८ वैशाख २०८१ शनिबार
समाज

बराहतालको गुरुयोजना तयार

पहिलेको र अहिलेको बराहताल ।

सुर्खेत- दुई वर्षअघिसम्म नाम जस्तै थियो, बराहताल। तरंगाको घना जंगल बीचमा १२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल आफैमा सुन्दर थियो। सदरमुकाम वीरेन्द्रनगरदेखि २२ किलोमिटर पश्चिममा रहेको ताल शान्त र सफा थियो। यहीँ तालको नामबाट गाउँपालिकाको नाम पनि राखियो। अहिले बराहतालको पानी सुकेर चौरमा परिणत भएको छ। हाँस, सारस जस्ता विभिन्न खालका चराहरू देखिन छोडेका छन्। जंगलको बीचमा ताल भएकाले रूखबाट खस्ने पातपतिंगरहरू टिपेर ताल बाहिर फाल्ने चराहरु पनि आजभोलि देखिँदैनन्।

ताललाई पुरानै अवस्थामा ल्याउन कर्णाली प्रदेश सरकारले गुरुयोजना निर्माण गरेको छ। ‘सुर्खेत कै प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने बराहतालको पानी सुखेर चरन क्षेत्रमा परिणत भएको छ,’ प्रदेश सरकारका मुख्यसचिव केवलप्रसाद भण्डारीले भने, ‘ताललाई पहिले कै अवस्थामा फर्काउनका लागि गुरुयोजना निर्माण गरेर काम गरिरहेका छौं।’ स्मार्ट इन्जिनियरिङ एण्ड डिजाईन सोलुसनले बनाएको पाँच वर्षे गुरुयोजनाका लागि आठ करोड ४१ लाख ४७ हजार ३ सय ५ रुपैयाँ खर्च लाग्ने छ।

ताललाई पुरानो अवस्थामा फर्काउन तीन ओटा विकल्प गुरुयोजनामा समेटिएको छ। पहिलो चरणमा तालमा भएको बनमारा उखेल्ने, पुरिएको क्षेत्र पन्छाउने र पानीको श्रोतको पहिचान गर्ने। गुरुयोजनामा तालमा पानी भर्नका लागि भेरी नदीबाट लिफ्ट प्रविधिमार्फत प्रति सेकेण्ड तीन लिटर तालमा खसाल्ने पनि उल्लेख छ।

पाँच वर्षे गुरुयोजना अन्र्तगत पहिलो वर्ष खहरेमा जाली भर्ने, माटो निकाल्ने, त्यसपछिका वर्षहरुमा वृक्षरोपण, भ्यू टावर निर्माण, बराह मन्दिर पुनर्निर्माणसहित अन्य संरचना निर्माण गर्ने उल्लेख छ। पहिलो वर्षको कामका लागि ७२ लाख रुपैयाँ आवश्यक पर्ने गुरुयोजनामा उल्लेख छ। अहिले चुरे क्षेत्र कार्यक्रम अन्र्तगत ५५ लाख र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १० लाख रुपैयाँ छुट्याएको छ। मुख्यसचिव भण्डारीले ताललाई पुरानै अवस्थामा ल्याउन ४५ लाख ७१ हजार ४ सय ८१ रुपैयाँ र संरचना निर्माण गर्न पाँच करोड २९ लाख ८२ हजार २ सयस ६१ रुपैयाँ लाग्ने बताए। ताललाई सुरक्षित राख्न थप २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

ताल सुकेर चौरमा परिणत भएपछि गाउँपालिका सबैभन्दा बढी तनावमा देखिन्छ। ‘तालकै नामबाट गाउँपालिकाको नामाकरण गरिएको हो,’ गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले भने, ‘तालै नरहेपछि नामै परिवर्तन गर्नुपर्ने दवाव हामीमाथि छ।’ उनले ताललाई पुरानै अवस्थामा ल्याउन गाउँपालिका एक्लैले नसक्ने भएकाले प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए।

प्रदेशसभा सदस्य विन्दमान विष्टले ताललाई पुरानै अवस्थामा ल्याउन आवश्यक रहेको बताए। ‘भेरीबाट पानी लिफ्ट गरेर भएपनि ताललाई पुरानै अवस्थामा ल्याउन आवश्यक छ,’ उनले भने, ‘ताल पर्यटकका लागि मात्रै होइन्, यहाँका चराचुरुङ्गी र जनावरहरुका लागि पनि महत्वपूर्ण छ।’

 

प्रकाशित: १ माघ २०७६ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App