८ वैशाख २०८१ शनिबार
खेल

चितवनलाई भदौरे गणेश कप

भदौरे गणेश कपको उपाधिका साथ विजेता खेलाडी।

सिन्धुपाल्चोक -  रामेछापलाई ३–० को सोझो सेटमा स्तब्ध बनाउँदै चितवनले सिन्धुपाल्चोकको भलिबल खेलइतिहासमा सर्वाधिक धनराशि पुरस्कारको बागमती प्रदेशस्तरीय प्रथम भदौरे गणेश कपको उपाधिको जितेको छ।

चौतारा सँगाचोकगढी नगरपालिका–७ सानो सिरुवारीमा बुधबार चितवनले रामेछापलाई २५–२०, २५–२३ र २६–२४ ले पराजित ग-यो। उत्कृष्ट प्रदर्शन गरेको रामेछाप तीनवटै सेटमा अन्तिम समयसम्म सम्हालिन नसक्दा उपविजेतामा चित्त बुझाउन बाध्य भयो। विजेता चितवनले ट्रफीका साथ दुई लाख दुई हजार २० रुपैयाँ नगद पुरस्कार हात पा-यो। उपविजेता रामेछापले एक लाख एक हजार १० रुपैयाँ नगद पुरस्कार पायो। प्रतियोगिताको व्यक्तिगत विधातर्फ चितवनले नै वर्चस्व जमायो। चितवनका दुर्गाबहादुर मगर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदा रामबहादुर थापामगर उत्कृष्ट सटर, दीपक थापा उत्कृष्ट सर्भर, ओमबहादुर कार्की उत्कृष्ट ब्लकर, चिन्तामणि चौधरी उत्कृष्ट लिब्रो र रमेशचन्द विक उत्कृष्ट प्रशिक्षक घोषित भए। रामेछापका सुजन खड्काले उत्कृष्ट स्पाइकरको उपाधि जिते।

उत्कृष्ट घोषित खेलाडीले ट्रफी र नगद तीन हजार रुपैयाँका दरले पुरस्कार पाए। विजेता टोली र खेलाडीहरुलाई बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले ट्रफी, मेडल र नगद पुरस्कार वितरण गरे। प्रदेशको खेलकुद विकासका लागि आफ्नो मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि सारेको उनले बताए। मुलुक संघीय ढाँचामा गएपछि बागमती प्रदेशले सबैभन्दा पहिला प्रदेश खेलकुद परिषद् गठन गरेको उल्लेख गर्दै मन्त्री दुलालले भने, ‘नेपालको खेलकुद क्षेत्र स्वर्णयुगमा प्रवेश गरेको छ ।’

भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने हेतुले भदौरे गणेश सामाजिक संस्थाको आयोजना र नेपाने युथ क्लवको सहआयोजनामा साता चलेको प्रतियोगितामा प्रदेशभित्रका काठमाडौं र रसुवाबाहेक ११ जिल्लाले सहभागिता जनाएका थिए। आयोजक भदौरे गणेशका अध्यक्ष रविन गौतमले बर्सेनी प्रतियोगिता आयोजना गर्दै जाने बताए।

प्रकाशित: २ माघ २०७६ ०१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App