coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

महुरे–राजापानी सडक गुणस्तरहीन

महुरे–राजापानी सडकखण्डमा निर्माणाधीन क्युरिङ नगरिएको सडक। तस्बिरः नागरिक

खोटाङ – जिल्लाको महुरे–राजापानी सडक कालोपत्रे गुणस्तरहीन भएको पाइएको छ। खोटाङ र उदयपुर जोड्ने गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार खण्डमा पर्ने महुरे–राजापानी सडक कालोपत्रे गर्दा गुणस्तरहिन ढुंगा, गिटी, बालुवा प्रयोग गरिएको स्थानीयको गुनासो छ। निर्माण कम्पनी भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले महुरे–सिमपानी (राजापानी) २२ किलोमिटर खण्डमा गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले पुस २३ गते करिब ३० मिटर ड्रेन भत्काइदिएका छन्।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेश राईले महुरेदेखि बुईपा र राजापानीबीचमा सडकको कतिपय मेसिनरी पर्खाल पल्टिएको, भत्किएको, मेसिनरी वाललाई पानीले भिजाएर क्युरिङ नगरिएको, माटो मिसिएको बालुवा प्रयोग गरेको, बेस पनि कमसल ओछ्याइएको पाइएको बताए।

सडक कालोपत्रे राजापानीको मालास्थित संसारी डाँडाको गिटी र साप्सु खोलाको बालुवा प्रयोग गर्ने गरी ल्याब टेस्ट पास गराएको भए पनि निर्माण कम्पनीले अन्यत्रैको गिटी र बालुवा प्रयोग गरिरहेको स्थानीयको दाबी छ। महुरेदेखि बुईपा स्वास्थ्य चौकीसम्मको करिव २ सय मिटर क्षेत्रको सडक गुणस्तरहीन भएको स्थानीय बताउँछन्।

ठेकेदारलाई सडक गुणस्तरीय बनाउन भनिए पनि बेवास्ता गरेको वडाध्यक्ष राईको भनाइ छ। ‘पाखाको माटोसहितको बालुवा प्रयोग गरिरहेको पाइएपछि वडा कार्यालयका तर्फबाट रोक लगाएका थियौँ,’ वडाध्यक्ष राईले भने, ‘विरोध गरेजस्तो हुन्छ तर, सडकको काम एकदमै गुणस्तरहीन छ। आफ्नो गाउँमा गुणस्तरको काम होस् भन्ने हाम्रो चाहना हो।’

भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीका फिल्ड को–अर्डिनेटर पुष्प शाहीले पनि सडकको संरचना कमजोर बनेको स्वीकार गरे। शाहीले पहिला खटाइएका साइड इन्चार्जले गुणस्तरहीन काम गराएकाले ती संरचना भत्काउने प्रतिवद्धता जनाएका छन्।

निर्माण कम्पनीको काममा उस्तै ढिलासुस्ती देखिएको छ। हालसम्म महुरे–सिमपानी (राजापानी) सडकको ३५ प्रतिशत भौतिक र ३३ प्रतिशत वित्तिय प्रगति देखिएको बताइएको छ। २०७३ असार ३० गते सम्झौता गरिएको उक्त सडकको लागत करिब ९१ करोड रूपैयाँ छ। सडक २०७७ साउन ११ गतेसम्म सक्ने लक्ष्यका साथ महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रे थालिएको हो।

सिमपानी भञ्ज्याङ (राजापानी)देखि फोक्सिङटारसम्मको २७ किलोमिटर खण्डको कालोपत्रे भने देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जिम्मा लिएको छ। पूर्वी नेपालका तराई जोड्ने मार्गको रूपमा रहेको गाईघाट–दिक्तेल
सगरमाथा राजमार्ग अन्तर्गत फोक्सिङटार–सिमपानी भञ्ज्याङको कामको प्रगतिसमेत सन्तोषजनक नदेखिएको स्थानीय बताउँछन्।

कामदारले पारिश्रमिक नपाएपछि काम ठप्प
काम गरेबापतको पारिश्रमिक नपाएपछि आक्रोशित कामदारले महुरे–सिमपानी (राजापानी) सडक कालोपत्रे ठप्प बनाएका छन्। काम गरे पनि ठेकेदारले वर्षौँसम्म पारिश्रमिक नदिएपछि कामदारले पुस २० गतेदेखि सडक कालोपत्रे ठप्प बनाएका हुन्।

जिल्ला प्रशासन कार्यालय खोटाङमा दुई महिनाअघि भएको छलफलमा निर्माण कम्पनी भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीका प्रतिनिधिले पुस २० गतेसम्ममा पारिश्रमिक भुक्तानी गर्ने कागज गरेका भए पनि सम्झौता अनुसारको भुक्तानी नदिएपछि कामदारले सडकको काम रोकेका हुन्।

प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायका अनुसार आक्रोशित कामदारले निर्माण कम्पनीको ६ टिपर, १ पानी ट्यांकर, २ स्काभेटर, १ बोलेरो र १ ब्याक होलोडरको चाबी नियन्त्रणमा लिएर प्रहरी चौकी बुईपालाई बुझाएका छन्।

प्रकाशित: १ माघ २०७६ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App