८ वैशाख २०८१ शनिबार
समाज

उदयपुरमा धुमधाम ‘माघी’

उदयपुर- माघ १ गते तीन नदीको संगमस्थल (त्रिबेणी) मा नुहाउने, पूजा आराधना, नाचगान गर्दै सद्भाव आदानप्रदान गर्ने परम्परा नेपाली समाजमा छ। जस अनुसार सदरमुकाममा त्रियुगा नगरपालिका १२ विसनपुरस्थित त्रिबेणीमा माघी महोत्सवको आयोजना गरियो।

त्रियुगा, बरुवा र लुहाले खोलाको संगमस्थल विसनपुरमा वर्षेनी माघी महोत्सव आयोजना गर्ने गरिएको थारु अगुवा बेचुदास चौधरी बताउँछन्। बेलका र चौदण्डीगढी नगरपालिकाका पनि स्थानीय खोला खहरेको त्रिबेणस्थलमा बिभिन्न कार्यक्रम गरी सामुहिक र व्यक्तिगत माघी पर्व मनाइएको छ। थारु कल्याणकारीणीसभा उदयपुरले त्रियुगा, चौदण्डगढी र बेलकामा माघीको अवसरमा बिबिध कार्यक्रम गरी पर्व मनाएको सभाका अध्यक्ष शिवकान्त चौधरीले बताएका छन्।

त्यसैगरी मगर समुदायले त्रियुगा १४ साउनेमा माघी महोत्सव आयोजना गरेको छ। नेपाल मगर संघ उदयपुरको आयोजनामा साउने बजारमा आउँदो १५ दिनसम्म चल्ने महोत्सव त्रियुगा १४ का वडाध्यक्ष कुरुङ राईले उद्घाटन गरे। महोत्सवको अवसरमा साउने बजारदेखि ५ किलोमिटर तल तेलतेले जंगलमा रहेको पञ्चेश्वर गुफाको दर्शन र प्रचारप्रसार गर्ने संघले जनाएको छ।

उता कटारी नगरपालिकाको त्रिबेणीमा ककरु, तावा र कमला नदीको संगमस्थलमा १५ दिने त्रिबेणी मेला सुरु भएको छ। सदियौंदेखि मैनी मेला भनेर प्रसिद्धि कमाएको त्रिबेणी मेलामा माघ १ गते बिभिन्न ठाउँबाट आएका आन्तरिक पर्यटक तथा भक्तजनले कमला नदीमा मकर नुहाएर हाँस र परेवाको बली दिएर पूजा आराधना गर्ने गरेका छन्।

आन्तरिकसँगै भारतका बिभिन्न जिल्लाबाटसमेत भक्तजन र व्यापारीहरुले त्रिबेणी मेला भरिभराउ भएको स्थानीय शंकर सिंहले बताए। उनका अनुसार पहिले जुवा तासको ठूलो खेल हुने गरेको त्रिबेणी मेलामा पछिल्लो दशकयता जुवा तास र मदिरामा बन्देज गरिएको छ।

त्रिबेणी मेला भक्तजनको धार्मिक कार्य गर्ने ठाउँ मात्र नभएर ओखलढुंगाको रुम्जाटारबाट भेडाको उनबाट बनेको राडीपाखी तथा सोलुखुम्बुका भोटे कुकुरका छाउरा बेच्न ल्याउने ठाउँ पनि हो। त्यस्तै तराई र भारतीय सहरबाट स्थानीय र बहुराष्ट्रिय कम्पनी उद्योगबाट उत्पादित सामाग्री र घोडा तथा भारी बोक्ने गधा बेच्न ल्याउने संगमस्थल पनि भएको कटारी २ का वडाध्यक्ष प्रेमराज थापा बताउँछन्।

वडाध्यक्ष थापाका अनुसार यसवर्षको मेलामा उदयपुरको सुन्तला, सिन्धुलीको जुनार र ओखलढुंगाको राडी मुख्य आकर्षण रहेका छन्। मेलामा बाल उद्यान, सांस्कृतिक कार्यक्रम, रोटेपिङ र स्थानीय कलाकारहरुको गीत तथा नृत्यको आकर्षण पनि रहेको थापाले बताए।

सरकारले योग दिवसको रुपमा पनि मान्यता दिइसकेकाले माघ १ गतेबाट गाईघाटमा योग शिविरसमेत सुरु भएको छ। साताव्यापी योग दिवस सुरु हुनुअघि सरकारी तथा गैरसरकारी संघसंस्थाको सहभागितामा सदरमुकाममा बुधबार विहान प्रभातफेरी आयोजना गरियो। प्रभातफेरीमा बिभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावसमेत सहभागी र्‍यालीले नगर परिक्रमा गरी शिवरस्थल पुगेर समापन भएको थियो। 

प्रकाशित: १ माघ २०७६ १४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App