७ वैशाख २०८१ शुक्रबार
अर्थ

वीरगन्ज - पथलैया ६ लेन सडक असारभित्र

निर्माणाधीन ६ लेन सडकको पथलैया–परवानीपुर सडकखण्ड।


वीरगन्ज - मुलुकको प्रमुख व्यापारिक मार्ग वीरगन्ज–पथलैया सडक ६ ‘लेन’ निर्माण सम्पन्न गर्न सुरुमा तोकिएको अन्तिम म्याद सकिएको डेढ बर्ष बितिसक्दा पनि सडक निर्माण पूरा हुन सेकको छैन। देशको सबैभन्दा बढी व्यापारिक कार्गो ढुवानी तथा यातायात आवागमन हुने यस सडकको निर्माण सुस्त हुँदा उद्योगी व्यवसायी, यातायातकर्मीदेखि सर्वसधारणसम्म प्रभावित छन्। योजनाको पथलैयास्थित कार्यालयले भने आउदो असार मसान्तभित्र काम पूरा हुने जनाएको छ।

२०७३ असार ३० गते सम्झौता भएर साउनदेखि ६ वटा खण्डमा यस सडकको निर्माण थालिएको थियो। जस अनुसार ६ लेन सडक तयार भएपछि मध्य भागमा हरियालीसहितको ‘डिभाइडर’को दुवैतर्फ तीन–तीन ‘लेन’ बाटो हुनेछ। ‘लेन’हरु तीन–तीन मिटरको हुनेछ। मुल सडकको संरचनाबाहेक दुवैतर्फ पाँच–पाँच मिटरको सर्बिलेन्स ‘लेन’ पनि बनाइँदैछ। सबै ६ ‘लेन’ गरेर ५० मिटर चौडा यो सडक बनेपछि वीरगन्ज क्षेत्रको मुहार मात्र फेरिने छैन नेपालको अर्थतन्त्रमा पनि यसले टेवा पु-याउने उद्योगी व्यवसायी बताउँछन्।

‘यो भनेको यस क्षेत्रका लागि मात्र होइन समग्र नेपालकै लागि एउटा महत्वपूर्ण योजना हो,’ वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले भने, ‘यसको निर्माण चाँडोभन्दा चाँडो सम्पन्न होस् भनी सबैको चाहना छ।’ ठेक्का हुँदा दुई वर्षको निर्माण अवधि तोकिएको थियो। अहिले साढे तीन वर्ष बितेको छ। व्यापारिक मार्ग विस्तार आयोजनाको पथलैयास्थित कार्यालयका इन्जिनियर अशोक यादवका अनुसार अहिले करिब ६० प्रतिशत मात्र भौतिक प्रगती छ।

विभिन्न बाधाले गर्दा योजना निर्माणमा ढिलाइ भएको बताइएको छ। कम्पनीहरु र व्यापारिक मार्ग विस्तार आयोजनाबीच ६ लेन निर्माण सम्झौताका दौरान तोकिएको समयसीमा १८ महिना नाघेको छ। यसबीचमा पटक पटक म्याद थप गरिएको देखिन्छ। विभिन्न समस्याले गर्दा समयावधि पछाडि धकेलिँदै गएको योजना कार्यालयले जनाएको छ। ६ लेन सडक वीरगन्जको आइसिपी (इन्टरग्रेटेड चेक पोस्ट)देखि पथलैयासम्म करिब २८ किलोमिटरको हुनेछ। यस सडकले आइसिपीबाट सञ्चालित देशको प्रमुख नाका वीरगन्ज भन्सार, रेलमार्फत भारतीय बन्दरगाहसँग जोडिएको मुलुकको एकमात्र सुक्खा बन्दरगाह, पर्सा–बारा औद्योगिक करिडोर र आर्थिक नगरी वीरगन्जलाई देशको अन्य भागसँग सहज सम्पर्क गराउने छ।

समग्र योजनाअन्तर्गत तीन किसिमका कामहरु हुँदैछन्। एक, पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि दक्षिण आउने त्रिभुवन राजपथमा पर्साको लिपनी बिर्ताको परवानीपुरसम्म जोड्ने र त्यहाँदेखि नयाँ बाइपास हुँदै अलौंस्थित सिमानामा बनेको ‘आइसिपी’मा आएर ६ लेन सडक जोडिँदैछ। दोस्रो, पारवानीपुरयता गण्डकसम्म त्रिभुवन राजपथको खण्डमा चार ‘लेन’को सडक बन्दैछ। र, तेस्रो यिनमा पर्ने पुलहरुको निर्माण। पथलैया आइसिपी ६ लेन सडकमा रहेका बाधाहरु फुकाउने काम भइसकेकाले अब द्रुत गतिमा काम अगाडि बढेको इन्जिनियर यादवले बताए। आउदो असार मसान्तभित्र त्यसको काम सम्पन्न भइसक्ने उनले दाबी गरे।

६ लेन योजनाकै सहायक योजना रहेको चार लेनमा करिब ३५ प्रतिशत भौतिक प्रगति छ। सबभन्दा पछि काम थालिएको पुलहरुमा करिब ४० प्रतिशत भौतिक प्रगति भएर काम सन्तोषजनक देखिएको इन्जिनियर यादवले बताए। ६ लेन सडकको कुनै पनि खण्डमा अब भौतिक संरचना वा रुख हटाउन बाकी नरहेको भन्दै उनले खुसियाली ब्यक्त गरे। यस अन्तरगत पथलैया र सिमराबिचमा पर्सा बन्यजन्तु आरक्षको केही भाग परेकोले त्यहाँ रहेका रुखहरु हटाउन आरक्षदेखि मन्त्रालयसम्म समन्वय गरेपछि ठाउँ खाली हुन पाएको छ। त्यसतै बिद्युत प्राधिकरणको बिद्युतका खम्बाहरु हटाउनमा कठिनाई थियो। सडकमा परेको नीजि घर टहरा हटाउने चुनौति पुर्ण कार्य पनि सकिएको इन्जिनियर यादवले बताए।

देशको सबभन्दा बढी व्यापारिक पारवहन र यातायात चल्ने यो सडक निर्माण चाँडो सम्पन्न होस् भन्ने अपेक्षा गरिएका बेला ढिलाइ हुन गएको हो। ‘विभिन्न चुनौतीले गर्दा तोकिएको समयावधि केही पछाडि धकेलिएको हो,’ योजना कार्यालयका इन्जिनियर यादवले भने, ‘२०७७ असार मसान्तसम्म सबै काम सकिने देखिन्छ।’ यता पारवानी–गण्डक चार ‘लेन’ सडकखण्डमा पनि ठाउँ खाली गराउने काम लगभग सकिएकाले त्यहाँ पनि भौतिक प्रगतिमा अब सुधार हुने उनले विश्वास व्यक्त गरे। यस चार लेन सडकको निर्माण भने २०७४ पुसदेखि सुरु भएको थियो।

प्रकाशित: २९ पुस २०७६ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App