coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिनेटमा पुग्यो ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव

फाइल तस्बिर

वासिङ्टन (एजेन्सी) – अमेरिकाको माथिल्लो सदन ‘सिनेट’ मा बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ।

अमेरिकाको इतिहासमा राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव ल्याइएको यो तेस्रो पटक हो। यसअघि सन् १८६८ मा तत्कालीन राष्ट्रपति एन्ड्रयु जोनसोन र १९९९ मा बिल क्विन्टनविरुद्ध महाभियोग प्रस्ताव ल्याइएको थियो।

ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित भइसकेको छ। डेमोक्र्याट्सको बहुमत रहेको तल्लो सदनमा डिसेम्बर १८ मा महाभियोग प्रस्ताव दर्ता भएको थियो। डेमोक्र्याट्स संसद एवं तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ट्रम्पविरुद्ध सिनेटमा पनि महाभियोग प्रस्ताव अघि बढेको घोषणा गरेकी छिन्। राष्ट्रपति ट्रम्पले भने यसलाई हाँस्यस्पद भनेका छन्।

महाभियोग प्रस्ताव सिनेटमा अघि बढाउनेबारे तल्लो सदनमा भएको मतदानमा दुई सय २८ पक्ष र एक सय ९३ मत विपक्षमा परेको थियो। सभामुख पेलोसीले अमेरिका नयाँ इतिहास रच्न गइरहेको भन्दै सत्ताको दुरुपयोग र संसद्को काममा बाधा पु-याएकाले राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव ल्याउनुपरेको बताएकी छिन्।  महाभियोग प्रस्तावमा हस्ताक्षर गर्दै उनले भनेकी छिन्, ‘यसले राष्ट्रपतिलाई उत्तरदायी बनाउने छ।’ सिनेटले ट्रम्पको महाभियोग परीक्षण अघि बढाउन प्रबन्धकको नियुक्तिका लागि सदन प्रस्ताव ७९८ समेत पारित गरेको छ।

माथिल्लो सदनमा ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत रहेकाले उक्त प्रस्ताव पारित हुने सम्भावना भने कमै छ। पेलोसीले महाभियोग प्रस्तावका पक्षमा बहस गर्न सात सदस्यीय अभियोजन टोलीसमेत नियुक्त गरेकी छिन्। उनीहरुले सिनेटमा राष्ट्रपति ट्रम्पलाई हटाउने पक्षमा बहस गर्नेछन्।

ट्रम्पमाथि २०२० मा हुने निर्वाचनमा डेमोक्र्याट्स पार्टीका सम्भावित उम्मेदवार जोई विडेन र उनका छोराविरुद्ध भ्रष्टाचार मुद्दामा छानबिन गर्न युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको आरोप लागेको छ। विडेनका छोरा युक्रेनको एक ऊर्जा कम्पनीका उच्च अधिकारी हुन्। महाभियोग प्रक्रियामा ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमर जेलेस्कीबीच भएको फोनवार्ताको जाँच गरिएको थियो। त्यसलगत्तै डेमोक्र्याट्सको पकड रहेको न्यायिक समितिले उनीविरुद्ध औपचारिक आरोप तय गरेको थियो।  फोनवार्तामा ट्रम्पले युक्रेनको ऊर्जा कम्पनीमा काम गरिसकेका विडेन र उनका छोरा हन्टरविरुद्ध छानबिन गर्न भनेका छन्। न्यायिक समितिले ट्रम्पविरुद्ध सत्ताको दुरुपयोग गरेको आरोप लगाएको छ। ट्रम्पले भने यस्तो आरोप अस्वीकार गर्दै अएका छन्। ट्रम्पमाथि लागेको आरोप सिनेटबाट पनि पारित भए उनी अप्ठेरोमा पर्न सक्छन्।

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन सिनेटबाट उक्त प्रस्ताव दुईतिहाइ बहुमतबाट पारित हुनुपर्छ। तर सिनेटमा उनको पार्टीको बहुमत छ।

प्रकाशित: ३ माघ २०७६ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App