coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डोजर लगाएर पाखा भत्काउनु मात्र विकास होइन : मुख्यमन्त्री पौडेल

धादिङको मूलपानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल। तस्बिर : सरिता/नागरिक

धादिङ – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय, प्रदेश र स्थानीय तीनै सरकार मुलुकको विकास निर्माणमा लागेको बताए। धादिङको त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ३ मूलपानीमा निर्माण गरेको महेन्द्रोदय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले काम गर्ने शैली, व्यवहारमा परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने बताए।

लामो आन्दोलन र अथक प्रयासपछि देशमा संघीयता आएको भए पनि पूरानै ढर्रामा चलिरहेकाले गर्दा संघीयतालाई स्थायित्व दिन स्थानीय सरकारले बलियो हुनुपर्ने बताए। ‘विकास डोजर लगाएर पाखा भत्काउनु मात्र विकास होइन,’ स्थानीय सरकारलाई निर्देशन दिँदै उनले भने, ‘ठेकेदारको काम गर्नुहुन्छ भने ठेकेदार बन्नुस्, जनताको सेवा गर्न आउनुभएको हो भने विकासमा तल्लिन हुनुहोस्।’

स्थानीय सरकारले जनमुखी काम गर्न नसकेको विषयलाई आंैलाउदै योजना बनाएर जानुपर्ने बताए। ‘देशमा तीन तहको सरकार भएकाले आफू एक्लै सर्वैसर्वा ठान्नुु हुँदैन,’ उनले भने, ‘तीनवटै सरकार एकअर्काका परिपूरक हुन्, आफू नै सवैसर्वा भएको जस्तो गरी केही स्थानीय तह चलेका छन्, त्यसले कसैलाई पनि फाइदा गर्दैैन।’ अहिले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा देखिएकाले प्रदेश सरकारमा आफूले एक रूपैयाँ पनि भ्रष्टाचार नगर्ने र अरू भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता व्यक्त गरे।

केन्द्रीय सरकारले लिएको ‘सुखी नेपाली र समृद्ध नेपाल’ नारा प्रदेश र स्थानीय तहले पनि मनन गर्नुपर्नेमा पौडेलले जोड दिए। ‘तीनै तहको सरकारबीचको समन्वयबाट मात्रै समृद्ध नेपालको कल्पना गर्न सकिन्छ’, मुख्यमन्त्री पौडेलले भने, ‘हामीले अलगअलग ढंगले काम गर्न थाल्यौं भने हामी जहाँको त्यही बस्छौं, न नेपाली सुखी हुन्छन्, न नेपाल नै समृद्ध हुन्छ।’ सरकारले गर्ने विकासले बढीभन्दा बढी जनतालाई लाभ हुने र स्थानीय जनताका समस्या हल हुने खालको बन्नुपर्नेमा जोड दिए।

प्रदेश सरकारको काम सुरुवाती वर्षमा केही अप्ठ्यारा रहेकाले जनताले प्रदेश सरकारको अनुभूति गर्न नसकेको पौडेलले स्वीकार गरे। ‘सुरुवाती दिनमा प्रदेश सरकारसँग कानुन थिएन, संस्थागत संरचना थिएन, त्यो अवस्थामा सरकार बन्यो, सरकारले बनेको भोलिपल्ट के काम गर्ने भन्ने प्रष्ट थिएन,’ मन्त्री पौडेलले भने, ‘अब प्रदेश सरकारले ट्र्याक समाइसकेकाले केही समयभित्र प्रदेश सरकारको अनुभूति हुनेगरी विकास निर्माणका काम छरपष्ट देखिने छ।’

हिजोको गाउँविकास समितिभन्दा अहिलेको गाउँपलिकाबीच आकाश–जमिनको फरक छ। कतिपय स्थानीय तह आफू छुट्टै सरकार भए पनि हिजोकै गाउँ विकास समितिकै संस्कार, चिन्तन लिएर काम गरिरहेकाले जनताले नयाँ संरचना र विकासको अनुभूति गर्न नपाएको हो कि भन्नेमा मन्त्री पौडेलले शंका व्यक्त गरे। गाउँपालिकाको विकासको निम्ति बनाइएको योजनाहरूले सबै गाउँपालिका समेट्ने र पालिकाभित्रका स्थानीय सबै लाभान्भित हुने खालको बनाउने मन्त्री पौडेलले आग्रह गरे।

विद्यालयको उद्घाटनमा बोल्दै मुख्यमन्त्रीले निजीभन्दा सरकारी विद्यालयमा विद्यार्थी टिकाउने वातावरण बनाउनुपर्नेमा जोड दिए। विद्यालयमा पढाउने नभई सिकाउने काम गरे अवश्य व्यावहारिक शिक्षा हासिल गर्ने बताए। शिक्षालाई सीपमूलक बनाउन प्राविधिक शिक्षा ९० प्रतिशत बनाउने र प्रत्येक विद्यालयमा प्राविधिक शिक्षालय बनाउने अभियानमा प्रदेश सरकार लागेको उनले बताए।

प्रकाशित: १ माघ २०७६ ०२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App