७ वैशाख २०८१ शुक्रबार
राजनीति

परिमार्जन नभए संशोधनको तुक छैनः यादव

विराटनगर– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको नाममा सरकारले आजभोलि भन्दै आलटाल गरिरहेको आरोप लगाएका छन् । उनले संशोधन प्रस्ताव परिमार्जन गरेर नल्याए त्यसको कुनै तुक नरहने समेत बताए ।

‘संशोधनका नाममा संशोधन प्रस्ताव ल्याउनुको कुनै मतलब छैन,’ संघीय फोरम मोरङको प्रथम एकता अधिवेशन शनिबार विराटनगरमा उद्घाटन गर्दै यादवले भने, ‘मुद्दालाई सम्बोधन गर्ने खालको संशोधन प्रस्ताव ल्याए सहयोग गर्न तयार छौं ।’ सरकारले सल्लाह नगरी संशोधन प्रस्ताव ल्याएको आरोप लगाउँदै उनले पछिल्ला छलफलमा परिमार्जन गर्ने बताइरहे पनि आलटाल गर्ने मनसाय देखिएको बताए ।
‘दुई कारणले संविधान संशोधन आवश्यक छ,’ यादवले भने, ‘एउटा, अधिकार नपाएका जनतालाई अधिकारसम्पन्न बनाउन । दोस्रो, त्रुटिपूर्ण, गलत र विभेदकारी संविधानलाई सर्वस्वीकार्य बनाउन ।’ मधेसी, आदिवासी जनजातिलगायतका समुदायलाई अधिकार दिन नचाहेकै कारण ओली सरकारको पतन भएको दाबी गर्दै उनले भने, ‘आज गर्छु, भोलि गर्छु भनेर प्रचण्ड सरकारले पनि संशोधन लम्ब्याइरहेको छ ।’
मधेसी मोर्चासँग भएको चारबुँदे सहमतिको जगमा वर्तमान सरकार निर्माण भएको स्मरण गराउँदै नेता यादवले भने, ‘मृतक परिवारलाई राहत दिनुबाहेकका माग अझै पूरा भएका छैनन् ।’ उनले आन्दोलनको क्रममा पक्राउ गरी मुद्दा चलाइएकालाई रिहा गर्नुपर्ने माग गरे । ‘मुद्दा फिर्ता नलिए हामीमाथि पनि मुद्दा लगाइयोस,’ उनले भने, ‘आन्दोलन गर्न हामीले भनेका हौं, सरकारले हामीमाथि पनि मुद्दा लगाओस् ।’
उनले संशोधन सन्दर्भमा प्रतिपक्षी दल नेकपा एमालेका नेताका अभिव्यक्ति ‘राष्ट्रहित’ मा नरहेको बताए । ‘एमालेले विखण्डन, साम्प्रदायिक दंगा मच्चाउने खालको अभिव्यक्ति दिन बन्द गर्नुपर्छ,’ उनले भने, ‘राष्ट्रिय एकता र मुलुकको सार्वभौम एकताको विपक्षमा अभिव्यक्ति दिनु हुन्न ।’
फोरमका वरिष्ठ नेता अशोक राईले संशोधन प्रस्ताव सकारात्मक भए पनि परिमार्जन आवश्यक रहेको बताए । ‘संशोधन प्रस्ताव सकारात्मक तर गन्जागोल छ,’ राईले भने, ‘ढुलमुल तरिकाले संशोधन गर्नु हुँदैन, गल्ती सच्याउन अग्रसर हुनुपर्छ ।’
नेतालाई ३५ किलोको माला
संघीय समाजवादी फोरमका तीन शीर्ष नेतालाई शनिबार विराटनगरमा ३५ किलोको माला लगाइदिई स्वागत गरिएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र वरिष्ठ उपाध्यक्ष युवराज कार्कीलाई ३५ किलोको मालाले स्वागत गरिएको हो ।
एकता अधिवेशनका क्रममा हाटखोला मैदानमा आयोजना गरिएको आमसभामा फोरम मोरङका अध्यक्ष राजकुमार यादवले नेतात्रयलाई माला लगाइदिएका हुन् ।

फोटो क्याप्शन ः
संघीय समाजवादी फोरमका शीर्ष नेतालाई ३५ किलोको मालाले स्वागत गरिँदै ।
तस्बिर ः अजित÷नागरिक

प्रकाशित: १० पुस २०७३ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App