८ वैशाख २०८१ शनिबार
अर्थ

पोखराका हवाई यात्रु सात लाख २० हजार

पोखरा विमानस्थलबाट उडान र अवतरणको तयारीमा रहेका हवाईजहाज।


पोखरा - यहाँस्थित विमानस्थलले दैनिक औसत एक हजार यात्रुलाई हवाइजहाजबाट पोखरा भित्र्याउने गरेको छ। त्यत्तिकै संख्यामा यात्रुलाई पोखराबाट बाहिर पठाउने गरेको छ। दैनिक दुई हजार यात्रुलाई हवाई सेवा दिइरहँदा पाँच सयभन्दा बढी विदेशी हुने गरेको विमानस्थलले बताएको छ।

पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईंका अनुसार सन् २०१९ मा सबै गरी सात लाख २० हजार सात सय १४ यात्रु पोखरा विमानस्थलबाट आउजाउ गरेका थिए। यो अहिलेसम्मकै बढी संख्या हो। तीमध्ये एक लाख ९३ हजार चार सय ४२ विदेशी रहेको उनले बताए। विदेशी यात्रुमध्ये पनि धेरैजसो पर्यटकको रुपमा घुम्न आएका पाहुना छन्। ‘हरेक दिन दुई हजार यात्रुले पोखराको यो विमानस्थलबाट आउजाउ गरिरहेका छन,’ गुरागाईंले भने, ‘बर्सेनि स्वदेशी र विदेशी सबै खाले हवाई यात्रुको संख्या बढिरहेको छ।’ सन् २०१८ मा पोखरा विमानस्थलबाट ६ लाख नौ हजार नौ सय ७५ यात्रु ओहोरदोहोर गरेका थिए। २०१८ मा हवाईमार्ग प्रयोग गर्ने विदेशी यात्रुको संख्या एक लाख ७९ हजार आठ सय १० थियो। २०१८ भन्दा २०१९ मा सबै गरी एक लाख १० हजार सात सय ३९ यात्रु बढेको उनले बताए।

‘हवाई यात्रुको वृद्धिदरले पनि पोखराको यो विमानस्थललाई व्यस्त बनाएको छ। वर्षमा एक लाखभन्दा बढीको दरले यात्रु बढ्दा उडान चाप थपिनु स्वभाविक हो,’ उनले भने, ‘पर्यटकीय गन्तव्य भएकोले पनि हवाई यात्रुको चाप पोखरामा बढी हुने गरेको छ। सन् २०१७ को तुलनामा २०१८ मा पोखरामा एक लाख ३३ हजार यात्रु बढेका थिए। २०१७ मा चार लाख ७७ हजार दुई सय ४४ यात्रु हवाई मार्गबाट पोखरा आएका थिए। हवाईमार्ग बाहेक पोखरामा स्थलमार्गबाट पनि उत्तिकै संख्यामा आन्तरिक र बाह्य पर्यटक आउने गरेको व्यवसायीले बताउने गरेका छन्।  

यात्रु बढिरहँदा क्षमताभन्दा बाहिर गएर विमानस्थलले सेवा प्रदान गरेको उनले बताए। गुरागाईंका अनुसार यो विमानस्थलको क्षमता दैनिक पाँच सय यात्रु हो। तर अहिले दैनिक दुई हजार हाराहारी यात्रुलाई सेवा दिनुपरेको उनले बताए। ‘सहज रुपमा उडान सुचारु हुँदा त खासै समस्या हुँदैन। जब काठमाडौंमा एयर ट्राफिक जाम बढेर उडान ढिला हुन्छ, त्यो बेला भने हामीलाई चाप थेग्न हम्मे हुन्छ। यस्तै समस्या मौसममा खराबी आउँदा पनि हुन्छ,’ उनले भने, ‘लामो समय रोकिएका उडान एकैपटक सञ्चालनमा आउँदा यात्रु थेग्न समस्या हुने गरेको छ।’ यस्तो बेला व्यवस्थापनमा समेत समस्या हुने गरेको उनले बताए।

विमानस्थलको भौतिक संरचनाले अहिलेको यात्रु चाप थेग्न मुस्किल भइरहेको उनले बताए। ‘एकपटकमा दुई सय ५० जना यात्रु क्षमताको डिपार्चर हल छ। तर कुनैबेला एकैपटक पाँच सय यात्रु पठाउनुपर्ने अवस्था आउँछ,’ गुरागाईंले भने, ‘त्यो बेला हम्मेहम्मे पर्छ।’ यात्रु चाप आगामी वर्ष अझै बढ्ने गुरागाईंको अनुमान छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाइरहेको छ। २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारको भ्रमण वर्ष मनाईरहँदा पोखरा भित्रिने विदेशीको संख्या बढ्ने उनको अनुमान छ।

त्यस्तै, हवाईमार्ग प्रयोग गर्ने आन्तरिक यात्रु संख्या पनि बढिरहेको उनले बताए। नेपाल भ्रमण वर्षको प्रभाव आन्तरिक पाहुनामा पनि पर्ने उनको भनाइ छ। ‘१–२ दिन बिदाको मौका पारेर पोखरा घुम्न आउने नेपाली बढ्दा वर्षमा एक लाखभन्दा बढी यात्रु थपिने गरेको छ। आन्तरिक पाहुनाका लागि त पोखरा झनै सजिलो गन्तव्य बनेको छ,’ उनले भने, ‘पोखरा आउजाउमा सहज भएको र घुम्नका लागि गतिला गन्तव्य भएकोले बिदाको सदुपयोग गर्न चाहने आन्तरिक पाहुना पोखरा भित्रिन्छन्।’ विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार यात्रु संख्या ह्वात्तै बढ्नुमा पोखराबाट हुने हवाई उडानमा नयाँ गन्तव्य थपिनुको पनि हात छ।

नयाँ गन्तव्य सहित उडान संख्या पनि बढिरहेको सुवेदीले बताए। पछिल्लो समय बुद्ध र यती एयरलाइन्सले पोखरा–काठमाडौं बाहेक पोखरा–भरतपुर र पोखरा–भैरहवा रुटमा पनि दैनिक उडान गरिरहेका छन्। त्यस्तै आन्तरिक यात्रु बढेकै कारण बिहान सात बजे नै काठमाडौंबाट पोखराका लागि उडान हुन थालेको छ। त्यसले गर्दा कामकाजी यात्रुलाई पनि पोखरा–काठमाडौं–पोखरा रुटमा गर्न सहज भएको छ। पोखराबाट भैरहवा र भरतपुर उडान थपिँदा पनि यात्रु बढेका छन्। किनभने चितवनको सौराहा र लुम्बिनी पर्यटकीय गन्तव्य भएकोले आन्तरिक तथा बाह्य पर्यटक पोखरा आउजाउमा हवाई उडानले सहज भएको छ,’ सुवेदीले भने, ‘नयाँ गन्तव्य थपिनासाथ यात्रुको आउजाउ बढिहाल्छ। हिजोसम्म गाडीमा आउजाउ गर्ने यात्रु अहिले हवाईजहाज प्रयोग गर्न थालेका छन्।’

अहिले पोखरामा ठूला आकारका जहाजबाट आन्तरिक हवाई कम्पनीले उडान गरिरहेका छन्। काठमाडौें–पोखरा रुटमा अहिले ७० सिट क्षमताका एटिआर७२ जहाजमार्फत बुद्ध र यती एयरलाइन्सले उडान गरिरहेका छन्। यसले गर्दा सहजै र सस्तोमा हवाई यात्रा गर्न पाएकाले आन्तरिक यात्रु थपिएको उनले बताए। ठूला आकारका जहाजबाट उडान गर्दा यात्रु क्षमता बढाउन पनि एयरलाइन्स कम्पनीले केही सस्तोमा टिकट उपलब्ध गराउने गरेका छन्। बिहानैदेखि बेलुकी अबेरसम्म पनि पोखरा–काठमाडौं रुटमा उडान भइरहेका हुन्छन्। अहिले यती, बुद्ध, सिम्रिक एयरलाइन्सले नियमित रुपमा पोखरा–काठमाडौं रुटमा उडान गर्छन्। यती र बुद्धले पोखराबाट भैरहवा र भरतपुरसम्म दैनिक उडान गरिरहेका छन्। पोखराबाट जोमसोमसम्म समिट र तारा एयरले दैनिक उडान भरिरहेका छन्। पोखरा–काठमाडौं रुटमा मात्र अहिले दैनिक कम्तीमा दुई दर्जन उडान हुन्छन्।

प्रकाशित: २९ पुस २०७६ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App