coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘संविधानभन्दा दायाँबायाँ गरेकी छैन’

नुवाकोट - उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संविधानले आफूलाई काम गर्न मार्गप्रशस्त गरेकाले राजीनामा नदिएको बताएकी छन्। नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीमा भएको गोरु जुधाई मेलालाई सम्बोधन गर्दै उपसभामुख तुम्बाहाम्फेले  प्रतिनिधिसभालाई नेतृत्वविहीन नबनाउन आफूले राजीनामा नदिएको बताइन्।

सभामुख निर्वाचनको प्रक्रिया सुरु नहुन्जेल आफूले राजीनामा दिए प्रतिनिधिसभा नेतृत्वविहीन बन्ने उनको भनाइ छ । ‘मैले संविधानभन्दा दायाँबायाँ गरेको छैन। संविधानभन्दा व्यक्ति र संस्था ठूलो कुरो होइन। संविधानले जे अधिकार दिएको छ त्यही प्रयोग गरेर संसद्को नेतृत्वलाई रिक्त हुन नदिएको हो,’ उनले भनिन्, ‘आमनेपालीको अधिकारलाई सुनिश्चित गर्दै यसलाई निकास दिन आवश्यक छ। सीमा विवादलगायत विषयमा सांसद्ले आफ्नो विचार राख्न पाइरहेका छैनन्। संसद्को गरिमालाई जोगाउनु आवश्यक छ, त्यसैले जनताको माझमा आइरहेकी छु।’

६ स्थानमा गोरु जुधाइ मेला
माघे सङ्क्रान्तिमा जिल्लाका ६ स्थानमा गोरु जुधाइ मेला भएको थियो। जिल्लाको तारुका, बेत्रावती, सातबीसे, पञ्चकन्या, शेराबगर र कट्टिछापमा गोरु जुधाइएको हो। ‘तारुकाको पौरख, नेपालको गौरव’ भन्ने नारासहित नुवाकोटको तार्केश्वर गाउँपालिका वडा नम्बर ३ तारुकामा यस वर्ष २१ हल जुधाइएको माघे सङ्क्रान्ति संरक्षण समितिका सचिव केशवप्रसाद रिमालले बताए। उक्त मेला नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले उद्घाटन गरेका थिए। बझाङ्गी राजकुमार जयपृथ्वीबहादुर सिंहको उपस्थितिमा १८८७ सालदेखि सुरु भएको गोरु जुधाइ प्रतियोगितालाई नुवाकोटको तारुकावासीले जगेर्ना गर्दै २०६२ सालदेखि विदेशी बुलफाइटको मनोरञ्जन बिर्साउँदै आएका छन्।

‘कला, संस्कृति र सम्पदाको संरक्षण गरौं, उत्तरगयाधाम बेत्रावतीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याऔं’ भन्ने नारासहित रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा १३ हल गोरु जुधाइएको छ। नेपाल र तिब्बतबीच १८४९ असोज १७ गते बेत्रावती सन्धि भएको खुसियालीमा गोसाइँकुण्ड युवा क्लबले गोरु जुधाइ आयोजना गरिएको हो।

यस्तै, नुवाकोटको पञ्चकञ्या गाउँपालिका–३ पीपलडाँडामा–५, लिखु गाउँपालिकाको सहयोगमा मगर संघले कट्टिछापमा आयोजना गरेको मेलामा ३, तादी गाउँपालिका–४ सातबिसेको सार्कीबगरमा १० र शिवपुरी गाउँपालिकाको गैरीफाँटमा ५ हल गोरु जुधाइएको थियो।

परम्परागत रूपमा मनाइँदै आएको गोरु जुधाइ मेलाका सहभागी वक्ताले पर्यटन वर्ष २०२० लाई सफल बनाउन कला, संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

प्रकाशित: २ माघ २०७६ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App