coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'अब राजनीतिक भ्रष्टाचार रोक्नुपर्छ’

खेमराज रेग्मी

नीतिगत भ्रष्टाचार बढ्यो भनेर भनिरहनुभएको छ। अहिलेको गतिविधिलाई कसरी हेर्नुभएको छ ?
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केही समययता प्रशासनिक भ्रष्टाचार नियन्त्रणमा तदारुकता देखाएको छ। केही अनुसन्धानमा सफलता हासिल गरेको छ भने थुप्रै भ्रष्टाचारका मुद्दा दायर गरेको छ। पछिल्लो समय प्रशासनिक भ्रष्टाचार नियन्त्रणमा अख्तियार सक्रिय देखिए पनि राजनीतिक व्यक्तित्व संग्लन भएका मुद्दामा भने निष्क्रिय भएजस्तो देखियो। भ्रष्टाचार गर्ने उद्देश्यले कानुन परिवर्तन, अधिग्रहणको उद्देश्यविपरीत व्यापारिक घरानालाई दिन कानुन परिमार्जन गर्नु मुलुकप्रतिको घात हो।

राजनीतिक संलग्नता भएका मुद्दामा अख्तियार सक्रिय देखिएन। मन्त्रिपरिषद्ले जे निर्णय गरे पनि नीतिगत निर्णय मान्ने परिपाटी बसालियो। यो गलत हो। प्रचलित ऐनकानुन अवलम्बन गरिएको र मुलुकको फाइदाका निम्ति गरिएका निर्णयहरू मात्रै नीतिगत हुन्। यस्ता किसिमका निर्णयमा अख्तियारले सक्रियता देखाउनुपर्छ।

अख्तियारले पछिल्लो समय स्थानीय तहमा पनि भ्रष्टाचार बढ्यो भनिरहेको छ। स्थानीय तहमा भ्रष्टाचार बढेकै हो ?
सबै नभनौं। धेरै ठेकेदार स्थानीय तहमा जनप्रतिनिधि भएका छन्। उनीहरू जसरी हुन्छ आफ्नो फाइदा खोज्नेतर्फ लागिरहेका छन्। आफैं डोजर किनेका छन्। केहीले त राम्रो काम पनि गरेका छन्। तर अधिकांश स्थानीय तहका जनप्रतिनिधिको काम भनेको डोजर किन्ने, बाटो खन्ने, ठेक्का आफैं लिने हो। स्थानीय तहमा काम आवश्यकताभन्दा पनि ठेकेदार जनप्रतिनिधिको व्यवसाय कसरी बढ्छ भन्नेतर्फ केन्द्रित भयो। यो अत्यन्तै दुःखद हो। अहिले राजनीति पैसा कमाउने व्यवसाय भएको छ। यो बन्द हुनु जरुरी छ।

अहिले सरकार र अख्तियारको भूमिका कस्तो हुनुपर्छ ?
अख्तियारले अझै थप र सक्रिय भूमिका निर्वाह गर्नुपर्छ। अख्तियारको भूमिका नीतिगत र प्रशासनिक भ्रष्टाचार छुट्ट्याएर कारबाही गर्ने हुनुपर्छ। हामीकहाँ मन्त्रीले सचिव र विभागीय प्रमुखलाई निर्देशन दिएर निर्णय गराउने तर पछि विवाद आयो भने मैले होइन भनेर पन्छिने चलन छ। यसले गर्दा राजनीतिक भ्रष्टाचारले पनि जरा गाड्यो। यो नियन्त्रण गर्नुपर्छ। सरकार स्वयं पनि प्रतिबद्ध भएर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्छ।

भ्रष्टाचार नियन्त्रणमा ट्रान्सपरेन्सी इन्टरनेसनलको भूमिका कस्तो रहन्छ ?
हामी कार्यकारी अधिकार भएको संस्था होइन। हाम्रो काम भनेको नागरिकमा सचेतना बढाउने, सरकारलाई खबरदारी गर्ने हो, जुन हामी गरिरहेका छौं।
(रेग्मी ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष हुन्।)

प्रकाशित: २ माघ २०७६ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App