६ वैशाख २०८१ बिहीबार
अर्थ

अन्तर्राष्ट्रिय हेबी इक्युपमेन्ट प्रदर्शनी हुँदै

काठमाडौं - अमेरिकाको क्यालिफोर्नियामा बर्सेनि नविनतम आविष्कार भएका सूचना प्रविधिसम्बन्धी सामग्रीको मेला लाग्छ। वर्षभर आविष्कार भएका उत्पादनको अवलोकन गर्न मेलामा संसारभरका मानिस जम्मा हुन्छन्। सूचना प्रविधि मात्र होइन अमेरिकाकै विभिन्न राज्यमा हेबी इक्युपमेन्टका सामग्री सम्बन्धी प्रदर्शनी पनि भइराखेका हुन्छन्।

त्यस्ताखाले प्रदर्शनीमा विश्वभरका निर्माण व्यवसायी, उद्योगी व्यवसायी र अन्य लगानीकर्ता सम्मेलनको जमघट हुन्छ। लाखौं रुपैयाँ खर्च गरेर त्यहाँ पुग्नेको मुख्य उद्देश्य हो– नयाँ प्रविधिसँग साक्षात्कार गर्दै आ–आफ्नो पेसा व्यवसायलाई समय सान्दर्भिक बनाउने र उद्योग तथा व्यवसायको क्षमता विस्तार र कार्यशैलीमा थप परिष्कार गर्ने। यही कारण प्रतिस्पर्धात्मक बजारमा अझै प्रतिस्पर्धा गर्न सहयोग पु-याउने गर्छ।

अमेरिका तथा अन्य युरोपेली मुलुकको जस्तो परिस्कृत खालको अन्तर्राष्ट्रिय सम्मेलन नभए पनि अब आफूलाई सुहाउँदो र आवश्यकता अनुसारको मेला अवलोकन गर्न अन्यत्र जानु नपर्ने भएको छ। नेपाल निर्माण व्यवसायी महासंघको चाँजोपाँजोमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको हेबी इक्युपमेन्ट तथा निर्माण सामग्रीको प्रदर्शनी हुने भएको हो। महासंघको अगुवाइमा आगामी माघ ३ देखि ५ गतेसम्म भक्तपुरको सल्लाघारीमा ‘नेपाल बिल्डटेक एक्स्पो २०२०’ हुने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इन्डियाको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्न लागिएको हो। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले विश्व बजारमा आएका नयाँ हेबी इक्युपमेन्ट र निर्माण यन्त्र उपकरणबारे एकै थलोमा जानकारी गराउनका लागि नेपाल बिल्डटेक एक्स्पो गर्न लागेको बताए। ‘विदेशी मुलुकमा हुने हेबी इक्युपमेन्ट एक्स्पोमा सहभागी हुनका लागि धेरै खर्चिलो हुने गर्छ,’ उनले भने, ‘विदेशमा हुने प्रदर्शनीमा चाहेर पनि धेरै निर्माण व्यवसायी सहभागी हुन सक्दैनन्। त्यसैले स्वदेशमा नै धेरै निर्माण व्यवसायी तथा अन्य उद्योगीलाई लक्षित गरेर एक्स्पो गर्न लागेका हौं।’

अध्यक्ष सिंहले एक्स्पो निर्माण क्षेत्रमा रुची राख्ने सबैका लागि उपयुक्त मञ्च हुने बताए। ‘निर्माण व्यवसायीलाई विश्व बजारमा आएका नयाँ–नयाँ निर्माण उपकरणबारे जानकारी लिन उपयुक्त मञ्च हुनेछ,’ उनले भने, ‘एउटै छानोमुनि धेरै कम्पनीका थरिथरिका हेबी इक्युपमेन्ट र निर्माण सामग्रीको सम्पूर्ण जानकारी लिन सकिन्छ। जसले निर्माण क्षेत्रका व्यवसायीलाई निकै फाइदा पुग्नेछ।’ नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष तथा एक्स्पो संयोजक निकोलस पाण्डेले एक्स्पोमा मुलुकभरमा सम्पूर्ण निर्माण व्यवसायी सहभागिता जनाउने बताए।

‘आफ्नै खर्चमा अन्तर्राष्ट्रिय प्रदर्शनीमा जान धेरै खर्चिलो र झन्झटिलो पनि हुन्छ,’ उनले भने, ‘नेपालमा नै विश्वभर आएका नयाँ खालका इक्युपमेन्ट र निर्माण सामग्री प्रदर्शनीको अवलोकन र किनमेल पनि गर्न सकिने व्यवस्था गरिएको छ। त्यसैले यो सम्मेलन पक्कै पनि निर्माण व्यवसायका लगानीकर्ताका लागि एउटा सुनौलो अवसर पनि हो।’ महासंघले हेबी इक्युपमेन्टका उत्पादनसँग निर्माण व्यवसायीले सोझै निर्माण सामग्री समेत खरिद गर्न सक्ने पनि व्यवस्था मिलाएको छ। वरिष्ठ उपाध्यक्ष पाण्डेले एक्स्पोमा निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित एक सय ६० भन्दा बढी प्रदर्शनी कक्ष राखिएको बताए।

‘एक्स्पो ७० हजार स्क्वायर फिट क्षेत्रमा फैलिनेछ,’ उनले भने, ‘हामीले एक्स्पोलाई नाफा घाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीका रुपमा स्थापित गर्न खोजेका छौं।’ भक्तपुरको सल्लाघारीमा चल्ने एक्स्पोमा करिब पाँच हजार दर्शकले अवलोकन गर्ने आयोजनाको अनुमान रहेको छ। महासंघले एक्स्पोलाई लक्षित गरेर महासंघको २१ औं साधारणसभा माघ ३ र ४ गते भक्तपुरको सल्लाघारी मैदानमा गर्ने भएको छ। महासंघका महासचिव रोशन दाहालले एक्स्पोमा सम्पूर्ण निर्माण व्यवसायीको सहभागिता गराउनका लागि यही मौकामा साधारण सभा गर्ने निर्णय गरेको बताए। ‘एक्स्पोकै अवसर पारेर महासंघको २१ औं वार्षिक साधारण सभा गर्न लागेका हौं,’ उनले भने, ‘साधारण सभामा पनि सहभागी हुने र एक्स्पो पनि अवलोकन गर्न सकिनेछ।’

महासंघका अनुसार वार्षिक साधारण सभामा १५ सयभन्दा धेरै निर्माण व्यवसायी उपस्थित हुनेछन्। महासचिव दाहालले साधारणसभा र एक्स्पोको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए। महासंघका अनुसार साधारण सभा उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने कार्यक्रम तय गरिएको छ। सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन र पूरा हुन बाँकी रहेका अन्य मागका विषयमा साधारण सभामा छलफल भई महासंघको भक्तपुर घोषणापत्र जारी  गर्ने कार्यक्रम रहेको छ। सोही अवसरमा निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञहरुको लेख रचना समेटिएको महासंघको मुखपत्र ‘नेपाली निर्माण विशेषांक’ विमोचन  गरिने महासंघले जनाएको छ।  

एक्स्पोको सहयोगी साझेदारका रुपमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर आफ कमर्स लगायत संस्था रहेका छन्। त्यसैगरी नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस् (स्काफ नेपाल), नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, युथ कम्युनिटी फर नेपलिज कन्ट्र्याक्टर्स (वाइसिएनसी), सोसाइटी अफ नेपलिज आर्किटेक्चर्स (सोना), एल्मोनियम व्यवसायी संघ नेपाल, नेपाल फर्निचर संघ, स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल, र भारतको राजकोट हार्डवयर म्यानफ्याक्चर एसोसिएसन पनि एक्स्पोको सहयोगी साझेदार संस्था रहेका छन्।

प्रकाशित: १ माघ २०७६ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App