coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

त्रिभुवन आर्मी फाइनलमा

प्रदेश ३ विरूद्ध बलिङ गर्दै आर्मिका साहब आलम ।

इटहरी - त्रिभुवन आर्मी क्लब सुनसरीको इनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। पहिलो सेमिफाइनलमा बुधबार प्रदेश ३ लाई हराउँदै आर्मी फाइनल पुगेको हो। आर्मीले प्रदेश ३ लाई ६४ रनले हरायो।

२ सय १७ रनको लक्ष्य पछ्याएको प्रदेश ३ खेलको ३८.३ ओभरमा १ सय ५२ रन बनाउँदै अलआउट हुन पुग्यो। सोनु तामाङले ७५ बलमा ४ चौका र ६ छक्कासहित ७४ रन जोडे पनि टोलीको हार टार्न सकेनन्। ३८औं ओभरको अन्तिम बलमा कुशल मल्लले भीम सार्कीबाट सोनुलाई आउट गरेपछि प्रदेश ३ को जित सम्भावना सकिएको थियो। विक्रम सोबले पहिलो बलमै ओपनर रित गौतमलाई विनोद भण्डारीबाट क्याच  गराए। छैटौं ओभरको चौथो बलमा कप्तान सुवास खकुरेल १५ रनमा रनआउट भए। सुवासले १५ बलमा २ चौका प्रहार गरे। नवौं ओभरको दोस्रो बलमा जितेन्द्रसिंह ठकुरीलाई स्पिनर सुशन भारीले रोहितकुमार पौडेलबाट २ रनमा क्याच गराए।

दशौं ओभरको अन्तिम बलमा ईशान पाण्डे ३३ बलमा ३ चौकासहित १७ रनमा क्याच भएपछि प्रदेश तीन संकटमा परेको थियो। अभिषेक बस्नेत ५, आदिल खान ६ र रामनरेश गिरी ४ रनमा आउट भएपछि प्रदेश ३ जितबाट टाढिएको थियो। आर्मीका स्पिनर सुशन भारीले ८.१ ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए। साहब आलमले २, विक्रम सोब, हरिबहादुर चौहान, हरिकृष्ण झा र सुशल मल्लले १ /१ विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मी ४६.३ ओभरमा २ सय १६ रनमा अलआउट भएको थियो। ओपनर अनिलकुमार मण्डलले सर्वाधिक ४३ रन जोडे। लेग स्पिनर तिलकराज भण्डारीले ३०औं ओभरको पहिलो बलमा बोल्ड गर्नुअघि मण्डलले ७३ बलमा ३ चौका प्रहार गरे ।

चौथो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर गौतम केसीले ओपनर हरिकृष्ण झालाई ६ रनमा विकेटकिपर आदिल खानबाट क्याच गराए। २०औं ओभरको अन्तिम बलमा नन्दन यादवले रोहितकुमार पौडेललाई २९ रनमा रामनरेश गिरिबाट क्याच गराए। रोहितले ३७ बलमा ४ चौका प्रहार गरे । राजेश पुलामीमगर १७, विनोद भण्डारी ६ र भीम सार्की १५ रनमा आउट भए। युवा अलराउन्डर कुशल मल्लले २६ बलमा ४ चौका र २ छक्कासहित ३७ रन जोडे। विक्रम सोबले २४, सुशन भारीले १३ र साहब आलमले १ रन जोडे। बलिङतर्फ गौतम केसीले ४ विकेट लिए भने तिलकराज भण्डारी, नन्दन यादव र ईशान पाण्डेको नाममा २/२ विकेट रह्यो।

दोस्रो सेमिफाइनलमा बिहीबार नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश भिड्नेछन्। विजेताले आर्मीसँग उपाधिको लागि माघ ४ मा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २ माघ २०७६ ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App