१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थारु बस्तीमा माघीको रौनक

माघीको पूर्वसन्ध्यामा नृत्य प्रर्दशन गर्दै बाँकेका थारु युवती । तस्बिर: अर्जुन/नागरिक

नेपालगन्ज- बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ७ टिटिहिरियाका बिनोद थारुको घरमा माघीको रमझम बेग्लै छ। एक साता अघिदेखि नै उनको परिवार माघीको तयारीमा जुटेको थियो। माघी नजिक आईसकेपछि भने टाढाका आफन्त, ईष्टमित्र जुटिसकेका छन्। घरलाई सिंगारेर चिटिक्क पारिएको छ। घरमा ढिंक्री, मासु, माछा, घोगी लगायत परिकार तयार गरिएको छ। ‘हाम्रो गाउँघर यतिबेला माघीमय बनेको छ, टाढा रहेका आफन्त, ईष्टमित्र जुटिसकेका छन्, माघीको उत्साह बेग्लै खालको छ,’ नागरिकसँग उनले भने।

उनको बिचारमा पहिलेको भन्दा अहिले थारु समुदायमा माघी मनाउने प्रचलन थोरै फेरिएको छ। पहिले माघीको अवसरमा घर घरमा पुगेर मघौटा नाँच नाच्ने र मान्यजनबाट आर्शिवाद लिने चलन भएपनि अहिले माघी आउनुभन्दा पहिलेदेखि नै माघी मिलन, माघी साँस्कृतिक र माघी महोत्सव जस्ता कार्यक्रम गर्ने प्रचलन बढेको थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष समेत रहेका बिनोद बताउँछन्। माघी पर्वले थारु सँस्कृतीलाई उजागर गर्ने गरेको उनको तर्क छ। माघी पर्वलाई थारु समुदायले आफ्नो सँस्कृति प्रर्दशन गर्ने अवसरको रुपमा लिएको यहाँका थारु अगुवा बताउँछन्।

पश्चिम तराईको बाँकेसहित बर्दिया, कैलाली, कञ्चनपुर र दाङका थारु बस्तीमा माघीको रमझम यतिबेला बढेको छ। यहाँका थारु बस्तीमा युवा युवतीहरु मघौटा, सखिया र हुरदंगाा नाँच्ने गरेका छन्। माघीलाई नयाँ वर्षको रुपमा मनाउने गरेका थारु समुदायले यस पर्वमा मिठा परिकार खाने र खुवाउने, भेटघाट, छलफल तथा नयाँ योजना बनाउने, बिबाहको छिनोफानो जस्ता क्रियाकलाप पनि गर्छन्। यसका साथै गाउँको मुखिया अर्थात् ‘मतवा’ छान्ने पनि प्रचलन रहेको छ।

माघी पर्वलाई अझ व्यवस्थित र परिस्कृत रुपले मनाउन थालेको थारु अगुवा बताउँछन्। माघी पर्वको उत्साह थारु समुदायमा अहिले पनि कायमै रहेको संविधान सभाका पूर्वसभासद पट्टु थारुको बुझाई छ। उनी भन्छन्, ‘माघीको उत्साह अहिले पनि पहिलेकै जस्तो छ, माघी पर्व मनाउने चलन पहिलेको भन्दा केही फरक देखिए पनि उत्साह चाही घटेको छैन।’

अहिले पनि माघीको अवसरमा थारु समुदायमा वर्षभरीको नयाँ योजना बनाउने, विवाहको छिनोफानो, गाउँमा मतवा छान्ने जस्ता क्रियाकलाप यथावत रहेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ निवासी पूर्वसभासद थारु बताउँछन्। माघीलाई थारु समुदायले आफ्नो सबैभन्दा ठूलो चाडको रुपमा मनाउँछन्। उनीहरुले माघ १ गतेको दिनलाई विशेष रुपमा मनाउने गरे पनि माघी पर्वलाई झण्डै हप्ता दिनसम्म मनाउने प्रचलन रहेको छ।

माघी पर्व थारु समुदायमा पारिवारीक मिलन, सुख दुःख साटासाट, भेटघाट, नाँचगान गराउने माध्यम बनेकाले यसको विशेष महत्व रहेको थारु अगुवा एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु बताउँछन्। ‘हाम्रो समुदायको लागि माघी यस्तो पर्व हो, जसले थारु समुदायमा वर्षभरीको दुःख पीडा भुलेर खुसी साटासाट गर्ने अवसर प्रदान गरिदिएको छ,’ उनले भने। माघी पर्वको रौनकता वर्षेनी झन् थपिदै गएको अध्यक्ष थारुको दावी छ।


 

प्रकाशित: २९ पुस २०७६ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App