५ वैशाख २०८१ बुधबार
समाज

पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान प्रवेश परीक्षाकाे नतिजा बदर

काठमाडौं– पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा विवादित बनेको एमबिबिएस प्रवेश परीक्षा दिएका सबै विद्यार्थी फेरि परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

प्राविधिक त्रुटि देखिएको भन्दै दुई चरणमा प्रकाशित दुवै नतिजा बदर गरेर स्वास्थ्य मन्त्रालयले परीक्षाका अन्तर्वार्तालगायतका चरणमा सबै विद्यार्थीलाई सहभागी गराउने निर्णय गरेको हो । त्रुटिपूर्ण नतिजाका लागि जिम्मेबार पदाधिकारी तथा कर्मचारीलाई कारबाही गर्न प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सहकुलपति एवं स्वास्थ्यमन्त्री गगनकुमार थापाले सिफारिस गरिसकेको मन्त्रालयले जनाएको छ ।

यसअघि प्रवेश परीक्षा दिएका सबै विद्यार्थी फेरि परीक्षामा सहभागी हुन पाउने

मन्त्रालयले छानबिनका आधारमा दुवै नतिजा बदर गरी नयाँ नतिजा बाँकी परीक्षाबाट टुंगो लगाउन निर्देशन दिएको हो । मन्त्रालयले परीक्षा अनुगमन तथा समन्वयका लागि छुट्टै समितिसमेत बनाएको छ । पूर्वशिक्षासचिव दीपेन्द्रविक्रम थापा संयोजक रहेको समितिमा कानुनविद् विजय मिश्र र परीक्षाविद् सीताराम बुढाथोकी सदस्य छन् ।

प्रतिष्ठानले गत मंसिर दोस्रो साता सञ्चालित परीक्षाको नतिजाअनुसार पहिलोपटक मंसिर १५ मा नतिजा प्रकाशित गरेको थियो भने त्रुटि भएको भन्दै फेरि १७ गते दोस्रो सूची प्रकाशित गरेको थियो ।
मन्त्रालयले प्रथम चरणको परीक्षामा सम्मिलित १ हजार ७ सय ६९ परिक्षार्थीलाई फेरि परीक्षामा सहभागी गराई मेरिट प्रणालीका आधारमा विद्यार्थी छनोट गर्न प्रतिष्ठानलाई निर्देशन दिएको छ ।

नतिजामा विवाद भएपछि मन्त्रालयले चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी छानबिन गरेको थियो । छानबिन समितिले परीक्षा प्रकाशनका क्रममा लापरबाही भएको औंल्याउँदै सच्याउने विकल्प दिएको थियो । पहिलो वा दोस्रो सूचीलाई मात्रै मान्यता दिँदा विद्यार्थीले आफूमाथि अन्याय भएको महसुस गर्ने अवस्था आएको भन्दै मन्त्रालयले तेस्रो विकल्पको रुपमा दुबै सूची बदर गरेर सबैलाई फेरि परीक्षामा सहभागी बनाउने निर्णय गरेको हो ।

एमबिबिएस प्रवेश परीक्षाको गम्भीरता, सीमित समय, शैक्षिक सत्रमा पर्न सक्ने प्रभाव र सयौं विद्यार्थीको भविष्यलाई ध्यान दिई निकास निकालिएको स्वास्थ्यमन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।

प्रकाशित: १० पुस २०७३ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App