६ वैशाख २०८१ बिहीबार
समाज

पुड्केको जुक्ति...

नारायण ढुङ्गाना    
    तारुका (नुवाकोट) - अघिल्लो वर्ष चन्द्रमान श्रेष्ठको रातेसँग शिव ढकाल ‘झ्टे’ले किनेको पुड्के (गोरुको नाम) प्रतिस्पर्धामा उत्रियो। उसले रातेविरुद्ध सहजै जीत हासिल गर्‍यो। ढकालले पुड्केलाई नजिकैको कुमार अधिकारीबाट खरिद गरेका थिए।    
    
 लगत्तै फ्याक्सेका लाल श्रेष्ठले खरिद गरे। पुड्के गाउँ कटेपछि तारकेश्वर गाउँपालिका–३ जोरचौताराका कुमार अधिकारीको मन कुँडियो । विगतमा खान्की पुर्याउन नसकेर बेचेपनि पुड्केलाई पुनः घर फर्काए। “एक त ज्ञानी, अर्को माघे सङ्क्रान्तिको प्रतिस्पर्धामा अब्बल, नल्याई भो”, मुस्कुराउँदै उनले भने। कुमारले अरु बेला खनजोतमा प्रयोग गरे पनि तीन महिनादेखि पुड्केको पालनपोषणमै समय खर्चिए।
    
 छ वर्षको पुड्के हेर्दा सानो गाँठीको भए पनि कसिलो जुरो र मोटो सिङ छ । पहेँलोको जोडी बालखैदेखि चामल, घ्यू, नौनी, अण्डा खान्थ्यो । खेती कमाइ नियमित दिँदै आएको छ ।    
 यसपालि बुधबार नुवाकोटको तारुकामा भएको प्रतिस्पर्धामा हक्वाँ.. हक्वाँ गर्दै पुडके आयो । एक छिन खुट्टाले जमिन खोस्रयो, जमिनमै सिंगौरी खेल्यो । रातमाटे धुलोमा रुमल्लियो । लगत्तै आयो लाले । विकास भण्डारीको लालेसँग ऊ सात मिनेट भिड्यो । भिडन्त अवधिभर घमासान भयो । लाले जब्बर थियो । पुष्ट, मोटो अनि सर्लक्क परेको जीउ देख्दा लालेले हार्छ भन्ने दर्शकले सोचेकै थिएनन् । बेलाबेलामा पुड्केले काँध दिन्थ्यो । दर्शक अब पुड्केले हार्न लाग्यो भन्थे । हुटिङ आउँथ्यो । पुड्केका मालिक कुमार हरेस नखाई मैदानमै रहे। उसको जुक्ति र दाउ उनलाई प्रष्ट थाहा थियो।    
    
 अधिकारीले भने, “थर्काउन उसले काँध(आड) दिन्छ, जित्न कला चाहिन्छ, बल भएर हुँदैन, सिङले भेटेन भने थुतुनाले उधिनेर पाखा लगाउँछ, घुमीघुमी सबै उपाए अपनाउँछ, पुड्केमा यही विशेषता छ ।” उनले गोरुको हारजित सामान्य भए पनि पुड्के हार्ने गोरु नभएको प्रतिक्रिया दिए।    
    
 “ज्यान सानो छ तर ‘पावरदारी’ छ, अर्कोको बल धेरै थियो तर बुद्धि र शैली पुगेन, पुड्केको बुद्धि भनेको दाउ हेरेर ठाउँ हेरेर कोख्याउन सक्ने हो।” अधिकारीले जीतपछि भने। उनकाअनुसार पुड्केले खाउञ्जेल घाँस दिने गरिएको छ। दिनमा पाथीभन्दा बढी अनाज खान्छ। परिवारको सदस्यझैँ पालिएको पुड्केले जितेपछि खुशी हुनुभएका उहाँले गोरुलाई अँगालो हालेर खुशी साटे ।    
    
बेचेको पनि फर्काएर ल्याएँ    
    
 पुड्के छ वर्ष अघि गाउँकै शेरबहादुर तामाङको गोठमा जन्मियो। चार वर्षको हुँदा कुमारले किनेर ल्याए। पोहोर यही गोरु शिव ढकाल ‘झट्टे’ले खरिद गरी चन्द्रमान श्रेष्ठको रातेसँग भिडाए। उसका सामु राते निरिह बन्यो । लगत्तै पुड्केलाई फ्याक्सेका लाल श्रेष्ठले खरिद गरे। “पहिले घरमा खान्की दिन नसकेर पठाएँ, मनमा लहड चल्यो, दुई पटक बिक्री भएको गोरु फेरि फर्काएँ”, अधिकारीले थपे।    
    
 छोरा १७ वर्षका श्यामसुन्दरको नामबाट यसपालि बुधबार पुड्के मैदानमा गएको थियो । उनले भने, “पुड्केले भनेको मान्छ, कसैलाई हान्दैन, गुनी छ, जुध्न भने पछिपर्दैन, त्यसैले यो मेरो साथी हो ।”    
    
 

 

प्रकाशित: २ माघ २०७६ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App