धरान- विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले शुक्रबार सातौं बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलतर्फ आ–आफ्ना खेल जितेका छन्। धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा समूह 'ख' को पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई ८–० को फराकिलो अन्तरले हराएको हो। एपिएफको जितमा युवराज खड्काले ह्याटि्रकसहित ४ गोल गरे भने रञ्जन विष्ट, श्याम नेपाली र राजेन्द्र रावलले पनि १/१ गोल गरे। एपिएफले १ आत्मघाती गोलको उपहार पाएको थियो। युवराजका चारै गोल दोस्रो हाफमा सम्भव भएको थियो। राष्ट्रिय टोलीका रञ्जन, राजेन्द्र र आदित्य चौधरीसहित मैदानमा उत्रिएको एपिएफले मध्यपश्चिमाञ्चललाई पूरै समय नियन्त्रणमा राखेको थियो।
रञ्जनले १० औं मिनेटमा गरेको गोलबाट एपिएफले अग्रता लिएको थियो। नविन लामाले दिएको पास नियन्त्रणमा लिएर रञ्जनले विपक्षी गोलकिपर प्रितम खड्कालाई बिट गर्दै गोल गरेका थिए। मध्यपश्चिमाञ्चलले १२ औं मिनेटमा आत्मघाती गोल खायो। एपिएफका श्याम नेपालीको क्रस क्लियर गर्न खोज्दा कप्तान चेतन थारुले आफ्नै पोस्टमा गोल गरेका थिए। त्यसको २ मिनेट नबित्दै श्यामले तेस्रो गोल थपे। इन्जुरी समयमा नविन लामाको पासमा राजेन्द्र रावलले गोल गर्दै पहिलो हाफमा एपिएफलाई ४–० को अग्रता दिलाए।
दोस्रो हाफका चारै गोल एपिएफका युवराज खड्काले आफ्ना नाममा लेखाए। युवराजले ५३ औं मिनेटमा मध्यपश्चिमका डिफेन्स अमर घलेबाट बल खोसेर गोल गरेका थिए। ७९ औं मिनेटमा श्यामको क्रसमा युवराजले हेड गर्दै व्यक्तिगत दोस्रो गोल गरे। श्यामकै पासमा उनले ८९ औं मिनेटमा ह्याटि्रक पूरा गरे। इन्जुरी समयमा रञ्जनको पासमा युवराजले व्यक्तिगत चौथो एवं टिमका लागि ८ आंै गोल गरेका थिए।
समूह 'ख' को दोस्रो खेलमा त्रिभुवन आर्मीले सुदुरपश्चिमाञ्चललाई १–० ले पराजित गर्यो। प्रतिस्पर्धात्मक खेलमा सुमन अर्यालले छैटौं मिनेटमा गरेको गोल आर्मीको जितमा निर्णायक बनेको थियो। सन्तोष तामाङको कर्नर प्रहारमा सुमनले हेड गर्दै बललाई पोस्टको दिशा दिएका थिए। राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवासको कप्तानीमा उत्रिएको आर्मीबाट नवयुग श्रेष्ठ र गोलकिपर विकेस कुथु पनि खेलिरहेका छन्। सुदूरपश्चिमाञ्चलले आर्मीलाई कडा चुनौती दिएको थियो। सुदुरपश्चिमाञ्चलले गोलका धेरै अवसर खेर फाल्दा आर्मीलाई नतिजा सुम्पनु परेको थियो।
१३ औं मिनेटमा मनिराम थारुको प्रहार आर्मीका गोलकिपर विकेशले बचाएका थिए। मनिरामले नै ३८ औं मिनेटमा गरेको कडा प्रहार विकेशले पञ्च गरेर गोल हुन दिएनन्। पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेका मनिरामले इन्जुरी समयमा गरेको प्रहार आर्मीका विमल पाण्डेले क्लियर गरे। ५६ औं मिनेटमा जीवन चौधरीको प्रहार पोस्ट नजिकबाट बाहिरियो। ६४ औं मिनेटमा माधव भण्डारी वान भर्सेस वानको स्थितिमा गोल गर्न चुके। यस्तै, ३५ औं मिनेटमा रामसिंह रानाको हेडिङ गोलकिपरले पञ्च गरेर असफल बनाइदिए।
जितसँगै एपिएफ र आर्मीको समान ३/३ अंक भएको छ। शनिबार पहिलो खेलमा समूह 'क' का नेपाल पुलिस क्लब र पश्चिमाञ्चलले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रोमा मध्यमाञ्चल र पूर्वाञ्चलबीच खेल हुनेछ।
प्रकाशित: ९ पुस २०७३ ०३:१९ शनिबार