४ वैशाख २०८१ मंगलबार
राजनीति

कांग्रेसका दोस्रो तहका नेता छलफलमा

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नै पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्। केन्द्रीय समितिको बहुमतको निर्णयबाट १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिकपछि आन्तरिक विवाद तीव्र भइरहेका बेला मंगलबार राजधानीमा कार्यक्रम गरेर आफ्नो समूहको छुट्टै अस्तित्व देखाउने प्रयास गरेका हुन्।

१३ औं महाधिवेशनमा नेता रामचन्द्र पौडेललाई सभापतिमा अस्वीकार गर्दै नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका सिटौला पछिल्ला दिनमा सभापति शेरबहादुर देउवासँग केही टाढिएका छन्। कतिपयले सिटौला नेतृत्वको समूह संस्थापन इतरपक्षमा समाहित भएको विश्लेषण गर्न थालेका बेला जिपी कोइराला प्रर्वद्धन केन्द्रको नाममा कार्यक्रम गरेर सिटौलाले देउवा र पौडेल भन्दा आफूलाई फरक देखाउन खोजेका हुन्। सिटौलानिकट केन्द्रीय सदस्यहरू गगनकुमार थापा, प्रदीप पौडेल संस्थापन इतर समूहमा र उमाकान्त चौधरी, शिव हुमागाईँ संस्थापनसँग लचिलो देखिएका छन्।

तर, पूर्वमहामन्त्री सिटौलाले आफ्नो समूह संस्थापन र इतर दुवै समूहसँग नरहेको सन्देश प्रवाह गर्दै आयोजना गरिएको कार्यक्रममा उनले अदालत, संसद्, अख्तियारको काममा सरकारले हस्तक्षप गरिरहेको बताए। सरकारका असंवैधानिक कदमको प्रमुख प्रतिपक्षको हैसियतमा भूमिका निर्वाह गर्न नसकेको जिकिर गर्दै उनले भने, ‘सरकार लोकतन्त्रविरुद्धमा लागे त्यसको रक्षा गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षको हो। कांग्रेसले पनि मौनता साँधेर बसेको छ। यो अर्को चुनौती हो।’

महाभारतमा कृष्णले अर्जुनलाई साथ लिएर कौरवलाई पराजय गरेको सुनाउँदै सिटौलाले कांग्रेसमा अहिले अर्जुनको अभाव रहेको बताए। सभापति देउवा वा नेता पौडेल दुवै अर्जुन बन्न सक्ने आफूले नदेखेको सुनाउँदै उनले भने, ‘त्यसैले अहिले जे छ त्यही ढंगले अघि बढ्ने हो।’

पार्टीभित्र उत्पन्न पछिल्लो विवाद समाधान गरेर जाने विषयमा सभापति देउवा, नेता पौडेल र आफूबीचमा सकारात्मक छलफल भए पनि निष्कर्षमा भने पुग्न बाँकी रहेको सिटौलाले जानकारी दिए। संस्थापन इतरको उपस्थितिबिनै पुस ११ गते बसेको केन्द्रीय समितिको बहुमतले १४ औं महाधिवेशनको कार्यतालिकासहितका निर्णयपछि पार्टीका शीर्ष नेताबीचको सम्वादहीनता तोड्दै आइतबार देउवा निवास बूढानीलकण्ठमा सभापति देउवा, नेता पौडेल र सिटौलाबीच छलफल भएको थियो।

कार्यक्रममा केन्द्रीय सदस्य प्रदीप पौडेल, शिव हुमागाईँसहितले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले कार्यकर्ताले अरिंगाल बनाएर जनतालाई डस्न खोजेको आरोप लगाएका थिए। केहीदिन अघि नै कार्यक्रमतय भए पनि केन्द्रीय सदस्य गगनकुमार थापा भने उपस्थित थिएनन्।

नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएको विवाद समाधान गर्न दोस्रो तहका नेताले छलफल थालेका छन्। सभापति शेरबहादुर देउवाले सम्वादहीनता तोड्दै आइतबार नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गरेपछि त्यसलाई निरन्तरता दिंदै मंगलबार उपसभापति विमलेन्द्र निधि विवाद समाधानको प्रयासमा जुटेका हुन्।

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनको तयारीमा केहीदिनको धनुषा बसाइपछि सोमबार काठमाडौं आएका निधिले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासँग विवाद समाधानका विषयमा प्रारम्भीक छलफल गरेका छन्। पार्टीभित्र उत्पन्न पछिल्लो विवादका विषयमा भारत भ्रमणमा रहेका नेता रामचन्द्र पौडेल काठमाडौं फर्केपछि विस्तृतमा छलफल गर्ने समझदारी तीन नेताबीच भए पनि सिंह र सिटौला पुस ११ गतेको निर्णय सच्याउनुपर्ने अडान निधिसँगको भेटमा पनि दोहो-याएका छन्।

१४ औं महाधिवेशनको कार्यतालिका केही तलमाथि गर्न सभापति देउवासहित संस्थापन पक्ष सकारात्मक रहे पनि २०७७ फागुन ७ देखि १० गतेका लागि तय गरेको अन्तिम तालिका भने परिर्वतन गर्ने कुरालाई अस्वीकार गर्दै आएको छ। सार्वजनीक कार्यतालिका व्यावहारिक नभएको भन्दै त्यसलाई संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

संस्थापन पक्ष केन्द्रीय समितिबाट निलम्बन गरीएको पार्टी विधानका धारा फुकुवा गर्न सकारात्मक देखिएको छ भने असनतुष्ट पक्षको मागअनुसार क्रियाशील सदस्यता वितरण र छानबिनका लागि समिति गठन गर्ने र भ्रातृ संगठनका विषयमा समझदारी गरेर अघि बढ्न सकारात्मक रहेको स्रोतको दाबी छ।

प्रकाशित: १ माघ २०७६ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App