७ वैशाख २०८१ शुक्रबार
समाज

‘भ्रष्टाचार नेपाली जनताको साझा शत्रु’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले तयार पारेको २९ औं वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख कलौनी ।

सुर्खेत- कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले भ्रष्टाचार नेपाली जनताको साझा शत्रु भएकाले यसलाई जरैदेखि उखेल्नुपर्ने बताएका छन्। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले तयार पारेको २९ औं वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख कलौनीले समग्र देशको आकडा हेर्दा कर्णाली प्रदेशमा अख्तियार दुरुपयोगको अवस्था कम देखिनु भौगालिक विकटता, जनचेतना र पहुँचको कमीले हुनसक्ने बताए।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कर्णालीबाट कम उजुरी दर्ता हुनुलाई भ्रष्टाचार कम भयो भनेर मान्न सकिँदैन,’ प्रदेश प्रमुख कलौनीले भने, ‘यहाँको भौगोलिक अवस्था, पहुँच र जनचेतना नपुगेर पनि धेरै उजुरी नआएको हुनसक्छन्, त्यसतर्फ ध्यान दिन आवश्यक छ।’

प्रमुख कलौनीले अख्तियारले अनुसरण गरेको भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको व्यवहार सराहनीय भएको बताए। ‘आयोगले लिएको प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक तीन खम्बे रणनीतिमा प्रवद्र्धनात्मक रणनीतिलाई थप महत्व दिनु आवश्यक छ,’ प्रमुख कलौनीले भने, ‘सकेसम्म निरोधात्मक र दण्डात्मक तर्फ जान नपर्ने परिस्थितिको सिर्जना गर्नुहोस्।’

उनले संघीयताको नयाँ अभ्यासबाट नेपाल समृद्धिको यात्रामा रहेको बताउँदै भ्रष्टाचार निर्मुल नभईकन समृद्धि सम्भव नहुने बताए। उनले भ्रष्टाचारविरुद्धको काम–कारबाहीमा तीनवटै सरकारले विशेष कौशल देखाउनुपर्ने बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख शेषनारायण पौडेलले आम मानिसमा सचेतना वृद्धि भएका कारण आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा उजुरी, फछर्यौट, विस्तृत अनुसन्धान, रंगेहात कारबाही र मुद्दा दर्तामा वृद्धि भएको बताए।

प्रदेशगत हिसाबमा आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा कम उजुरी दर्ता कर्णाली प्रदेशमा भएको बताउँदै कार्यालय प्रमुख पौडेलले आयोजना तथा कार्यक्रम कार्यान्वयनमा समन्वय गरी दोहोरो बजेट विनियोजन नियन्त्रण गर्नुपर्नेमा जोड दिए।

 

 

प्रकाशित: २९ पुस २०७६ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App