८ वैशाख २०८१ शनिबार
अर्थ

आलु किसानलाई १ अर्ब घाटा

बाँकेको खजुरा क्षेत्रका किसानले गरेको तरकारी खेतिमा जमेको पानी। तस्विरः नागरिक

बाँके- अधिक हिउँदे वर्षाका कारण बाँके र बर्दियामा ५० प्रतिशतले आलु उत्पादन घट्ने अनुमान गरिएको छ। आलु उत्पादनमा असर गरेपछि यस क्षेत्रका किसानलाई १ अर्ब भन्दा बढी घाटा हुने आँकलन छ।

पश्चिम तराईका बाँके र बर्दिया जिल्ला तरकारी खेतीका लागि उर्वर क्षेत्र मानिन्छ। तर यस वर्ष अधिक वर्षा र शितलहरका कारण तरकारी किसान मारमा परेका छन्। आलु उत्पादन गरेर बिक्रि गर्ने समयमा लगातार हिउँदे वर्षा भएपछि किसान मारमा परेका हुन। माघको पहिलो साता सम्म पनि हिउँदे वर्षा हुने क्रम जारी। यसले तरकारी र हिउँदे खेतीमा थप असर गर्ने देखिएको छ।

बाँके हिरमिनियाका किसान कृपाराम मौर्य आफुले लगाएको करिब ३ मेट्रिक टन आलु बारीमै बिग्रिएको बताउँछन्। कृपाराम जस्तै हिरमिनियाका अन्य किसानले ५ सय हेक्टरमा लगाएको ५० प्रतिशत आलु ब्रिगियो। जसका कारण करिब २० करोड क्षति भएको छ।

कृपारामले भने, ‘हरेक वर्ष हामी आलुबाट राम्रो आम्दानी गछौं। तर यस वर्ष सबै बिग्रियो। अहिले पनि बारीमा पानी जमेको छ। आलु खोज्न ग्राहो भैसक्यो। भएका आलुका विरुवा पनि सुक्न थालेका छन्। पानीले जमिन कडा भएको छ। यसले आलु राम्ररी फल्न दिन्न। फलेको आलु पनि कुहिने गर्छ।’

गत वर्ष बाँके र बर्दियामा ८८ हजार ३ सय १० मेट्रिक टन आलु उत्पादन भएको थियो। तर यस वर्ष आलु उत्पादनमा ५० प्रतिशतले घट्ने पक्का भैसकेको बताउँछन कृषि ज्ञान केन्द्र नेपालगन्ज प्रमुख सागर ढकाल। वर्षा हुने क्रम जारी रहेकोले उत्पादन घटने सम्भावना बढने बताउँछन ढकाल। ५० प्रतिसत उत्पादन घटने भएपछि बाँके र बर्दियाका किसानलाई आलु उत्पादनबाट करिब १ अर्ब २३ करोड घाटा लाग्ने भएको छ।

ढकाल भन्छन, ‘तरकारी बजारमा असर गरिसकेको छ। पहिलो लटको आलु बजारमा आएपछि मूल्य घट्दै जान्छ। तर किसानले फलाएको आलु भित्रयाउनै पाएका छैनन्। पानी परिरहेको छ। यसले खेतमै आलु कुहिने सम्भावना बढदै गएको छ।’

बर्दियामा ४ हजार २ सय ५० हेक्टर जमिनमा आलु खेती गरिन्छ। बाँकेको कूल खेतीयोग्य ५२ हजार ३ हेक्टर जमिन मध्ये बाँकेमा २ हजार ८ सय ७५ हेक्टर जमिनमा आलु खेती गरिन्छ।

मसुरो ११ हजार ६ सय हेक्टर,  चना १ हजार ५ सय ५० हेक्टर, हिउँदे तरकारी ४ हजार २ सय ५० हेक्टरमा लगाउने गरिएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ। पछिल्लो समयको वर्षाले सबै भन्दा धेरै आलु खेतीमा असर गरेको छ। सुरुआतमा मंसिर महिनाको हिउँदे वर्षाले तरकारी जन्य खेतीमा १० देखि १५ प्रतिसत नष्ट भएको थियो। माघ महिना सम्म पनि वर्षा हुने क्रम नरोकिएपछि करिब ५० प्रतिशतले तरकारी र हिउँदे खेती उत्पादनमा असर गर्ने ज्ञान केन्द्रले बतायो।

बाँकेको खजुरा क्षेत्रका किसानले भने आलु खेतीमा ७० देखि ८० प्रतिशतले उत्पादन घटेको बताउँछन्। खजुरा गाउँपालिका ‘सी’ गाउँका लालबहादुर खत्रीले भने, ‘जमिनमा चिस्यानको मात्र घटनै पाएको छैन। आलु निकाल्न नपाउँदै कुहिसकेको छ। अधिक वर्षाले आलु खेतीमा ८० प्रतिसत ह्रास आइसकेको छ। अन्य तरकारी खेती र हिउँदेबालीमा पनि असर गरिसकेको छ।’

बाँके र बर्दियामा मंसिर २७ गते हिउँदको अधिक वर्षा भएको थियो। कृषि ज्ञान केन्द्रका अनुसार त्यतिबेला २४ घण्टामा १ सय १५ मिलिमिटर पानी परेको थियो। जुन बाँकेमा हिउँदको समयमा भएको अहिले सम्मकै अधिक वर्षा हो। माघको पहिलो सातामा पनि बाँके र बर्दियामा हिउँदको चौथो वर्षा भयो। जसले थप क्षति बढाएको हो।

कृषि ज्ञान केन्द्रका प्रमुख ढकाल प्राकृतिक रुपमा हुने यस्ता क्षतिलाई कम गर्न उच्चो जमिनमा तरकारी खेती गर्ने सुझाव दिन्छन। उनले थपे, ‘पानी नजम्ने ठाउँ वा पानीको निकास हुने जमिनमा हिउँदे तरकारी गर्दा राम्रो हुन्छ। प्लास्टिकको घर बनाएर पनि तरकारी लगाउन सकिन्छ। आलु खेती असोजको अन्त्यतिर गर्न सकिन्छ। आलु खेती अलि छिटो गर्दा हिउँदे वर्षाबाट हुने क्षतिलाई केहि कम गर्न सकिन्छ।’

 

 

प्रकाशित: २ माघ २०७६ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App