८ वैशाख २०८१ शनिबार
समाज

‘मिटरब्याजी’ यादवविरुद्ध ठगीमा अनुसन्धान

सर्लाही – सर्लाही प्रहरीले ‘मिटरब्याजी’ रामबाबु राय यादवविरुद्ध ठगी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुर्व्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको छ।

अनुसन्धान गर्न जिल्ला अदालतले पाँच दिन म्याद दिएको सर्लाही प्रहरी प्रमुख विश्वमणि पोखरेलले जानकारी दिए। ‘यादवविरुद्ध तत्कालका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएका थियौं’, पोखरेलले नागरिकसँग भने, ‘यसबीच यादवविरुद्ध निकै प्रमाण जुटाइसकेका छौं, त्यसैले आजबाट जिल्ला अदालतबाटै म्याद लिएर ठगी मुद्दामा अनुसन्धान सुरु गरेका छौं।’

प्रहरी हिरासतमै रहेका यादवको बरहथवा नगरपालिका–१० सीतापुरस्थित घरमा सोमबार मध्याह्न सुरक्षाकर्मीको टोलीले छापा मारेको थियो। अनुसन्धानका क्रममा आवश्यक कागजात संकलन गर्न यादवको घरमा खानतलासी गरिएको प्रहरीले जनाएको छ। ‘खानतलासीबाट अनुसन्धानमा आवश्यक पर्ने प्रमाणजन्य कागजात नियन्त्रणमा लिएका छौं’, पोखरेलले भने। प्रहरी टोलीले झन्डै दुई घण्टा यादवको घरमा खानतलासी गरेर ऋण लगानी गरेको तमसुक, चेकबुकलगायत विभिन्न कागजात नियन्त्रणमा लिएको छ।

ऋण तिरिसक्दा पनि तमसुक फिर्ता नगरेको, ऋण दिँदा ५ गुणा बढीको कागज बनाउने गरेको लगायत गुनासो लिएर सर्लाहीबाट पीडितको एक समूह काठमाडौं पुगी गृहमन्त्री रामबहादुर थापा एवं प्रहरी अधिकारीलाई भेटेको थियो। त्यसपछि गृह मन्त्रालयको निर्देशनमा सर्लाही प्रहरीले यादवलाई पक्राउ गरेको हो।

पीडितको समूहले सर्लाहीकै ब्रह्मपुरी निवासी सञ्जय गुप्ता रौंनियारविरुद्ध समेत सोही प्रकारको उजुरी गरेका थिए। रौनियार भारततर्फ भाग्न सफल भएको सर्लाही प्रहरीले जनाएको छ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय सदस्य रहेका यादव स्थानीय तह निर्वाचनमा राजपाका तर्फबाट बरहथवा नगरपालिकामा प्रमुखको प्रत्याशी थिए। त्यस्तै रौनियार तत्कालीन नयाँशक्ति पार्टीबाट प्रतिनिधिसभाका प्रत्याशी थिए। राजपा नेपालले राजनीतिक पूर्वाग्रह राखेर सरकारले यादवलाई फसाउने प्रपञ्च रचेको आरोप लगाउँदै आएको छ।

यसअघि पनि मिटरब्याजीको आरोपमा सर्लाही कविलासीका श्याम परदेशी साह कलवार केही महिनाअघि पक्राउ परेका थिए। ठगी मुद्दाअन्तर्गत अदालतको आदेशअनुसार उनी हाल पुर्पक्षका लागि गौर कारगारमा छन्।

प्रकाशित: १ माघ २०७६ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App