coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टोटेनह्याम र न्युक्यासल चौथो चरणमा

मिडल्सब्रोका खेलाडीका बीचबाट बल अघि बढाउदै टोटेनह्यामका ह्यारी विंक्स (विच )।

लन्डन – टोटेनह्याम हट्सपर र न्युक्यासल युनाइटेड एफए कपको चौथो चरणमा स्थानमा बनाउन सफल भएका छन्। मंगलबार सम्पन्न तेस्रो चरणको रिप्लेमा टोटेनह्यामले मिडल्सब्रोलाई २–१ ले स्तब्ध बनाउँदा न्युक्यासलले भने रोचडेलमाथि ४–१ को जित दर्ता ग-यो ।

टोटेनह्यामले सुरुआतमै दुई गोलको अग्रता लिँदा मिडल्सब्रोले खेल सकिन सात मिनेट छँदा गोल फर्कायो। जोजे माउरिन्होको टोली टोटेनह्यामले घरेलु मैदानमा पहिलो १५ मिनेटभित्र नै दुई गोलको अग्रता लिएको थियो। रियाल बेटिसबाट लोनमा टोटेनह्याम आएका जियोभानी लो सेल्सोले क्लबका लागि यस सिजन दोस्रो गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। यस सिजन सेल्सोले पहिलो गोल गत नोभेम्बरमा च्याम्पियन्स लिगअन्तर्गत रेड स्टार बेलगे्रडविरुद्ध गरेका थिए।

लन्डनमा संघर्षमय तरिकाबाट खेल करियर बिताएका अर्जेन्टिनी मिडफिल्डर सेल्सोले काउन्टर मुभबाट मिडल्सब्रोविरुद्ध पहिलो गोल गरे। सन् २००८ पछि टोटेनह्याम इङ्लिस फुटबलमा उपाधिविमुख रहँदै आएको छ। हाल मिडल्सब्रोका प्रशिक्षक रहेका जोनाथन वुडगेटको निर्णायक गोलमा चेल्सीलाई २–१ ले हराउँदै टोटेनह्यामले सन् २००८ मा लिग कपको उपाधि जितेको थियो। त्यसयता भने टोटेनह्याम उपाधि जित्न असफल रहँदै आएको छ ।

यस सिजन एफए कपको चौथो चरणमा पुग्दै टोटेनह्यामले उपाधि जित्ने आशा जगाएको छ। यसअघि तेस्रो चरणमै टोटेनह्याम मिडल्सब्रोसँग अप्रत्याशित पराजयको संघारमा थियो। यद्यपि, लुकास मौराको गोलबाट टोटेनह्यामले बराबरीको नतिजासहित हार टारेको थियो। गत हप्ता लिभरपुलसँगको हारपछि माउरिन्होले आफ्नो टोलीमा पाँच खेलाडी परिवर्तन गरेका थिए । मिडल्सब्रोका गोलकिपर टोमस मेजियसको गल्तीबाट फाइदा उठाउँदा टोटेनह्यामले दोस्रो मिनेटमै अग्रता बनाउन सफल भयो।

अर्जेन्टिनी स्टार इरिक लामेलाको गोलपछि टोटेनह्यामले १५ मिनेटभित्र नै दोस्रो गोल ग-यो। ८३औं मिनेटमा जर्ज सेभिलले मिडल्र्सब्रोका लागि गोल फर्काए पनि आफ्नो टोलीको हार टार्न सकेनन्। टोटेनह्यामले चौथो चरणमा साउथ ह्याम्पटन विरुद्ध जनवरी २५ मा प्रतिस्पर्धा गर्नेछ ।
यता, सेन्ट जेम्स पार्क स्टेडियम क्लब न्युक्यासलले चौथो चरणमा पुग्न लिग वान क्लब रोचडेलविरुद्ध निकै संघर्ष गर्नुप-यो। यसअघिको खेलमा १–१ को बराबरीमा रोकिएपछि रिप्ले खेल्नुपरेको थियो। रिप्लेमा भने न्युक्यासल ४–१ को फराकिलो जित निकाल्न सफल हुँदै १४ वर्षपछि एफए कपको चौथो चरणमा पुग्यो ।

म्याट रिचीको क्रस बललाई रोक्ने क्रममा रोचडेलका डिफेन्डर ओगन ओ कोनेलले आत्मघाती गोल गरेपछि १७औं मिनेटमै न्युक्यासलले अग्रता लियो। त्यसको तीन मिनेटपछि नै न्युक्यासलले अग्रता दोब्बर बनाउँदा म्याटी लङ्सटाफले गोल गरे। यसअघिको खेलमा न्युक्यासललाई हारबाट जोगाएको मिगुल अलमिरोनले रिप्ले खेलमा पनि गोल गर्न सफल भए। उनले २६औं मिनेटमा गोल गरेपछि न्युक्यासल ३–० ले अगाडि रह्यो। ८२औं मिनेटमा जोइलिन्टनले गोल गरेपछि न्युक्यासल ४–० को फराकिलो जितनजिक पुगे पनि त्यसको दुई मिनेटपछि रोचडेलले गोल फर्कायो। ८६औं मिनेटमा विलियम्सले गोल फर्काउँदै रोचडेलको हार ४–१ मा  छोट्याए। 

प्रकाशित: २ माघ २०७६ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App