने रिक मेसिनसम्म उपलब्ध छ।’ हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवर मुलुकभर अहिले २२ हजार बढीको संख्यामा हेभी इक्विपमेन्ट (स्काभेटर, लोडरलगायत) रहेको बताउँछन्। सरकारी तथ्यांकमा भने विकासमा प्रत्यक्ष संलग्न हुने सबै साधन एक लाखभन्दा बढी दर्ता भएको उल्लेख छ । यसमध्ये कतिपयलाई सञ्चालनमा ल्याइएको छैन

कुँवरका अनुसार इक्विपमेन्ट केही पुराना हुँदै गएर काम नलाग्ने अवस्थामा पुगेकाले २० हजारको संख्यामा हेभी इक्विपमेन्टले काम गरिरहेको छ। कुँवर सबैतिर कामको व्यवस्थापन सही तरिकाले हुन सके उपकरण खाली बस्न नपर्ने भए पनि अहिले अस्तव्यस्तताका कारण ४० प्रतिशत उपकरण काम नपाएर वस्नुपरेको गुनासो गर्छन्। अहिले एक्साभेटर, ब्याकोहो लोडर, ग्रेडर, लोडर, क्रेन, रोलर, सोइल कम्प्याकर, पायरिंग मेसिन, क्रसर प्लान्ट जस्ता यन्त्र उपकरण बजारमा छन्।

निर्माणसम्बन्धी यन्त्र उपकरणको आयात गर्दा सरकारले चार प्रतिशत मात्र कर लिँदै आएको छ तर मुख्य डिलरबाट ग्राहकले यो छुटसहितको सुविधा नपाएको अवस्था छ। ‘डिलरबाट ठूलो परिमाणका उपकरण एकाध धनाढ्यले होल्ड गरेर राख्छन् अनि २० प्रतिशतभन्दा बढी नाफा राखेर बिक्री गर्छन्,’ अध्यक्ष कुँवरले भने, ‘यति हुँदा पनि सरकारले नियन्त्रण गर्न चासो देखाएको छैन । सबै फाइदा बिचौलियाले लिएपछि सरकारले दिएको छुटको अर्थै रहेन।’

निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको अनुभवले पनि त्यही भन्छ। उनी आफैं सुरुसुरुमा हेभी इक्विपमेन्ट किन्दा उपलब्ध हुनुपर्ने मूल्यभन्दा २० देखि २५ लाख बढी दिएको सम्झन्छन्। ‘पहिला आफंैले बढी रकम तिरेर खरिद गरियो । बिस्तारै आफैंले बढी पैसा लिएर बेच्ने काम पनि गरियो,’ उनले भने, ‘उत्पादक कम्पनीसँग खरिदकर्ताको सिधा सम्पर्क होस् र वास्तविक मूल्यमा निर्माण उपकरण खरिद गर्न सकून् भनेरै हामीले एक्स्पो आयोजना गरेका हौं।’

नेपाली निर्माण व्यवसायीको ध्यान पछिल्लो समय अत्याधुनिक उपकरणमा छ। विक्रेता पनि आवश्यकताअनुसार जुनसुकै उपकरण उपलब्ध गराउन समर्थ रहेको बताउँछन्। कन्स्ट्रक्सन सोलुसनका बिजनेस हेड सञ्जीव देउजा आफूहरूलाई अत्याधुनिक उपकरण भिœयाउन गाह्रो नभए पनि सञ्चालन गर्ने जनशक्ति र बिग्रेपछि मर्मतका लागि असुविधा हुँदा सोचेजस्तो अत्याधुनिक उपकरणको बिक्री बताउँछन्। उनी निर्माण व्यवसायीले नयाँ उपकरण लिए पनि त्यसले काम पाउने अवस्था नहुँदा खरिद गर्न नसकेको अर्को कारण पनि देखाउँछन्। ‘व्यवसायीले त त्यस्ता उपकरण खरिद गर्लान् तर तिनलाई प्रयोगमा ल्याउने खालका परियोजना छैनन्। कामै नपाएपछि त्यत्तिकै करोडौं खर्च गर्ने कुरा भएन,’ उनले भने, ‘देशको विकास खर्चको स्थितिले पनि निर्माणको अवस्था देखाएको छ । कामै नभएपछि उपकरणको बिक्रीमा असर त पर्ने नै भयो।’
व्यवसायी देउजा ठूला परियोजनामा विदेशी लगानी रहने र त्यसमा उनीहरूकै जनशक्ति तथा उपकरण प्रयोग हुँदा पनि यसले असर पारेको बताउँछन्। भन्छन्, ‘चीन, जापान जस्ता देशले सञ्चालन गर्दै आएका परियोजनामा आफैं कामदार र उपकरण ल्याइन्छ।’ उनी विकास निर्माणको सम्भावना देखे पनि उपकरण बिक्रीको अवस्था आधा भन्दा कम रहेको बताउँछन् । भन्छन्, ‘अब बिस्तारै काम हुँदै जाँदा यो व्यवसाय पनि पुरानै लयमा फर्कन सक्छ।’

हुन्डाई इक्विपमेन्टका नारायण खड्का पनि हेभी इक्विपमेन्टको भविष्य राम्रो देख्छन्। उनी सडक, पुल, भवन, हाइड्रो लगायत योजना बन्दै गरेको र बन्नैपर्ने भएकाले हेभी इक्विपमेन्टको बजार बढ्नेमा ढुक्क छन् । उनी भन्छन्, ‘सरकारका विकास योजना समयमै सम्पन्न हुनुप-यो। तहगत सरकारको जिम्मेवारी स्पष्ट भएसँगै सबै कुरा ठीक हुँदै जान्छ।’ उनी हुन्डाईले बिल्ड टेक एक्स्पोमा हरेक हेभी इक्विपमेन्टको खरिदमा पाँचदेखि आठ लाखसम्म नगद छुट, थाइल्याड टुर, उपकरणको एक वर्ष बिमा अफर र ४० हजार बराबरको मोबाइल उपहारसमेत राखिएको बताउँछन्। उनले हुन्डाईले नयाँ ग्रेडर लन्च गर्न लागेको जानकारी दिए।

दुगड ब्रोदर एन्ड सन्सका मार्केटिङ प्रमुख तारा थापा पछिल्लो समय तुलनात्मक रूपमा कम मूल्यमा धेरै विशेषतासहितका हेभी इक्विपमेन्ट बजारमा आएको बताउँछन्। उनी खरिदकर्तालाई धेरै विकल्प थपिँदा राहत मिल्ने दाबी गर्छन्। भन्छन्, ‘मूल्य मात्र भन्दा पनि थप भूगोल र अपरेटरमैत्री उपकरणसमेत अबको आवश्यकता हो। उत्पादकहरू यसमा सचेत छन्।’ दुगडले एक्स्पोमा नेपालमा पहिलोपटक एसी क्याबिनसहितको भिएच ९० ब्याकहो लोडर लन्च गर्न लागेको जानकारी दिए। उनी यसले अपरेटरको कार्य क्षमता बढाउन सहयोग पुग्ने दाबी गर्छन्। दुगडले जि९० ग्रेडरसमेत ल्याएको बताए। उनी भन्छन्, ‘यसले नेपालको सानो र साँघुरो बाटोमा काम गर्न सक्छ। अन्यभन्दा तुलनात्मक रूपमा केही सस्तो पनि छ।’

मोरङ अटोवक्र्स अर्थ मुभर प्रालि जेसिभी डिभिजनका चिफ म्यानेजर सूर्यप्रसाद ओझा निर्माण व्यवसाय ओरालो लाग्दा हेभी इक्विपमेन्ट बिक्रीमा असर पुगेको भए पनि सकारात्मक सूचकका रूपमा सरकारले २ हजार बढी रुग्ण योजनामा गति दिन पहल गरेको, सरकार र निर्माण व्यवसायीबीच साझा सहमति बन्दै गएकाले अब व्यवसायले गति लिने बताउँछन्। हेभी इक्विपमेन्टको बिक्रीमा राष्ट्र बैंकको बदलिँदो नियमको कारण पनि असर परेको उनको तर्क छ। उनी भन्छन्, ‘राष्ट्र बैंक आफैं पनि केही लचिलो बनेको छ, सायद अब हेभी इक्विपमेन्ट बजारले पनि लाभ लिन्छ।’ उनले मोरङ अटोवक्र्सले एक्स्पोमा नेस्क्ट सेरिज स्काभेटरका आधा दर्जन मोडल लन्च गर्न लागेको बताए। उनले भने, ‘यसमा तत्काललाई इन्टरनेसनल टुरको अफर छ। हामी मार्केटमा पहिलोपटक नयाँ कम्प्याक्टर समेत लन्च गर्दै छौं।’

आर्थिक वर्ष २०७४/७५ मा लगभग ३५ अर्बको हेभी इक्विपमेन्ट आयात भएको भन्सार विभागसँग तथ्यांक छ। हेभी इक्विपमेन्ट तथ्यांक आर्थिक वर्ष २०७५/७६ मा करिब २० अर्ब र चालू आवको पाँच महिनामा पाँच अर्बको हाराहारीमा छ। निर्माणसम्बन्धी उपकरणका बिक्रेताको तथ्यांकअनुसार सन् २०१९ मा एक्साभेटर सात सय ५०, ब्याकहो लोडर एक हजार, रोलर तीन सय २५, ग्रेडर मेसिन एक सय १०, पायरिंग मेसिन १५, लोडर ६०, क्रसर प्लान्ट पाँचवटा बिक्री भए।

हेभी इक्विपमेन्टको मूल्य कति छ ?
हेभी इक्विपमेन्टको मूल्य कम्पनी र मोडलअनुसार फरक भए पनि व्यवसायीका अनुसार नेपाली बजारमा उल्लिखित दररेटका उपकरण छन् :
एक्जाभेटर ८५ लाखदेखि डेढ करोडसम्म
ब्याकहो लोडर ४० लाखदेखि ४५ लाखसम्म
रोलर ४० लाखदेखि ४५ लाखसम्म
ग्रेडर मेसिन १ करोडदेखि डेढ करोडसम्म
लोडर मेसिन ४० लाखदेखि ७० लाखसम्म
पायरिंग मेसिन साढे तीन करोडदेखि नौ करोडसम्म
क्रसर प्लान्ट तीन करोडदेखि सात करोडसम्म
क्रेन मेसिन एक करोडदेखि दुई करोडसम्म छेठौँ महत्व

प्रकाशित: ३ माघ २०७६ ०४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App