coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘समृद्धिका लागि युवाहरुको साथ र सहयोग आवश्यक’

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको समृद्धि र विकासका लागि युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। प्रदेश युवा सम्मेलन–२०२० को वीरेन्द्रनगरमा समापन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली गरिवी, अशिक्षा र अभाव मात्रै नभएर संभावनाको पनि खानी भएकाले ति संभावना उजागर गर्न युवाहरु अग्रसर हुनुपर्ने बताए।

मुख्यमन्त्री शाहीले युवाहरुलाई आलोचना र विरोधमा समय खेर नफाल्न पनि आग्रह गरे। ‘आलोचना र विरोधमा विताउने समय आफ्नो बृद्धि विकासमा लगाउनुहोस्,’ उनले भने, ‘आफ्नो जीवन बुझ्ने युवाहरुनै देशको भविश्य हुन्।’ उनले प्रदेशभरीका युवाहरुसँग बृहत छलफल गरेर आउने निष्कर्षलाई सरकारले नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने बताए।

‘कर्णालीका युवाहरुको सोच, माग, बुझाई, चुनौति र भावी लक्ष्यका बारेमा सरकार बृहत छलफल गर्न चाहन्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘युवाहरु अग्रसर नहुँदासम्म प्रदेशको समृद्धि र विकास नहुने भएकाले युवाहरुले निकालेको निष्कर्षलाई आगामी नीति, कार्यक्रम र बजेटमा समावेश गछौं।’

मुख्यमन्त्री शाहीले दुई दिनसम्म भएको सम्मेलनबाट निकालिएको घोषणापत्र अनुसार प्रतिवद्ध भएर काम गर्न पनि युवाहरुलाई आग्रह गरे। ‘तपाईहरुले तयार पारेको घोषणापत्र साँच्चीकै महत्वपूर्ण छ, यो घोषणापत्र अनुसार काम गर्नुभयो भने प्रदेशको समृद्धि र विकास टाढा छैन्,’ उनले भने, ‘सरकारसँगका अपेक्षा हामी पूरा गछौं, तपाईहरु अघि बढ्नुहोस्।’

मुख्यमन्त्री शाहीले युवाहरुलाई उत्पादनमूलक काममा लाग्न जोड दिए। उनले श्रमको सम्मान गर्ने परिपाटीको विकास गर्नका लागि प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाई श्रमदिन घोषणा गरेको भन्दै त्यसलाई सघाउन युवाहरुले देखाएको प्रतिवद्धताको प्रशंसा गरे।

१५ बुँदे घोषणापत्र जारी

१५ बुँदे सुर्खेत घोषणापत्र जारी गर्दै प्रदेश युवा सम्मेलन–२०२० सम्पन्न भएको छ। घोषणा–पत्रमा कर्णालीका १० वटै जिल्लाका उद्यमी युवाहरुलाई सहुलियत ऋणको व्यवस्था गर्न, युवाहरुमा स्वयम्सेवी भावना जागृत गर्दै प्रदेशको साक्षरतादर बृद्धि गर्नका लागि आगामी वर्षलाई ‘युवा परिचालन वर्ष’ घोषणा गर्न माग गरिएको छ। कर्णाली प्रदेश सरकारले घोषणा गरे अनुसार हरेक महिनाको १ र १५ गते सामाजिक श्रमदान अभियानमा १० वटै जिल्लाका युवाहरुलाई समावेश गराउने घोषणा–पत्रमा उल्लेख छ।

यस्तै जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्नका लागि बृहत वृक्षारोपण कार्यक्रमलाई प्रदेशभर लागू गर्न, मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम लागू गरेर परम्परागत, मौलिक सीप र कलाको संरक्षण गर्दै शिक्षाको आधुनिकिकरण र व्यवसायिक बनाउन, प्रदेश र स्थानीय तहको नीति निर्माणमा युवाहरुलाई सहभागी गराउन माग गरिएको छ। यस्तै कर्णालीका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि पर्यटकीय क्षेत्रहरुको अनलाईनमा सूचिकृत गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने, युवा उद्यमीहरुलाई प्रोत्साहनका साथै पर्यटनका नयाँ क्षेत्र र विधाहरुको अध्ययन–अनुसन्धान गर्ने उल्लेख छ।

घोषणा–पत्रमा पर्यटन, उद्यमशीलता, उद्योग, कृषिको आधुनिकीकरण, प्राकृतिक स्रोतको संरक्षण तथा व्यवस्थापनका विषयमा युवाहरुलाई जनगरुक गराउँदै प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराउँदै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्न माग गरिएको छ।

नेपाल युवा परिषद्को आयोजनामा दुई दिनसम्म प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको सम्मेलनमा १० जिल्लाका दुई सयबढी युवाहरुको सहभागीता रहेको थियो। कार्यक्रममा पर्यटन, कृषि, स्वास्थ्य, सरसफाई, उद्यम, नेतृत्व तथा व्यक्तित्व विकासलगायतका विषयमा छुट्टाछुट्टै कार्यपत्रहरु प्रस्तुत गरिएको थियो।

 

प्रकाशित: २९ पुस २०७६ ०६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App