७ वैशाख २०८१ शुक्रबार
अर्थ

अक्वा हन्ड्रेडलाई जरिवाना


काठमाडौं – कम्पनी द्वारमूल्य नराखी पिउने पानी बिक्री गरेको भन्दै बालाजुको अक्वा हन्ड्रेडलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले जरिवाना गरेको छ। आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त कम्पनीको पानीमा लेबल नदेखेपछि सोमबार विभागको टोली अनुगमन गर्न गएको थियो। सो क्रममा अनिवार्य गरिएको द्वार मूल्य नपाएपछि एक लाख रुपैयाँ जरिवाना गरिएको विभागका अनुगमन अधिकृत दिपकराज पोखरेलले जानकारी दिए।

‘लेबलको कुरा बाहिर आएपछि अनुगमनमा गएका थियौं, सबै खालका उत्पादनका बजार मूल्य मात्र उल्लेख गरेको देखियो,’ उनले भने, ‘यसभन्दा अगाडि पनि सचेत गराएको तर त्यही गल्ती दोहो-याएको पाएकोले जरिवाना गरिएको हो।’ उपभोक्ता संरक्षण ऐनको दफा २० को  उपदफा १ मा मूल्यसूची नराखेको अवस्थामा ५० हजारदेखि एक लाखसम्म जरिवाना गर्ने व्यवस्था छ। बालाजु औद्योगिक क्षेत्रमा रहेको अक्वाको कारखानाबाट अनुगमन टोलीले सबै उत्पादनको नमुना लिई खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागको प्रयोगशालामा जाँच गराएको थियो।

कम्पनीलाई विभागमा आवश्यक उद्योग दर्ता, नवीकरण, करचुक्ता प्रमाणपत्र लगायत कागजात सहित तीन दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको उनले बताए। ‘लेबलको हकमा अनुगमन अधिकृतले कारवाही गर्न मिल्दैन, स्पष्टीकरण पछि महानिर्देशकले कारवाही गर्ने व्यवस्था छ,’ उनले भने, ‘जरिवाना मात्र गर्ने या कैदसम्मको कारवाही गर्ने भन्ने कुरा थप अनुसन्धानपछि खुल्छ।’ लेबल नराखेको अवस्थामा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ४० (१) क मा तीनमहिना कैद र ५० हजारसम्म जरिवानाको व्यवस्था छ। अक्वा पानीको गुणस्तरमा भने कैफियत नभेटिएको विभागले जनाएको छ।

प्रकाशित: २९ पुस २०७६ ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App