१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'स्वर्गको ढोका खोल्न' बाजेको किरिया

दाङ-कलिलो अनुहार। तीन दिन भयो, एक छाक खान थालेको। त्यो पनि ‘नुन’ विनै। तर खानाभन्दा पनि आफ्नो ‘बाजे’ गुमाउनुको पीडा बढी छ  उनमा। सेतो कपडामा ‘कोरा’ बसेकी ती बालिका भन्दै थिइन्, ‘बाजेको आत्माले स्वर्गमा बास पाओस्।’
उनका आफन्त कोही थिए त उनै बाजे मात्रै । छ दिनअघि तिनै बाजे परलोक भए । घोराही–६, गिठेपानीकी १३ वर्षीया बालिका विन्दु नेपालीलाई ‘कोरा’ भित्र बसेर बाजेका लागि स्वर्गको ढोका खोल्ने ‘संस्कार’ पूरा गर्नु छ । स्थानीय सामुदायिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत उनले भनिन्, ‘मलाई सहारा दिएका बाजेको स्वर्गबासका लागि किरिया बसेकी हुँ,जति दुःख भए पनि बाजेका लागि सहन्छु ।’
बाजेको किरिया बस्नुलाई उनी कर्तव्य ठान्छिन् । उनका बाजे प्र्रेमबहादुर थिए । बाजेको मृत्यु संस्कार गर्ने जिम्मा विन्दुको काँधमा आइलाग्यो । ‘बाजेको बंश भनेकै म मात्रै बचेकी छु,’ उनले भनिन्, ‘म छँदाछँदै अरुलाई किरिया बस्न दिन मनले मानेन ।’  तीन दिनअघि कलेजो रोगले मृत्यु भएका प्रेमबहादुरका एक्ला छोरा कर्णबहादुर (विन्दुका बाबु) को १२ वर्षअघि ब्रेन ट्युमरबाट मृत्यु भएको थियो । त्यसबेला विन्दु एक वर्षकी थिइन् । उनी भन्छिन्, ‘बुवा कस्तो हुनुहुन्थ्यो सम्झना छैन ।’ श्रीमानविनाको घर विन्दुकी आमा पुष्पालाई शून्य लाग्न थाल्यो । उनी छोरी लिएर माइत बस्न थालिन् । विन्दु मामाघरमै हुर्किइन् । ‘बाबा बितेपछि मलाई आमाले मामाको घरमा लैजानु भयो, म उतै हुर्किएँ,’ उनले भनिन्, ‘बाजेको अन्तिम संस्कार गर्न लेख्यारै’छ ।’ विन्दु १० वर्ष हुँदा आमा पुष्पा अर्कैसँग बिहे गरेर गइन् ।
नातिनी एक्लै भएको थाहा पाएपछि बाजे प्रेमबहादुरले ६ महिनाअघि विन्दुलाई घरमा ल्याएका थिए । बाजेले मामाघर पुगेर बिन्दुलाई भनेका थिए रे, ‘म मरेपछि मेरो किरिया गर्ने बंश लिन आएको हुँ, हिँड् जाम् । बाजे लिन गएपछि घर आएँ।’ उनले बाजेलाई उद्धृत गर्दै भनिन्, ‘म मरेछु भने पनि मेरो सन्तान तँ बाहेक अरु कोही छैन, तँ नै किरिया बसेस्।’
प्रेमबहादुरको मृत्युपछि स्थानीयबीच छलफल चल्यो, ‘दागवत्ति कस्ले दिने ? किरिया को बस्ने ?’ विन्दुले बाजेको अन्त्येष्टि संस्कार सबै आफैंले गर्ने भनिन् । गाउँले सबै सहमत भए । ‘छोरानाति कोही नभएपछि नातिनी किरिया बस्न हुनेमा सहमति भयो,’ विन्दुका मामा भक्तबहादुर नेपालीले भने, ‘नानी पनि राजी थिइन्।’  मलामीसहित विन्दु घाटमा पुगिन् र बाजेलाई दागबत्ती दिइन् । अहिले उनी किरिया बसेकी छन्। उनको परीक्षा २३ गतेदेखि चल्दै छ । किरिया फुक्दासम्म उनको दुइै दिनको परीक्षा छुट्छ। ‘दुई दिनको परीक्षा छुट्छ,’ उनले भनिन्, ‘परीक्षा दिन मिल्ने गरी सरहरूलाई भन्न पठाउनु पर्ला।’

 

प्रकाशित: १९ असार २०७३ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App