७ वैशाख २०८१ शुक्रबार
खेल

दुई विभागीय टोलीबीच फाइनल

इटहरी- सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफले प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबार पुलिस क्लबले मध्यमाञ्चललाई र एपिएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

सुनसरीको दुहबीस्थित दुहबी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा पुलिस क्लबले मध्यमाञ्चललाई ५–० को फराकिलो अन्तरले पराजित गरेको थियो। खेलको पहिलो १० मिनेट प्रतिस्पर्धात्मक रहे पनि बाँकी समय पुलिस खेलमा पूर्ण रुपमा हाबी भएको थियो। खेलमा निरु थापाले ह्याटि्रक गरिन्। तेस्रो मिनेटमा पहिलो गोल गरेकी निरुले २३ औं मिनेटमा दोस्रो गोल थपिन्। उनले ५१ औं मिनेटमा ह्याटि्रक पूरा गरेकी थिइन्। पुलिस क्लबका लागि ५ र ४३ औं मिनेटमा गोल गरेकी सिर्जना खड्का प्लेयर अफ दि म्याच घोषित भइन्।

शुक्रबारै भएको अर्को खेलमा सशस्त्र प्रहरीको एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–० ले हरायो। दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि एपिएफ आर्मीमाथि हाबी भएको थियो। एपिएफले विपक्षी पोस्टमा धेरै आक्रमण गर्न नसके पनि पाएको अवसर सदुपयोग गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो। तर, आर्मीका खेलाडीले पाएका धेरै अवसर सदुपयोग गर्न सकेनन्।

रेखा पौडेलले १८ औं मिनेटमा एपिएफलाई अग्रता दिएकी थिइन्। त्यसको ९ मिनेट नबित्दै अनिता केसीले अग्रता दोब्बर पारिन्। प्लेयर अफ दि म्याच रञ्जना दर्जीले ५५ औं मिनेटमा अर्को गोल थपिन्।

शनिबार नेपाल पुलिस क्लब र एपिएफले उपाधिका लागि खेल्नेछन् भने त्रिभुवन आर्मी र मध्यमाञ्चलले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

 

प्रकाशित: ९ पुस २०७३ ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App