coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पिपिपी मोडलमा महानगर विकास योजना

पोखराको डेभिज फल्सको खोच।

पोखरा - सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा पोखराभित्र तीनवटा ठूला आयोजना निर्माण गरेर पर्यटकीय गन्तव्यको रुपमा उपयोग गर्ने योजना पोखरा महानगरपालिकाले अघि सारेको छ। दुई अर्ब रुपैयाँभन्दा बढी रकम लगानी गरेर ती पूर्वाधार बनाएर पर्यटकीय प्रडक्टका रुपमा उपयोग गर्ने योजना महानगरको छ।

योजना पूरा गर्न सके त्यसले पोखराको पर्यटन क्षेत्रलाई अधिकतम बढावा दिने महानगरको विश्वास छ। पोखरा आएका स्वदेशी तथा विदेशी पर्यटकको बसाइ अवधि बढाउन ती पूर्वाधार आवश्यक रहेको महानगरका पदाधिकारीको भनाइ छ। महानगरले सेतीखोच साहसिक पर्यटन पूर्वाधार विकास आयोजना, पातले छाँगो (डेभिज फल्स) सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजना र सराङकोट पर्यटन पूर्वाधार विकास आयोजनालाई पीपीपी मोडलमा सम्पन्न गर्ने योजना बनाएको हो।

महानगरभित्रका ती योजनाको लागत दुई अर्ब रुपैयाँभन्दा बढी पर्ने महानगरको भनाइ छ। महानगरका अनुसार सेतीखोच विकास आयोजनाको प्रस्तावित लगानी एक अर्ब ५८ करोड, पातले छाँगो सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजनाका लागि ४९ करोड १९ लाख, सराङकोट पर्यटन पूर्वाधार विकास आयोजनाको प्रस्तावित १४ करोड ७४ लाख अनुमानित लगानी रहेको महानगरका सार्वजनिक निजी साझेदारी कार्यक्रमका सहजकर्ता अनन्तप्रसाद कोइरालाले बताए। कोइरालाका अनुसार महानगरले तीनवटा पूर्वाधार बनाउन केही समयअघि आशयपत्र माग गरिएको थियो।

त्यही अनुसार निजी क्षेत्रबाट झण्डै आधा दर्जन आशयपत्र पेस भएको थियो। आशयपत्र पेस गर्नेमध्ये दुईवटा निजी कम्पनी तीनवटा पूर्वाधार बनाउने गरी छनोटमा परेको कोइरालाले बताए। सेतीखोच र पातले छाँगोमा सेती क्यानन प्रालि तथा सराङकोटको पर्यटन पूर्वाधार बनाउन अन्नपूर्ण केबलकार कम्पनी लगानीकर्ताका रुपमा छानिएका छन्। अन्नपूर्ण केबलकारले अहिले सराङकोटलाई पोखरा उपत्यकासँग जोडनेगरी केबलकार निर्माण गरिरहेको छ। ‘महानगरले ठाउँ उपलब्ध गराउँछ, ती ठाउँमा छानिएका कम्पनीले लगानी गर्नेछन्। तोकिएको अवधि निजी कम्पनीले सञ्चालन गरेपछि पूर्वाधार महानगरलाई फिर्ता गर्नेछन्,’ कोइरालाले भने, ‘महानगरले लगानी गर्नुपर्दैन। निजी कम्पनीले शतप्रतिशत लगानी गरेर तोकिएको अवधि सञ्चालन गर्नेछन्।’

पिपिपी मोडलमा लगानी गर्ने कम्पनीले सराङकोटमा ३० र सेतीखोच तथा पातले छाँगोमा ४० वर्ष सञ्चालन अवधि माग गरेको पनि कोइरालाले बताए। ‘महानगरले भने तीन वर्ष निर्माण अवधि छाडेर ३२ र ३५ वर्ष मात्र सञ्चालन गर्न दिने प्रस्ताव गरेको छ,’ उनले भने, ‘लगानीकर्ताले सञ्चालन गर्ने अवधिबारे खासै समस्या होइन। ठूलो लगानी गरेकोले बढी अवधि सञ्चालन गर्न खोज्नु स्वाभाविक हो।’ तोकिएको अवधि सञ्चालन गरेपछि लगानीकर्ताले ती पूर्वाधार महानगरलाई हस्तान्तरण गर्नेछन्।’ निजी कम्पनी तोकिए पनि ती कम्पनीसँग विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्नेबारे सम्झौता भने भइसकेको छैन। तर महानगरको कार्यपालिकाले महानगर र निजी क्षेत्रलाई डिपिआर तयार पार्ने सम्झौता गर्न स्वीकृति दिइसकेको छ। दुवै पक्ष मिलेर डिपिआर तयार पार्ने पनि कोइरालाले बताए।

आशयपत्र पेस गरेका कम्पनीको आर्थिक लगायत अवस्था हेरेर छनोट गरेको पनि कोइरालाले बताए। डिपिआर तयार गरेपछि मात्र तीनवटा गन्तव्यमा कस्ता पूर्वाधार बन्ने भन्ने थाहा हुने उनले बताए। महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीका अनुसार लगानीकर्ता निजी क्षेत्रले बढीमा ४० वर्ष मात्र सञ्चालन गर्न पाउनेछन्। पिपिपी मोडलमा सञ्चालन अवधि बढीमा ४० वर्ष रहेको उनले बताए। ‘बढीमा ४० वर्ष अवधिपछि ती सम्पत्ति महानगरलाई हस्तान्तरण गर्नुपर्नेछ,’ उनले भने। सुवेदीका अनुसार सञ्चालन अवधिमा पनि लगातीकर्ताले आम्दानीको केही हिस्सा महानगरलाई बुझाउनुपर्नेछ। त्यसको समेत मोडालिटी तयार नभएको सुवेदीले बताए।

‘लगानीकर्ताले टिकट बेचेर पर्यटकलाई ती गन्तव्य घुम्न पठाउनेछन्। त्यो बेला आम्दानी हुन्छ। त्यस्तै कतिपय क्षेत्रमा व्यापारिक प्रयोजनका पूर्वाधार बनाएर पनि आम्दानी गर्नेछन्,’ उनले भने, ‘तर सबै आम्दानी निजी क्षेत्रले लैजान पाउँदैन। मोडालिटी अनुसार केही रकम महानगरलाई पनि बुझाउनुपर्नेछ। कसरी र कुन दरमा आम्दानी बाँड्ने भन्ने यकिन भइसकेको छैन।’ सेतीखोचमा के आइसिं पुलदेखि रातो पहिरोसम्मको दुरी उपयोग हुनेछ। त्यस खण्डमा आवश्यक पूर्वाधार बन्नेछन्। नदीमा रोमाञ्चक गतिविधि गर्न मिल्ने, लुकेको सेती नदी अवलोकन गर्ने गरी सुरक्षित पूर्वाधार बन्नेछन्,’ उनले भने, ‘त्यस्तै पातले छाँगो र सराङकोटमा पनि पर्याप्त पूर्वाधार बनाउनु पर्नेछ।’ पोखरा पर्यटकीय गन्तव्य भएकोले पनि ठूला लगानीका आकर्षक आयोजना बनाउन आवश्यक रहेको सुवेदीले बताए।

लगानीकर्ताले प्रारम्भिक रुपमा लगानीको अनुमानित खाका मात्र पेस गरेको उनले बताए। ‘डिपिआर तयार भएपछि वास्तविक लगानीको आकार र त्यस क्षेत्रमा बनाइने पूर्वाधारको मोडालिटीको टुंगो लाग्नेछन्,’ उनले भने। अहिले सेतीखोचको केआइसिं पुल क्षेत्र मात्र पर्यटकीय गन्तव्यको रुपमा उपयोग भइरहेको छ। सेतीको बाँकी खण्ड अहिले पनि उपयोगविहीन छ। पातले छाँगो भने अहिले पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा छ। पोखरा आएका सबै खाले पाहुनाको गतिलो गन्तव्यको रुपमा पातले छाँगो रहेको छ। सराङकोट पनि पोखराको अर्काे महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। सूर्याेदय र सूर्यास्त अवलोकनसहित प्याराग्लाइडिङ, जिप फ्लायर, साइक्लिङका लागि सराङकोट गतिलो गन्तव्यको रुपमा परिचित छ।

प्रकाशित: २ माघ २०७६ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App