coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मनहरी देशकै पहिलो बालमैत्री गाउँपालिका घोषित

मकवानपुर - जिल्लाको मनहरि गाउँपालिका देशकै पहिलो बालमैत्री गाउँपालिका घोषित भएको छ। मनहरीलाई बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्ने गाउँपालिकाको रूपमा घोषणा गरिएको हो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार मनहरमा आयोजित कार्यक्रममा घोषणा पत्र पढेर चार सय ६० गाउँपालिकामध्ये मनहरीलाई बालमैत्री गाउँपालिका घोषणा गरेका हुन्। घोषणाबाट मनहरीको गाउँबस्तीको मुहार फेरिने भन्दै उनले देशभरका सात सय ५२ वटा स्थानीय तहले शिक्षा र प्रेरणा लिनुपर्नेमा जोड दिए।

‘गाउँपालिकाले बालमैत्री घोषणा गरेपछि सकारात्मक कुरालाई निरन्तरता दिनुपर्छ,’ उनले भने, ‘घोषणा घोषणामै सीमित नहोस्, घोषणालाई गाउँपालिकाभरी अनुसरण गर्नुपर्छ।’ घोषणा कार्यान्वयन गर्न नीतिगत, योजना र कार्यक्रमका समस्या आएमा संघीय सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बालमैत्री घोषणालाई प्रभावकारी कार्यान्वयन गर्दै सबै बालबालिकाको हितमा काम गर्नुपर्नेमा जोड दिए। ‘हरेक कुरा बालमैत्री हुनुपर्छ, घरमा खानेपानीको धारादेखि सबै विकास, निर्माण बालबालिकालाई सजिलो र उपयुक्त हुनेगरी गरिनुपर्छ।’

वि.सं. २०८० सम्म बाग्मती प्रदेशलाई नै बालमैत्री बनाउने योजना रहेको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बालमैत्री घोषणा र कार्यान्वयनका लागि स्थानीय तहलाई बजेट विनियोजन गरेको बताए। कार्यक्रममा प्रतिनिधिसभाको अर्थ समितिका सभापति कृष्ण दाहाल, प्रतिनिधिसभा सांसद् विरोध खतिवडा, राष्ट्रियसभाका सांसद् रामचन्द्र राई, प्रदेश सांसद् एवं नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल लगायतको आतिथ्यता रहेको थियो।

यसरी बनाइयो बालमैत्री गाउँपालिका

बालमैत्री अभियान सञ्चालन गरेको डेढ वर्षपछि सार्थकता पाएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए। उनका अनुसार बालमैत्री घोषणाका लागि आधारभूतरूपमा बालश्रम र बाल विवाहमुक्त क्षेत्र बनाइएको छ। ‘बालविवाह रोक्ने, बालश्रम न्यूनीकरण गर्ने कामलाई निरन्तरता दिएको छ,’ उनले भने, ‘बालमैत्री घोषणाका लागि गाउँपालिकाले योजना तर्जुमा गर्ने, तालिम, गोष्ठी, अन्तरक्रिया सञ्चालन गरिएको छ।’

भौतिक पूर्वाधारहरूको निर्माण र पुनर्निर्माण बालमैत्री ढंगले गरिएको अध्यक्ष उप्रेतीले बताए। ३२ वटा सामुदायिक विद्यालय र आठ वटा निजी विद्यालयलाई नै बालमैत्री सूचक चुस्तदुरुस्त राखिएको छ। बालमैत्री घोषणाका लागि बाल अधिकार समिति, गाउँ बाल सञ्जाल, बालमैत्री स्वयम्सेवक, बालमैत्री शासन समितिलाई सक्रिय बनाइएको गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले बताइन्। ३९ वटै सूचकमध्ये बालविवाह र बालश्रम न्यूनीकरणका लागि निकै संघर्ष गर्नुपरेको बताउँदै उनले ११ जोडीको बालविवाह बदर गरिएको बताइन्।

निकृष्ट बालश्रममा आश्रित बालबालिकालाई पुनः विद्यालय भर्ना गराएको गाउँपालिकाले जनाएको छ। आर्थिक वर्ष २०७५÷७६ मा नौ सय पाँच जना गर्भवती रहेको मनहरीमा आठ सय ५८ जनाले चार पटक गर्भ जाँच गराएको तथ्यांक छ। जसमध्ये दक्ष जनशक्तिबाट सुत्केरी गराउनेको संख्या आठ सय १५ जना रहेको थियो। आठ हजार छ सय ५५ घरधुरी रहेको मनहरी गाउँपालिकामा ४६ हजार आठ सय ५३ जनसंख्या छ। तीमध्ये आठ हजार एक सय १६ जना बालक र सात हजार छ सय २३ जना बालिका छन्।

प्रकाशित: २९ पुस २०७६ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App